अन्योलग्रस्त भएँ म ।
त्यतिखेर म त्यो पसलमा एक किलो स्याउ किन्दै थिएँ । खास त्यही पसलमा केही किन्नु मेरो बाध्यता नै थियो । बाध्यता के मानेमा भने, त्यो पसलको साहुजीसँग म नजिकैबाट परिचित थिएँ । त्यति भएन, बिहान बेलुकी त्यही पसलको बाटो भएर हिँड्थे म । र, उसलाई सधैँ देख्ने गर्थेँ । अथवा उसले पनि मलाई देख्ने गथ्र्यो । दुवैले दुवैलाई देखेपछि हामी दुवैका हात अनायास उठ्थे र हामीबीच अभिवादनको साटासाट हुन्थ्यो ।
त्यस दिन, मैले एक किलो स्याउ किन्नु थियो त्यहाँ । किनकि म त्यसबखत शारीरिक रूपमा अस्वस्थ थिएँ । अस्वस्थ भएपछि मात्रै फलफूल खानुपर्ने अथवा स्पष्ट भाषामा भन्ने हो भने अस्वस्थ हुँदा मात्रै फलफूल खान पाइने परम्परागत समाजमा हुर्केको मान्छे म † संयोगवश म बिरामी भएँ र त्यही निहुँमा मैले फलफूल खानुपर्ने भयो, फेरि भनौँ– खान पाउने भएँ ।
एक किलो स्याउ तौल गरिसकेपछि स्याउको झोला लिँदै मूल्य चुक्ता गर्न मैले एउटा सयको नोट साहुजीलाई दिएँ ।
र, जब साहुजीले मलाई फिर्तास्वरूप चानचुने नोट दिए– तब मैले अन्योलग्रस्त बन्नुपर्ने अवस्था त्यहाँ सिर्जना भयो ।
अन्योलग्रस्त यस कारण भएँ कि मैले फिर्ता पाएका सबै नोट भारतीय थिए ।
‘किन साहुजी ? नेपाली नोट छैन तपाईसँग ?’ मैले आश्चर्यभाव व्यक्त गरेँ ।
‘छ, किन नहुनु ?’ उसले सहज स्वरमा भन्यो ।
‘अनि यो आईसी किन त ? मलाई नेपाली पैसा नै दिनुस् †’ ती नोटहरू फिर्ता दिन साहुजीतर्फ हात बढाएँ मैले ।
उसले अचम्मसँग मेरो अनुहार हेर्यो । फेरि मेरो हातमा रहेका नोटहरूलाई हेर्यो र, अलिकति मुस्काउँदै भन्यो– ‘राख्नुस् न यही नै †’
‘तर यो नोट त बजारमा कहाँ चल्छ र ? कानुनी रूपमै पनि बजारमा यसको मान्यता छैन नि † हैन र ?’ मैले नियम कानुनको कुरो गरेँ ।
‘धत् । तपार्इंलाई गाँठी कुरो थाहै रहेनछ ।’ रहस्मय पारामा ऊ बोल्यो ।
‘कस्तो गाँठी कुरो ?’ म उत्सुक भएँ ।
उसले कुरोलाई झन् रहस्यमय बनाउँदै भन्यो– ‘अब त यिनै नोटहरू साँचेर राख्नुमा बुद्धिमानी छ । बुझ्नुभयो ?’
मैले आश्चर्यपूर्वक भनेँ– ‘हैन के भन्नुभएको तपाईंले ? किन साँच्ने यी नोटहरू ?’
एक एक शब्दलाई तौलिँदै उसले भन्यो– ‘हाम्रा नोटको त अब क्रमश: विस्थापित हुने सम्भावना छ ।’
‘किन र ?’
‘किन भन्ने अब ? मुलुक बिस्तारै परिवर्तनको दिशातर्फ गइरहेको तपाईंलाई थाहा छैन ?’ वर्तमान परिवेशसँग उसले आफ्नो कुरोलाई जोड्यो ।
मैले सोधेँ– ‘तर मुलुक परिवर्तन हुँदै जानु र हाम्रो नोट विस्थापित हुनुमा के सम्बन्ध छ ?’
‘किन छैन ?’ उसले अलिक कडा स्वरमा भन्यो– ‘सबैथोक परिवर्तन भएपछि हाम्रो नोट मात्रै पुरानो कहाँ चल्छ ? त्यसमाथि यो नोट … †’
उसले आफ्नो वाक्य पूरा गरेन । तर, पनि त्यो अपूरो वाक्यको अर्थ मैले प्रस्टसँग बुझेँ । उसले पनि सायद बुझ्यो मेरो बुझाइलाई । त्यसैले पुन: बोलिहाल्यो– ‘बुझिहाल्नुभयो नि कुरो । अब त राख्नुस् यी नोटहरू †’
मैले ती नोटहरू फेरि पनि उसैतर्फ बढाउँदै भनेँ– ‘ठिक छ, मैले मानेँ हाम्रा नोटहरूको विस्थापनको सम्भावना तर्कपूर्ण छ तर यो भारतीय नोट …†’
‘भारतीय नोट भएर के भो त ?’ मेरो वाक्यलाई बीचमै काट्दै उसले भन्यो– ‘चलनचल्तीमा आइसकेपछि के फरक पर्छ र ? आखिर छिमेकी मुलुककै मुद्रा हो क्यारे ।’
‘तर आफ्नो मुलुकको मुद्रा विस्थापित भएको अवस्थामा छिमेकी मुलुकको मुद्रा चलनचल्तीमा आउने परिस्थितिलाई सहज रूपमा लिन सकिन्छ ?’ मैले प्रश्न राखेँ ।
उसले मुस्कुराउँदै भन्यो– ‘त्यस्तो परिस्थितिलाई सहज रूपमा लिनु र नलिनुको के अर्थ ? जब कि चलनचल्तीमा ल्याइयो भने …†’
‘के यस्तो हुने सम्भावना छ ?’ गम्भीर बनेँ म ।
कुनै जवाफ आएन उसबाट, केवल शिर हल्लाइरह्यो उसले । …आफ्नो हातमा रहेका भारु नोटहरूलाई मैले खल्तीमा घुसाएँ र, म कोठातर्फ लागेँ ।
कोठाभित्र पसेर स्याउको दाना टोक्दासम्म पनि मलाई आफ्नो मुलुकको राष्ट्रियतामाथि हुनसक्ने सम्भावित मौद्रिक हस्तक्षेपको संकेत पिछा छाडेको थिएन ।
(भौकाजीको व्यंग्यसंग्रह ‘श्रीपेच नलगाएका राजा’बाट)
प्रतिक्रिया