विषय जुधेपछि छायांकनमा हतारो

काठमाडौं, २४ कात्तिक । दसैँ र तिहारको बीचलाई ‘अफ’ समयका रूपमा हेर्छन् चलचित्रकर्मी । दसैँमा गएकाहरू कतिजना फर्किसकेकै हुँदैनन्, फर्किए पनि तिहार नसकिई काम गर्ने मुडमा आउँदैनन् । त्यसैले विगत वर्षको यो अवधिमा चलचित्र छायांकन करिबकरिब ठप्प नै हुन्थ्यो । यसपालि भने राजधानीमै आधादर्जन चलचित्रको छायांकन चलिरहेको छ– डु यु लभ मी, प्रोडुसर, स्टार, कलिउड, भाइरस, बितेका पल । यीमध्ये कोही छायांकनको अन्तिम चरणमा छन् त कोही प्रारम्भिक चरणमा ।

जनकदीप पराजुलीले निर्देशन गरेको चलचित्र प्रोडुसरले दसैँपछिकै अवधिमै छायांकन सिध्याएको छ । ज्योतिकुमार राईद्वारा निर्मित चलचित्रमा बाबु बोगटी, श्याम अर्याल, श्वेता भट्टराई मुख्य कलाकार छन् । नायिका बन्न संघर्ष गरिरहेकी केटीको कथालाई प्रोड्युसरले समातेको छ ।
भिजेका रूपमा चर्चा कमाउँदै आएका नवराज आचार्यले पनि कलिउडको निर्देशन दसैँपछि नै सिध्याएका हुन् । यो चलचित्र प्रियंका कार्कीले निर्माण गरेकी हुन् । महेन्द्र बूढाथोकीको निर्माण तथा निर्देशन रहेको स्टारपछि छायांकनको अन्तिम चरणमा छ । यसमा सुमीना घिमिरे मुख्य भूमिकामा छन् । यीमध्येका तीन चलचित्र लगभग उस्तै विषयमा बनेका छन् । चलचित्र क्षेत्रमा नायिकाका रूपमा स्थापित हुन कुनै पनि केटीले गर्नुपर्ने संघर्षलाई कथा बनाएका छन् । पछिल्लोचोटि प्रदर्शन हुने चलचित्रको कथावस्तु अघिल्लो चलचित्रसँग जुधेझैँ देखिने सम्भावना बढेकाले कसले पहिला छायांकन सकेर प्रदर्शन गरिहाल्ने भन्ने प्रतिस्पर्धा बढेको देखिन्छ । यसैले पनि दसैँ–तिहारको समय नभनी छायांकन गरिहालेका हुन सक्छन् ।
तर, स्टारका निर्देशक बूढाथोकी भने यसलाई नकार्छन् । ‘उस्तै विषय भएकाले चलचित्र सक्न हतार गरेको होइन, यो समय कलाकार फुर्सदमा हुन्छन्, काम लिन सजिलो हुन्छ’, उनले भने, ‘फेरि मेरो चलचित्रको थोरै काम मात्र बाँकी हो, त्यसैले यो बीचमा सकिहालूँ भन्ने लागेको हो ।’ यो सिनेमा नायिकाकै विषयमा भए पनि कथा र प्रस्तुतीकरण अरूको भन्दा भिन्न रहेको उनले दाबी गरे ।
अन्य तीन चलचित्रको विषयवस्तु भने यिनीहरूसँग मिल्दैन । त्यसैले भाइरस र बितेका पलले बिहीबारबाट मात्र छायांकन सुरु गरेका हुन् । निर्देशक रामराजा दाहालले करिब दुई वर्षको अवधिमा चलचित्रमा हात हाल्दा भाइरसको निर्माण पनि आफैँले गर्ने भएका छन् । आफ्नै निर्माणको चलचित्र अझ उत्कृष्ट बनाउनुपर्ने दबाब महसुस भइरहेको उनले सुनाए । २५ दिनमा छायांकन सक्ने लक्ष्यसहित चलचित्र सुरु गरेका उनले अहिले नै छायांकन गर्नुको कारण सुनाए, ‘यो समयमा कलाकार अन्य चलचित्रबाट फुर्सदमा हुन्छन्, उनीहरूको डेट मिलाउन सजिलो हुन्छ ।’ भाइरसमा आदित्य बूढाथोकी, विल्सन बिक्रम राई, मानव सुवेदी, सोना तिमल्सीनालगायत मुख्य भूमिकामा अभिनय गरिरहेछन् ।
बितेको पल निर्माता राजेस घतानीको निर्माणमा सुरु भएको हो । सुरज सुब्बा नाल्बोको निर्देेशन रहने चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, अविनाश गुरुङ मुख्य भूमिकामा छन् । दार्जिलिङमा समेत सुटिङ गरिने बताइएको चलचित्रमा डम्बर नेपाली रोशन लामा, हरि लामाको संगीत छ ।
केही दिनअघिबाट छायांकन प्रारम्भ भएको डु यु लभ मी केही मगरभाषी चलचित्र निर्देशन गरिसकेका सञ्जय काउछा मगरले निर्देशन गरिरहेका छन् । अहिलेसम्म मगरभाषामा मात्रै थिएँ, नेपाली भाषाको चलचित्रमा पनि क्षमता देखाउँm भन्ने लागेको छ,’ उनले सुनाए । सुदीप रानामने निर्माण रहेको चलचित्र राजधानीका अलवा सिन्धुली, काभ्रे र रामेछापमा पनि सुटिङ गरिने निर्माणपक्षले बतायो । नयाँ अनुहार लक्ष्मण लक्स र सपना रोक्कासहित प्रमोद खड्का, कविता आले, पुष्कर गुरुङ र रमेस अधिकारी मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया