भारतमा पक्राउ नेपालमा रिहा

हामी मस्तले निदाइरहेका थियौँ, मातृका यादव, उपेन्द्र यादव र म । कसैले ढोका ढकढक्यायो । नेपालमा नेकपा (माओवादी) को जनयुद्ध जारी थियो । पार्टीकामकै सिलसिलामा हामी भारतको पितनापुरमा बस्थ्यौँ । २०६० माघ २३ गतेको त्यो रात । आखिर को आएको होला १२ बजे राति † सोच्यौँ– आफ्नै कुनै साथी होलान् । ढोका खोल्यौँ । बाहिर त भारतीय प्रहरी पो रहेछन् । हामीलाई पक्राउ गर्न हतियारसहित एक्सनमा उभिइरहेका । हामी बसेको ठाउँ पत्ता लगाउलान् भन्ने शंका गरेकै थिएनौँ ।

सुरुमा उपेन्द्रलाई समाते । उनीहरूले उपेन्द्रलाई म ठानेका रहेछन् पहिले । पछि त मलाई पनि चिनिहाले । मसँगै मातृकालाई पनि समाते । यहाँ हाम्रो पूर्वयोजना काम लागेन । हामीले सल्लाह गरेका थियौँ– पक्राउ पर्ने अवस्था आइहाले जो भए पनि एक जनालाई चाहिँ उम्काएरै छाड्ने । ताकि पार्टीलाई बेलैमा जानकारी गराउन सकियोस् । अहिले भने हामी सबै पुलिसको जालमा परिसकेका थियौँ ।
प्रहरी खासमा मलाई पक्रने योजनाले गएको रहेछ । त्यही कोठामा मभन्दा ठूला नेता मातृकालाई पनि भेटेपछि उनीहरू झन् दंग परे । सानो माछा समात्न गएका ठूलै माछा हात लागेपछि किन छोड्थे र † मातृका पोलिटब्युरो सदस्य । मचाहिँ वैकल्पिक केन्द्रीय सदस्य । उपेन्द्रलाई पदीय जिम्मेवारी तोकिएको थिएन । त्यसैले होला, उनलाई चाहिँ केही समयमै छाडिदिए ।
यो घटनासँगै थुप्रै अफवाह फैलिए । कसैले भने– उपेन्द्र वा बाबुराम गुटकै मान्छेले पक्राउ गराएका हुन् † तर, यी सबै हल्ला बिल्कुलै गलत थिए । त्यति बेला पार्टीभित्रबाट कसैले षड्यन्त्र गरेकै थिएन । पक्राउ परेर पनि छुटिहालेका आधारमा बढी आरोप र आशंका उपेन्द्रमाथि लगाइयो तर त्यो मिथ्या थियो ।
हामी पक्राउ पर्नुको खास कारण थियो, भूमिगत कार्यकर्ताले खुला संगठनमा काम गर्दा आउने अन्तर्विरोध । मेरो जिम्मेवारी त्यतिबेला विश्व जनप्रतिरोध आन्दोलन दक्षिण एसियाको संयोजकका रूपमा थियो । त्यसअन्तर्गत संगठनका खुला गतिविधि अनि भूमिगत कार्यकर्ता व्यवस्थापनको काम मैले हेर्नुपथ्र्यो । कतिपय ठाउँमा भाषण अनि कार्यपत्र पेस पनि गर्नुपर्ने हुन्थ्यो । त्यसैले मलाई सबैले चिन्थे, वास्तविक परिचय लुकाउन गाह्रो थियो । हामी सुतिरहेको घर पार्टी सेल्टर थियो ।
पक्राउ गरेपछि हामीलाई लोदी प्रहरी थानातिर लिएर हिँडे । गाडीमा हाल्नेबित्तिकै सोधपुछ सुरु गरे । हामीले आफ्नो परिचय ढाँट्यौँ । मैले दार्जिलिङबाट आएको जगत् थापा हुँ भनेँ । पत्याएनन् । तैपनि, खेर्न छाडेनन् । थानामा पुगेपछि मातृका र उपेन्द्रले आफ्नो परिचय दिएछन् । म लुकाइरहेकै थिएँ । भन्न थाले– ‘हामीलाई तेरो बारे सबै थाहा छ तर पनि तेरै मुखबाट सुन्न चाहन्छौँ ।’ मैले भन्दै भनिनँ । पिट्न थाले, म गल्दै गलिनँ । यो यत्तिकै मान्नेवाला रहेनछ भन्दै भुइँमा लडाएर फलामको मोटो रडले मेरो शरीर पेल्न थाले । साह्रै दुख्यो । सहनै नसकिने भएपछि मुखबाट निस्किइहाल्यो– म सुरेश आले हुँ । आफ्नो जिम्मेवारी पनि खोलिदिएँ । उनीहरूले फेरि सोधे– ‘प्रचण्ड–बाबुराम कहाँ बस्छन् ?’ हामीले थाहा छैन भन्यौँ । थाहा थिएन पनि । थाहा भए पनि यो कुराचाहिँ हामी भन्नेवाला थिएनौँ । हाम्रो वास्तविक परिचय पाएपछि उति धेरै सोधपुछ गरिरहेनन् ।
पक्राउ पर्नेबित्तिकै प्रचण्ड–बाबुरामलाई सम्झिएँ । पार्टीले हामी पक्राउ परेको खबर कहिले थाहा पाउने हो, ढिला पो हुने हो कि भन्ने लाग्यो । घरपरिवार सम्झिएँ, श्रीमतीलाई अन्तिमपटक ६ महिनाअघि भेटेको थिएँ ।
थानाबाट बिहानीपख फेरि गाडीमा लिएर हिँडे, मातृका र मलाई । उपेन्द्रलाई चाहिँ त्यहीँ राखेका थिए, केही समयपछि छाडिदिएछन् । हामीलाई गाडीमा कता लाँदै छन्, केही थाहा थिएन । अनुमान गरेँ– भारतकै कुनै जेलमा राख्ने होलान् । मातृका र मलाई अलगअलग गाडीमा राखिएको थियो । हत्कडीमा एकातिर मेरो हात थियो भने अर्कोतिर अरू नै कुनै मान्छेको । बनवासा हुँदै नेपालको सिमानासम्म ल्याइपुर्‍याए । अनि २५ गतेका दिन नेपाल आर्मीको जिम्मा लगाए । नेपाल आर्मीले पाउनासाथ मातृकाको अनुहारमा कपडा बाँधिदिएछन् । मेरो अनुहारचाहिँ छोपेनन् । गाडीमा राखेर महेन्द्रनगरको बजार हुँदै जंगलतिर लगे ।
जंगल देखेपछि सोचेँ– अब पक्कै मार्छन्, मर्ने बेलामा नेकपा (माओवादी) जिन्दावाद भनेर नारा मात्रै भए पनि लगाएरै छाड्छु । मुलुकमा गणतन्त्र आएको आँखाले देख्न नपाइने भइयो । लक्षित उद्देश्य प्राप्त नभईकनै सहिदको सूचीमा नाम दर्ज हुने भयो †
शुक्लाफाँटा आर्मी ब्यारेकमा पुर्‍याए । पछि मेरो आँखा पनि छोपिएको थियो । झल्याकझुलुक बाहिरका अलिअलि दृश्यचाहिँ देखिन्थे । हात पछाडिपट्टि लगेर हतकडीले बाँधिएको थियो । खाने र शौचालय जाने बेलामा मात्रै खोलिदिए । त्यहाँको केही घन्टाको बसाइपछि हेलिकोप्टरमा राखेर नेपालगन्ज लगे । त्यहाँ खाना खुवाए । आँखा बन्द गरिदिएका कारण आफूले खाएको खाना के हो भन्ने जिब्रोले मात्र थाहा पाउँथ्यो । त्यसपछि गाडीबाट काठमाडौं ल्याए । मातृकाजी र म सँगै थियौँ वा अलग, त्यो पनि थाहा थिएन ।
एयरपोर्टबाट हेलिकोप्टरमा राखेर शिवपुरी ब्यारेक पुर्‍याएछन् । ओर्लिएर अगाडि बढ्दा कपडाको छेडबाट मातृकाजी जस्तै लाग्यो । चिच्याएँ– मातृकाजी हो ? कुनै जवाफ आएन । पछि थाहा भयो, उनको मुख जर्नेल दिलीप रायमाझीले थुनिदिएछ । मलाई ‘हानिदिउँm, फेरि बोल्छस्’ भन्यो । फेरि जंगलतिरै लगे । फेरि पनि अबचाहिँ मार्ने भए भन्ने लाग्दै थियो ।
