लन्डन : आगामी डिसेम्बर २३ देखि ३० सम्म लन्डनमा ‘अन्तर्राष्ट्रिय नेपाल फेसन विक ०१२’ आयोजना गरिने भएको छ । लन्डनका आधा दर्जन सहरमा चल्ने उक्त कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको नेपाल फेसन हाउस लन्डनले जानकारी गराएको छ । नेपाली परम्परालाई विश्वमाझ चिनाउनुका साथै नेपाली डिजाइनरले बनाएका आकर्षक पोसाक लन्डनमा बिक्री गराएर उनीहरूका क्रिएसनलाई व्यावसायिक रूपमा विश्वमाझ फैल्याउन सहयोग गर्ने उद्देश्य रहेको आयोजक लन्डन फेसन हाउस र इभेन्ट म्यानेजमेन्ट कम्पनी गिग एक्ट्राले बताए ।
फेसन सोबाट उठेको रकममध्ये केही म्युजिक फर चिल्ड्रेन नामक संस्थालाई जाने बताइन्छ । आयोजकले महोत्सवमा नेपाली ढाकाको पोसाकलाई अनिवार्य गरेका छन् । नेपाली डिजाइनरले बनाएको पोसाक बिक्रीको व्यवस्था पनि गरिएको छ । महोत्सवमा नेपाली डिजाइनर शुभेच्छा भँडेल, विश्व गौतम, सुचित्रा शाक्य, पुनम राई, रोजी श्रेष्ठ, युवी थापा, खुस्बु डंगोल, विवेक उपाध्यायलगायतले तयार पारेका झन्डै एक दर्जन पोसाक पहिरिएर नेपाली तथा बेलायती मोडल र्याम्पमा उत्रनेछन् । (सौस)
प्रतिक्रिया