के आँसुको पनि रंग हुन्छ ? हुन्छ । ठानिन्छ मानिस दु:खमा रुन्छ र तेजाबी आँसुले मन डढाइदिन्छ । तर होइन, मानिस सुखमा पनि रोइदिन्छ तर, त्यसबेला बगेका आँसुु हर्षका आँसु हुन्छन् । कामले मानिसले आँसुुमा पनि रंग भरिदिन सक्छ र सक्दोरहेछ । हमेसा दु:खमा रुने मानिस सबैले देखेका छन् र उनीहरूका आँसुुका पीडालाई एकैछिन् अनुभूति गर्ने काम संसारैले गरेको छ । तर, तेजाबजस्ता पीडक आँसुुलाई हर्षका आँसुमा बदलिदिने र मानिसको जिन्दगीलाई एक उज्यालो संसारमा रूपान्तरण गरिदिने मानिस कमै हुन्छन् जसले मृत्यु हुन लागिसकेका देशका सपना, भरोसा र आशालाई आफ्नै कृत्यले बचाएको छ र उज्यालोको किरण देखाएका छन् । त्यस्ता कम मानिसमध्येका एक हुन्–डा. सन्दुक रुइत, जसले हजारौँका आँखाको ज्योति फर्काइदिएका छन् । उनीहरूका भर्खरै खुलेका आँखाबाट झरेका हर्षका आँसुु हेरेर आनन्दित हुँदै आएका छन् । दुरावस्थाले देशको कोखै बाँझो भएको ठानिएका बेला हामीसामु यस्ता पनि मानिस छन्, जसले मरुभूमिमा पनि जीवनको सम्भावनालाई जीवित गराउँछन् ।
डाक्टर रुइत यो सारा संसार ‘उज्यालो’ देख्छन् र वर्षौंदेखि धेरैलाई ‘उज्यालो’ देखाउन अहोरात्र खटिइरहेका छन् । उनी यस्ता डाक्टर हुन्, जसको नि:शुल्क सेवाले मोतियाविन्दुले वर्षौंदेखि ढाकेको धेरैका आँखा छ्याङ्ङ उघ्रेको छ । उनको नि:शुल्क सेवाले आँखाका धेरै बिरामी संसार देख्नसक्ने भएका छन् । तीन दशक नाघिसकेछ, रुइतले दुर्गम गाउँहरूमा पुगेर घुम्ती आँखाशिविर सञ्चालन गर्दै आएको ।
डा. रुइतलाई सम्पूर्ण एसियाले त्यो बेलामा चिन्यो, जब उनले सन् २००६ मा एसियाको नोबल पुरस्कार भनेर चिनिने ‘रमन म्यागासेसे’ अवार्ड पाए । यो अवार्ड एसियाका विभिन्न क्षेत्रमा योगदान दिने अनि मन, व्यवहार र कर्मका हिसाबले उम्दा योगदान पुर्याउनेलाई प्रत्येक वर्ष प्रदान गरिन्छ । साह्रै पिछडिएका र दुर्गम गाउँमा पुगेर गरिबभन्दा गरिब मानिसलाई आँखाको ज्योति फर्काउन गरेको नि:शुल्क मेहनेत र एकै दिनमा सयौँ बिरामीको सर्जरी गर्नसक्ने अद्वितीय शैलीका कारण रुइतलाई यो अवार्डबाट सम्मान गरिएको थियो । निराशाको ओरालो यात्राबाट खस्दै गएको देशले कतै आशा जाग्ने ठाउँ फेला पारेको छ भने यस्तै कर्मयोगीहरूको कृत्यबाट मात्र । जहाँ राजनीतिक दर्शनका पट्यारलाग्दा शब्दोच्चारण होइन, कामबाट समाज लाभान्वित भइरहेको छ । यिनै कर्मयोगी नागरिकको प्रतिनिधित्व गर्नेमध्येका एक हुन्– डा. रुइत ।
०००
कहिल्यै डाक्टर नदेखेकाहरू, कोसौँ–कोसको बाटो छिचोलेर, हप्तौँ बास बस्दै धेरै आँखाका बिरामी सन्दुकको घुम्ती शिविरमा आउँछन् । मोतियाविन्दुले वर्षौंदेखिको बन्द आँखा छ्याङ्ङ हुँदा उनीहरूमा खुसीको सीमा हुँदैन । उनीहरू डाक्टरलाई अँगालो मार्छन् र रुन्छन् । ठानिन्छ मानिस दु:खमा रुन्छ तर, होइन मानिस खुसीमा पनि रुन्छन् र त्यो आनन्ददायक रुवाइको एक सुखसर्जक हुन् रुइत ।
