दाङ : विकट जिल्ला भनेर चिनिने रोल्पा अब छिट्टै सिमेन्टमा आत्मनिर्भर बन्ने भएको छ । यहाँको पहिलो र एकमात्र सिमेन्ट उद्योग रोल्पा सिमेन्ट प्रालिले चाँडै नै आºनो उत्पादन बजारमा ल्याउने भएपछि जिल्ला सिमेन्टमा आत्मनिर्भर बन्ने भएको हो । उद्योगका प्रबन्धक दिनेश डाँगीका अनुसार तीन वर्षअघि स्थापना भएको सो उद्योगले अब तिहारलगत्तै आºनो उत्पादन बजारमा ल्याउने निश्चित भएको छ । सरकारले सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने विद्युत् दिने सहमति जनाए पनि अझै विद्युत् उपलब्ध नहुँदा उद्योगले जेनेरेटरको सहायतामा चर्को मूल्य खर्चेर डिजेलबाट काम गरिरहेको प्रबन्धक डाँगी बताउँछन् ।
रोल्पाको विकट स्थानका रूपमा चिनिने बुढा गाउँको वडा नं ३ मा स्थापना गरिएको सो उद्योगले हाल दैनिक पाँच सय टन क्लिंकर उत्पादन गरिरहेको छ । कुल एक अर्ब १० करोड रुपियाँको लगानीमा सुरु भएको सो उद्योगले दैनिक दुई सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगले अहिले एक सय जनालाई रोजगारी दिएको छ भने उद्योग सञ्चालनमा आएपछि थप एक सय ५० जनाले रोजगारी पाउने उनले बताए ।
दाङको तुलसीपुरबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको रोल्पा सिमेन्ट प्रालि सल्यानको कपुरकोटबाट मात्रै १७ किलोमिटरको दुरीमा छ । त्यसैले पनि दाङ र सल्यानका बजारसम्म पुर्याउन ढुवानी खर्च कम लाग्ने र यस क्षेत्रका उपभोक्ताले सिमेन्ट केही सहुलियतमा पाउने उनको तर्क छ । पहिलो चरणमा राप्तीका पाँच जिल्ला तथा मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चललाई केन्द्रित गरी वितरण गर्ने लक्ष्य राखे पनि यस क्षेत्रका हार्डवेयर पसल र डिलरलाई समेत सिमेन्ट दिने उनले बताए । सिमेन्ट उद्योगले बुढागाउँ गाविसको निगालपानीदेखि बादेलाचौरसम्मको झन्डै आठ किमि र कोइलादेखि लिङनुङसम्मको चार किलोमिटर नयाँ ट्रयाक खोलेर मोटर बाटो पनि मर्मत गरेको छ ।
करिब चार सय रोपनी क्षेत्रफलमा फैलिएको रोल्पा सिमेन्ट प्रालि क्षेत्रमा दुई वर्षसम्म पुग्ने चुन ढुंगा रहेको उद्योगले जनाएको छ । यो उद्योग पहाडको बीच र एकान्तस्थलमा भए पनि यसले वातावरणीय प्रदूषणमा पार्ने असर नियन्त्रणका लागि आवश्यक पर्ने सबै प्रविधि अपनाइने पनि उद्योग सञ्चालक बताउँछन् ।
प्रतिक्रिया