शिवपुरीमा ६ महिनासम्म हामीलाई अलगअलग राखियो । जर्नेल दिलीप त्यहीँ थियो । उसलाई हामी ‘गद्दारको पुत्र’ भन्छौँ । त्यहाँ रहँदा पनि निकै यातना पाइयो । दिलीपले फकाउन खोज्यो– ‘तपाईं बुद्धिजीवी मान्छे, किन यसरी लाग्नुहुन्छ, बरु पार्टी छोडेको वक्तव्य निकाल्नुस्, तपाईंलाई पनि सजिलो हुन्छ ।’ म त सानो मान्छे, मेरो वक्तव्यले के फरक पर्छ र भन्दै टारिदिएँ । ‘मातृकालाई पनि मन्त्री बनाइदिन्छौँ, पार्टी छोड’ भनेर लालच देखाउन खोजेछ । उनीहरूको बोली साह्रै क्षुद्र र अशिष्ट थियो ।
शिवपुरीमा हात अगाडिपट्टि ल्याएर हतकडी लगाइदिन थाले । मातृका र मलाई गरिने व्यवहार र व्यवस्थापनबीच विभेद देखाउन थाले । उनको सुत्ने खाट अलि राम्रो थियो । हतकडी खोलिएको थियो अनि पढ्न–लेख्नका लागि केही धार्मिक किताब र कलमकापी दिएका थिए । मलाई केही थिएन । तर, मैले बुझेको थिएँ, यो पनि एउटा चाल हो । उनीहरू मातृकाजी र मबीच फाटो ल्याउने प्रयास गरिरहेका थिए । शरीरमा लगाएको कपडा सबै च्यातिइसकेको थियो । पक्राउको ६ महिनापछि सेनाकै पुरानो कपडा लाउन दिए । नुहाउन पनि ६ महिनापछि मात्रै पायौँ । ब्यारेकको कोठाभित्र पढ्न केही पाइँदैनथ्यो । यता–उता घुम्यो । भेटिने मन्जन, साबुनको खोलमा देखेका अक्षर पनि छोड्न मन लाग्दैनथ्यो– कोलगेट टुथपेस्ट, पूजा लुगा धुने साबुन… भनेर । बिस्तारै गरी पार्टीको नारा पनि लगाउँथेँ ।
जर्नेल रायमाझीे मसँग मास्क र हतकडी लगाएर मात्रै भेट्थ्यो । मातृकाजीलाई नलगाई भेट्दो रहेछ । उनलाई ‘सर, चिया–कफी खाउँm’ सम्म भनेछ । म जेनेभा सन्धिअनुसार राजबन्दीको व्यवहार गर्न माग गर्थें । ऊ तथानाम गाली गर्न थाल्थ्यो । ‘विदेशी पैसा खाएर जेनेभा सन्धिको फुर्ती गर्ने, लैजा यसलाई’ भन्दै हवल्दारलाई आदेश दिन्थ्यो ।
केही जवान हामीलाई चिढ्याउने प्रयास पनि गर्थे । बडो प्रफुल्लित भएर हाम्रा नेता पक्राउ परेको सन्देश सुनाउँथे । भारतमा किरण कमरेड पक्राउ परेको खबर अनि आक्रमणमा मृत्यु हुनेहरूको विवरण सुनाएर हामीलाई गिज्याएझैँ गर्थे । अनि व्यंग्य गर्थे, ‘अब प्रचण्ड–बाबुरामलाई पनि ल्याउँछौँ अनि यहीँ बस्नुपर्छ केन्द्रीय कमिटीको बैठक पनि †’
ब्यारकेभित्रबाट पनि पार्टीसँग हाम्रो सूचना आदानप्रदान भने हुन्थ्यो । सेनाकै केही व्यक्ति हामीलाई सहयोग गर्थे । हामी हाम्रो अवस्था पार्टीलाई जानकारी गराउँथ्यौँ । पार्टीबाट सन्देश आउँथ्यो– जतिसुकै कठिन भए पनि विचारबाट विचलन नहुनू । बाहिरका गोप्य कुरा भने थाहा हुँदैनथे । सुवेदारसम्मका केही व्यक्तिले लुकीलुकी सहयोग गर्थे । अनुकूल हुँदा मातृका र मेरो भेट गराउँथे । मातृकालाई दिएका सुविधा मलाई पनि ल्याइदिन्थे । कोहीकोही भन्थे, ‘सेनाका धेरै मान्छे तपाईंहरूको पक्षमा छन् तर तपाईंहरू बिदामा घर गएका हाम्रा साथीलाई किन मार्नुहुन्छ ?’