डाक्टर’साबसँग दु:खी/गरिबलाई उपचार गरेका कयौँ सम्झनाहरू छन्, जो दिमागमा पत्रे–चट्टान भएर सुरक्षित बसिरहेछन् । उनी २६ वर्षअघिका दिनमा फर्किए । संखुवासभाको खाँदाबारीमा डा. रुइतको समूह आँखाशिविर सञ्चालन गरिरहेको थियो । शिविरमा २५ वर्षीया कान्छी शेर्पा आइन्, ५ वर्षदेखि उनका दुवै आँखा बन्द थिए । उनी पाँच दिन हिँडेर खाँदबारी झरेकी रहिछन् । उनको हालत देखेर रुइत एकछिन् भावुक बने, किनभने कान्छीका खुट्टा चरचरी फुटेका थिए र कुर्कुच्चाबाट रगत चुहिइरहेका थिए । ‘आँखामा ज्योति छैन, बाटोमा धेरै दिन लड्दै लड्दै हिँडेर आएकाले होला,’ उनले भने । कान्छीका श्रीमान् पनि सँगै थिए, सानो छोरो काखमा च्यापेर उभिइरहेका । मोतियाविन्दुले आँखाका दुवै ज्योति गुमाएपछि कान्छीले जन्माएको छोरो थियो त्यो ।
कान्छीको आँखाको शल्यक्रिया भयो । भोलिपल्ट आँखाको पट्टी खोलियो । ‘केही देख्नुहुन्छ ?’ डाक्टरले सोधे । उनले मुन्टो हल्लाइन् । उनले देखिन्, सानो छोरो बाबुको काखमा लुटुपुटु गर्दै थियो । छोराको चहकिलो अनुहार उनले पहिलोपल्ट देखेकी थिइन्, जो पहिले छोरालाई स्पर्श मात्रै गर्थिन् र अहिले उनी छोरा देख्न सक्ने भइन् † त्यसबेला छोरालाई काखमा च्यापेर उनी खुब रोइन् । ‘यो घटना म कहिल्यै बिर्सन सक्दिनँ’, उनले भने । वात्सल्यतृप्तिमा काखमा बालक पनि मुस्कुरायो र त्यो मुस्कान हेर्न पाएर एउटी आमा तृप्त भएको हेरे सन्दुकले पनि ।
चीनको पश्चिमी भाग सेनिङमा मुसलमान बस्ती छ । त्यहाँ डा. रुइतको टोलीले आँखा शिविर सञ्चालन गर्यो । २० वर्षदेखि आँखा नदेख्ने एक वृद्धा आइन् शिविरमा । उनी टाउको उठाउँदिनथिन्, घोप्टिएर बस्थिन्, र्याल चुहाइरहन्थिन् । अनुहारमा कुनै भाव थिएन । पहेँलिएकी थिइन् । ती वृद्धालाई उनको श्रीमान्ले शिविरमा ल्याएका थिए । रुइतले मोतियाविन्दुको शल्यक्रिया गरेपछि घोप्टिएर बसेकी उनी बिस्तारै उठिन्, उनको अनुहारमा एकखालको चरम सन्तुष्टिको भाव देखियो । उनका अनुहारका चाउरीहरू बिस्तारै खुल्न थाले, उनी मुसुक्क हाँसिन् र आँखाबाट आँसु झारिन् । आँसुुमा पीडाको तेजाब मात्र कहाँ † स्नेहको मलिलो जलसिञ्चन पनि हुँदोरहेछ । सन्दुकले बुझे, आँसुुका पनि रंग हुँदा रहेछन्, हर्षका रंगीन आँसुु जसलाई उनले नजिकबाट हेरेका छन्, आनन्दित भएका छन् ।
रुइतको टोलीले दुर्गम गाउँहरूमा एक वर्षमा दर्जनभन्दा बढी नि:शुल्क शिविर सञ्चालन गर्छ र एउटा शिविरमा एकैदिनमा उनी ९० जनाभन्दा बढी बिरामीको सर्जरी गर्न भ्याउँछन् । एउटै शिविरमा दैनिक सयौँ बिरामीको लगातार उपचार गर्ने रुइतको शैलीको बारम्बार विरोध भएको थियो । एकपटक यही शैलीलाई लिएर अन्तर्राष्ट्रिय मेडिकल कम्युनिटीले उनको विरोध गर्यो । ‘अहिले यही शैली नेपाल मात्र होइन, विश्वका अरू विकासोन्मुख देशमा पनि रुचाइन्छ,’ उनी भन्छन् ।
०००
उहिलेका व्यापारी परिवारका सन्तान हुन् डा. सन्दुक रुइत । ५५ वर्षअघि ताप्लेजुङको ओलाङचुङगोलामा ज्यादै सानो वलुङ समुदायमा उनको जन्म भयो । बुबा सोनाम नेपाल–तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्थे । सोनामका ६ मध्ये तीन छोराछोरी कलिलैमा बिते । रुइतकै ठूलो दाजु उनी जन्मनुभन्दा पहिले नै झाडापखालाले बिते । ठूली बहिनी उमेर भएपछि क्षयरोग लागेर र कान्छी बहिनी चाहिँ ज्वरोले थलिएर बितिन् । परिवारका सदस्यहरूको मृत्युले उनलाई निकै भावुक बनाइदिन्थ्यो ।
बहिनीहरूको मृत्युले भित्रैबाट गलेका उनले त्यसै कारण डाक्टर बन्ने निधो गरे । ओलाङबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुगे । र, त्यहाँको मिसनरी स्कुल सेन्ट रोबर्ट्समा भर्ना भए । ‘मेरो गाउँमा संसारमा आएको परिवर्तनको ज्यादै मिहिन अंश पनि आइपुगेको थिएन । पहाडी जिन्दगी भनेको खालि पहाडहरूसँगको लडाईं हो कि जस्तो लाग्थ्यो’, उनले सुनाए, ‘र, म उत्सुक थिएँ यो संसार कति विकसित होला भन्ने बुझ्न । सुखी र सुशिक्षित जिन्दगीको खोजीमा किशोर बेलाको कुनै एक दिन चटक्क गाउँ छोडेर हिँड्दा म डाक्टर बन्छु भन्ने अठोटचाहिँ मनमा जमेर बसेको थियो ।’
सन् १९६२ मा चीन–भारतबीच सीमा युद्ध भयो र ती युद्धसँगै त्यहाँका स्कुल बन्द भए । उनी काठमाडौं आए र एसएलसी पास गरेपछि त्रिचन्द्रमा आइएस्सी पढे । एमबिबिएस पढ्न भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेज पुगे । एमबिबिएसपछि उनी नेपाल आए र वीर अस्पतालमा ‘जनरल फिजिसियन’का रूपमा तीन वर्ष बिताए । फेरि भारत गए र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाले । तीन वर्ष एम्समा पढेपछि १९८४ मा उनी नेपाल फर्किए र त्रिपुरेश्वर आँखा अस्पतालमा जागिरे भए । त्यहाँ उनले आठ वर्ष काम गरे ।
०००
१९८७ मा उनी १ वर्षे अध्ययन गर्न अस्ट्रेलिया गए । अस्ट्रेलिया बसेकै बेला रुइतलाई अमेरिका–युरोप–अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आए । उनले ती प्रस्तावलाई हेरेनन् बरु नेपालमै केही गर्ने स्वप्निल सपना सजाए । उनी चाहन्थे, नेपालमा आँखाको सुपथ र सर्वसुलभ उपचार गराउन पाए हुन्थ्यो । ‘म सधैँ सोच्थेँ–गरिबहरूलाई गुणस्तरीय र नि:शुल्क सेवा कसरी दिन सकिन्छ ? यसबेला अस्ट्रेलियामा मलाई साथ दिए आँखाका सर्जन डा. फ्रेड हलोजले । हामीबीच हाम्रा सपना, चाहना र गरिबबारे घन्टौँ कुरा हुन्थ्यो ।’
सन्दुकले एउटा आँखा अस्पतालको सपना देखेका थिए । डा. हलोजको अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी, उद्योगपतिहरूका साथले तिलगंगा आँखा केन्द्रको जन्म भयो ।
०००
आँखा बैंक सञ्चालन गर्नु निश्चय नै कठिन काम हो । झन् नेपालजस्तो हिन्दु राष्ट्र (जहाँ जलाउन घाटसम्म लगिएको लासबाट आँखा झिक्नुपर्छ) मा त यो सुरुमा सोच्नै पनि कठिन थियो । तर, डा. रुइतले नेपालमै पहिलोपटक आँखा बैंक सञ्चालन गरे तिलगंगा अस्पतालमा । आफन्तहरू लासका आँखा झिक्न हत्तपत्त राजी हुँदैनन् । रुइत आफ्ना सहयोगीसँगै पुजारीहरू र धर्मशास्त्रीहरूकहाँ पुगे र आग्रह गरे– ‘एकजनाको आँखा दानले दुईजनालाई जीवन दिन्छ ।’ यसपछि मृतकका आफन्तहरू आँखा दिन राजी भए । अहिले आँखादान गर्नेहरू निकै बढेका छन् र वार्षिक तीन सयभन्दा बढी आँखा संकलन हुन्छ, आँखा बैंकमा ।
अँध्यारामा रुमल्लिइरहेकालाई दृष्टिको गोरेटो कोरिदिएर डोर्याउने जीवनवादी कर्म गरेका छन् रुइतले । अँध्यारोविरुद्ध जेहाद छेड्ने उनले आँसु र हाँसोको एउटा संगमस्थल खिचेका छन्–हिमालको काखमा ।
प्रतिक्रिया