श्रीलंकाको जेलमा हिंसा, २७ को मृत्यु

कोलम्बो : श्रीलंकाली राजधानी कोलम्बोस्थित वेलिकाडा जेलमा रहेका बन्दी र सुरक्षाकर्मी शनिबार भएको हिंसात्मक भिडन्तमा ११ बन्दीसहित कम्तीमा २७ जनाको मृत्यु भएको छ । हिंसा सुरक्षाकर्मीले जेलको तलासी लिने प्रयास गर्दा भड्किएको थियो । जेलमा अबेरसम्म गोलाबारी भइरहेको जनाइएको छ भने वरिपरिको सडक यातायात बन्द गरिनुका साथै घटनापछि जेलमा सेना तैनाथ गरिएको छ ।
समाचार एजेन्सी एपीले जनाएअनुसार केही बन्दी जेलबाट भागिरहेको अवस्थामा मारिएका थिए भने एकजनालाई अटोरिक्सामा भाग्ने प्रयास गर्दागर्दै सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए । घटनामा एकजना वरिष्ठ प्रहरी अधिकृतसमेत ३२ जना घाइते भएका छन् ।
उक्त जेलमा चार हजार बन्दी छन् जो यसअघि पनि त्यहाँ हिंसाको प्रत्यक्षदर्शी भइसकेका छन् । पछिल्लोपटक जनवरीमा सोही जेलमा भएको हिंसात्मक झडपमा २५ जना थुनुवा र चार सुरक्षा गार्ड घाइते भएका थिए । त्यसअघि सन् २०१० मा यही जेलमा थुनुवाहरूसित रहेको मोबाइल फोन जफत गर्ने प्रयासमा भएको प्रहरी छापाका क्रममा हिंसा भड्किँदा ५० भन्दा धेरै जेल–सुरक्षाकर्मी र प्रहरी घाइते भएका थिए । (एजेन्सी)

प्रतिक्रिया