अनामनगरमा “सुपारी” माग्दै कृष्ण

काठमाडौं, २७ कात्तिक । आइतबार बिहानको अफिस टाइम । नायक कृष्ण भट्ट अनामनगरस्थित एक घरमा पसे । भर्‍याङ बजाउँदै दोस्रो तलामा पुगे । जहाँ मानिसहरूको बाक्लो उपस्थिति थियो, त्यहीँ थिए बालकृष्ण प्रसाईं । कृष्ण सरासर बालकृष्णका अगाडि पुगेर टक्क अडिए । अनि भने, ‘कसलाई सिध्याउनुपर्‍यो ?’ कसैलाई मार्न ‘सुपारी’ मागिरहेका कृष्णको अनुहार निकै आक्रोशित देखिन्छ । फेरि सोधे, ‘को हुन् तिनीहरू, जसलाई मैले ठेगान लगाउनुपर्छ ।’ बालकृष्ण उनलाई नाम बताउन लाग्दै थिए, कतैबाट ‘कट’ भनेको आवाज आयो ।

कृष्ण एकाएक शान्त भए । कृष्ण र बालकृष्णको क्रियाकलाप हेरिरहेका मानिस अब अर्कैतिर मोडिए । देखियो नजिकै क्यामेरा पनि रहेछ । अनि बुझियो– चलचित्र ‘वार’का लागि यो दृश्य सुटिङ भइरहेको रहेछ ।
आइतबार अनामनगरस्थित नूतन स्टुडियोभित्रको क्रियाकलाप हो यो । कृष्ण भट्ट र बालकृष्ण प्रसाईं सट दिइरहेका थिए । कथाअनुसार यसअघिको प्रसंगमा कृष्णलाई केही केटाहरूले नराम्ररी पिटेका हुन्छन् । उनको होस हराएको हुन्छ । उनी ती केटालाई फेरि तह लगाउन चाहन्छन् तर जति गरे पनि तिनीहरूलाई सम्झन सक्दैनन् । बालकृष्णलाई तिनीहरूको नाम थाहा हुन्छ । ‘आज त्यही सिनको छायांकन गरिएको हो,’ निर्देशक मुकुन्द भट्टले प्रस्टयाए– ‘चलचित्रमा सस्पेन्स र एक्सनलाई मुख्य मसलाका रूपमा प्रस्तुत गरिएको छ, ड्रग्सको कुलतमा फसेर बिग्रिएका युवाको कथा छ ।’
‘गुन्डाहरूले मैले अभिनय गरेको पात्रलाई कुटेपछि मर्‍यो भनेर फालेका हुन्छन् । त्यो पात्र ब्युँतिन्छ तर होस सबै हराउँछ । बालकृष्णले अभिनय गर्ने पात्रले होस हराएको पात्रलाई आफू अनुकूल प्रयोग गरेर फाइदा लिन्छ । आफ्नो स्वार्थका लागि मलाई गलत केटाहरूको नाम दिन्छ, त्यही दृश्यमा अभिनय गरेको छु,’ नायक कृष्णले भने । चलचित्रमा होस गुमाएको र सामान्य अवस्थाको गरी दुई किसिमको क्यारेक्टर आफूले निर्वाह गरेको कृष्णले बताए ।
बालकृष्णले यसमा खलपात्रको भूमिका गरेका छन् । ‘मेरो सुरुमा पोजेटिभ र पछि नेगेटिभ भूमिका छ,’ उनले भने । यसमा आफूले जस्तो खलपात्रको भूमिका यसअघिका कुनै चलचित्रमा कसैले नगरेकाले दमदार हुने उनले दाबी गरे ।
भट्ट गु्रप फिल्म मेकरको ब्यानरमा निर्माण भएको ‘वार’मा नीता ढुंगाना, एलसी सिवाकोटी, अप्सरा घिमिरे, हेपी अर्याल, एलिजा खड्का, रेनुका सिंह पनि मुख्य भूमिका छन् । गत भदौ २४ गतेदेखि निर्माण सुरु गरिएको चलचित्रमा नायिकाको ९० प्रतिशत काम सकिइसके पनि सुष्मा कार्कीका कारण छायांकन लम्बिएको निर्माता सुबोध भट्टले बताए । ‘सुष्माले दु:ख दिएकाले उनलाई निकालेर फेरि अर्की नायिका राखेर सुटिङ गर्नुपर्‍यो, त्यसैले छायांकन लम्बियो,’ उनले सुनाए । ड्रगसेवनले निम्त्याउने विपत्ति, मायाप्रेम, जिन्दगी र भाग्यसँग मानिसले गर्नुपर्ने संघर्षलाई विषयवस्तु बनाइएको चलचित्र ‘वार’को लेखन कार्यकारी निर्माता किशोर भट्टले गरेका हुन् । आगामी माघमा रिलिज गर्ने लक्ष्य राखिएको चलचित्रमा बब्बु थापाको नृत्यनिर्देशन तथा मानव सुवेदीको संगीत छ ।

प्रतिक्रिया