एउटा सैनिक जवानले हामीलाई भगाउने कुरा गरे । मैले मातृकासँग भेट गराउन भनेँ । हामीबीच सल्लाह भयो । उहाँले गाह्रो पर्ने आँकलन गर्नुभयो । परिस्थिति अनुकूल नलागेपछि हामीले आँट गरेनौँ । जवानले भनेका थिए, ‘मेरो डयुटी पर्ने दिन तपाईंहरूलाई भगाइदिन्छु, ब्यारेकबाट निकाल्ने काम मेरो, त्यसपछि मलाई पार्टीसम्म पुर्‍याउने काम तपाईंको ।’ उनी पनि हामीसँगै भाग्न तयार थिए ।
शिवपुरीमा ६ महिना राखेर टोखा ब्यारेक पुर्‍याए । त्यहाँबाट फेरि एक महिनापछि छाउनी लगे । पक्राउ परेको करिब तेह्र महिनापछि श्रीमतीसँग भेट भयो, ब्यारेकमै । फेरि पनि परिवारसँग भेट्न पाइएला र पार्टी काममा लागेर जनताबीच पुगौँला भन्ने आश मैले लगभग मारिसकेको थिएँ । जीवन आफ्नो हातमा थिएन ।
एक्काइस महिनासम्म विभिन्न ब्यारेक डुलाएपछि मलाई अन्त्यमा नख्खु जेल पुर्‍याए । ढुक्क भइयो– अब मार्दैनन्, बाँच्नेचाहिँ भइयो । ब्यारेकबाट जेल पुग्दा लाग्यो– स्वर्ग भनेको यही रहेछ क्यारे † नख्खुमा मातृका र कृष्ण केसी रुमपार्टनर थिए । जेलमै राजनीतिक काम पनि सुरु भयो, जेल कमिटी गठन गर्‍यौँ । छलफल भेटघाट पनि बढ्न थाल्यो ।
जेल अनि ब्यारेकमा बस्दा देश र जनतालाई धेरै सम्झिइयो । यातनाबीच पनि आशाहरू चम्किला भएर आउँथे । सोच्थेँ– मुलुकमा जनवादी गणतन्त्र ल्याएरै छाड्नुपर्छ । हामीले देख्न नपाए पनि त्यो परिवर्तन आएरै छाड्नेछ । यस्ता थुप्रै कुरा मनमा खेलिरहन्थे । अहिले लाग्छ– नेतृत्व गर्ने मान्छे इमानदार नहुँदा उद्देश्य जति ठूलो राखे पनि सफल भइँदो रहेनछ । यो उद्देश्य पूरा नभएको प्रचण्ड र बाबुरामको बेइमानीले हो । उनीहरूमा विचलन आएको छ । उनीहरूले देश, जनता र पार्टीप्रति गरेको गद्दारीकै कारण मुलुकमा जनगणतन्त्र नआएको हो । उनीहरू इमानदार भइदिएका भए यो उपलब्धि हामीले पाइसकेका हुन्थ्यौँ ।
नेकपा (एमाओवादी) लाई अर्को एमाले बनाउन प्रचण्ड लागिपरेका छन् । उनीहरूमा स्वार्थ छ भन्ने पहिले नै थाहा भएको भए यसरी प्रचण्डको आदेशमा मर्न तयार भइँदैनथ्यो । प्रचण्डपथलाई विश्वास गरेर अघि बढ्दा धेरै कुरा गुमाएका छौँ । गिरफ्तारीको २७ महिनापछि मुलुक शान्तिप्रक्रियामा प्रवेश गरेलगत्तै २०६३ वैशाखमा रिहा भएँ । जेलबाहिर श्रीमती मलाई पर्खिरहेकी थिइन् ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया