बेइजिङ : चिनियाँ राष्ट्रपति हु जिन्ताओले चीनमा बढ्दो भ्रष्टाचारलाई समयमै निर्मूल गर्न सकिएन भने यसले पार्टीलाई नै ध्वस्त पार्नसक्ने चेतावानी दिएका छन् । उनले हाल देशमा दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गएकाले यसको निराकरणका लागि चिनियाँ कम्युनिस्ट पार्टी सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ कंग्रेसको बिहीबार राजधानी बेइजिङमा उद्घाटन गर्दै उनले भ्रष्टाचारको नियन्त्रणमा चासो व्यक्त गरेको बताइएको छ । पार्टीका प्रमुख पदाधिकारी एवं सरकारी अधिकारीहरू उपस्थित भेलामा उनले अहिलेदेखि नै नलाग्ने हो भने भ्रष्टाचार नियन्त्रणको काममा पार्टीलाई झन् गाह्रो पर्ने धारणा पनि राखे ।
एक सातासम्म चल्ने कंग्रेसले पार्टीको आगामी नेतृत्वको पनि चयन गर्नेछ । सोही पार्टी नेतृत्वले नै देशको नयाँ सरकार गठन गर्नेछ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति हुले पहिलोपटक भ्रष्टाचारको मुद्दालाई यसरी जोड दिएको सञ्चारमाध्यमले जनाएका छन् ।
पार्टी नेतृत्वको पुन:गठन हुने भएकाले राष्ट्रपति हु पनि पार्टीको सबैभन्दा शक्तिशाली पद महासचिवबाट बाहिरिँदै छन् । उनको स्थानमा हालका उपराष्ट्रपति सि जिन पिङलाई चयन गरिने सम्भाना छ ।
प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ कंग्रेस बिहीबारदेखि बेइजिङमा सुरु भएको छ । केही समयअघि उनले त्यसको उद्घाटन गरेका थिए । कंग्रेस बेइजिङस्थित ग्रेट हलमा भइरहेको छ । कंग्रेसमा चिनियाँ कम्युनिस्ट पार्टीका करिब दुई हजार दुई सय प्रतिनिधिले भाग लिइरहेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीनको आगामी नेतृत्व चयन गर्ने यो कंग्रेसलाई विश्वका अन्य देशले पनि निकै चासोका साथ हेरिरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया