छेवैमा रहेकी सानी नातिनीलाई गम्लङ्ङ अँगालो हालिन् एक वृद्धाले । उसको गाला सुमसुम्याइन् । नातिनीको अनुहार कस्तो छ, ती वृद्धालाई कुनै छेकछन्द छैन । मात्र हातले छोएर स्पर्शानुभूति गर्न सक्छिन् । नातिनीको मुहार देख्न नपाएकोमा उनलाई केही थकथकी पनि छ । ‘के गर्नु, पुर्पुरोमै यस्तो लेखेर ल्याएपछि के लाग्दो रहेछ र † दैवले नै तैँले यो संसार नदेख्नु भनेर लेखिदिएको रहेछ, भाग्य त भोग्नै परिहाल्यो नि †’, लामो सुस्केरा फाल्दै उनले भनिन् । त्यसो त यस्ता तर्कना घरीघरी खेलिरहन्छन् उनका मनमा ।
बलिमाया अधिकारीले आमाको गर्भबाट पदार्पित हुँदादेखि नै संसार नियाल्न पाइनन् । न त चाहेअनुसार जिउन सकिन् । ५८ वर्षको उमेर भइसक्यो । उज्यालो अनि, रंगहरू ठम्याउनै नसक्ने प्रयोजनहीन आँखाले बाहिरी संसार अँध्यारो मात्रै छ भनेर सिकाएका छन् उनलाई जन्मैदेखि । सायद उनलाई कुनै रंग थाहा छ भने त्यो ‘कालो’ मात्र होला । तर, पनि भित्री दृष्टि कमजोर हुन दिएकी छैनन्, जसले उनलाई आफ्नै परिश्रममा बाँच्न सिकाएको छ । आफ्नै हातखुट्टा चलाएर बाँच्ने संकल्प उनमा छ । एउटा सेतो छडी (ह्वाइट स्टिक) हातमा लिन्छिन् । मैनबत्तीले भरिएको झोलाको फित्ता टाउकाले थेगेको छ । सेतो लट्ठीलाई आँखा बनाउँदै खाल्डाखुल्डी अनि कान्लाहरू छाम्दै अघि बढ्दै छिन् । अनि, भन्दै छिन्, ‘मैनबत्ती आयो मैनबत्ती †’ यही आवाजले उनलाई जीविका धान्ने आधार दिएको छ । ‘नानी, मैनबत्ती बनाउने घर यता होइन ? ए हैन हगि, मैले त बाटो भुलेछु ।’ बेच्नका लागि मैनबत्ती खरिद गर्ने केन्द्रसम्म पुग्नै मुस्किल छ उनलाई । पटकपटक बाटो भुलिरहन्छिन् । जसोतसो आवाजहरूको निर्देशन पछ्याउँदै कमाइको गन्तव्य चहारिरहन्छिन् हरेक दिन । अनि चाहन्छिन्– बाहिरी आवाजहरूले उनको आवाज सुनेर भनून्, ‘आमै † कति रुपियाँ हो मैनबत्तीको, मलाई पनि दिनुस् न †’
मैनबत्ती बेच्नका लागि कहाँसम्म पुग्छिन्, उनी आफैँलाई थाहा हुँदैन । हातको सेतो छडीले बाटो नाप्न त सघाउँछ तर ‘आमै, हामी धेरै टाढा आइपुग्यौँ, अब फर्कौं’ भन्दैन । यसै कारण चितवनका फराकिला सडक पनि सायद साँघुरो महसुस गर्दी हुन् बलिमाया । ‘मैनबत्ती बेच्दै हिँड्दा कहिले रामपुर, कहिले गीतानगरसम्म पुग्दी रै’छु, सोध्दै हिँड्छु अनि थाहा हुन्छ ।’ फर्किंदा पनि सोधेरै घरको बाटो पत्ता लगाउँछिन् । कहिलेकाहीँ त दिनदिनै हिँड्ने घरकै बाटो पनि भेउ पाउन गाह्रो हुन्छ ।
लमजुङको बिचौर गाउँमा जन्मिएकी बलिमायाका भोगाइ सुन्दा लाग्छ, उनी दु:खको महासागर तरिरहेकी छन् । परिवारका ६ जना दाजुभाइ–दिदीबहिनीमध्ये बलिमायासहितका चार दिदीबहिनी र एक भाइ जन्मँदै दृष्टिविहीन भए । पहाडको विकटता, विकासे सुविधाको नामनिसानै थिएन । त्यसमाथि गरिब परिवार । आफूसहित घरकै पाँच जना आँखा नदेख्ने भएपछि काम गर्न सक्दिनँ भनेर सुखै थिएन उनलाई ।
एउटा हातले भारी समाउने, अर्कोले बाटो छाम्ने गरेर घाँसदाउरा गर्थिन् । आफ्नो शारीरिक अपांगताको बोझ कुनै पुरुषलाई पति मानेर नबिसाउने निर्णय थियो उनको तर, अपांगताकै कारण निर्णय अडिग रहिरहन सकेन । बरु, झनै गहिरो भँगालोमा परिन् उनी ।
बीस वर्षको उमेरमा जीवनसाथीका रूपमा ५५ वर्षका शेरबहादुर अधिकारीलाई स्विकार्नुपर्यो । पौराणिक युगमा सात वर्षकी गोमाले ७५ वर्षको बूढोसँग बिहे भएपछि भोग्नुपरेजस्तै नियतिको मिथक लगभग यिनको जीवनमा पनि मिल्यो । बलिमायालाई बाध्यतामा पार्ने कारण उही थियो– दृष्टिशक्ति नहुनु । ‘के गर्नु आफ्नो शरीरले सबै काम गर्न नसक्ने भएपछि जिन्दगीसँग सम्झौता गर्नैपर्ने रहेछ,’ उनको गुनासो । सायद अपांगताभित्रको पीडाको निष्कर्ष एकै वाक्यमा पोख्दै छिन् ।
उनको दु:खका दिन झनै बढ्न थाले । गरिब परिवार, त्यसमाथि वृद्ध पति । अर्काको ढिकीजाँतो गरिदिएर आएको सामल ल्याएर घर धान्नुपर्ने अवस्था थियो । ‘मेरा लागि अन्धकार यो संसारमा दु:खभन्दा केही छैनजस्तो लाग्थ्यो । दिनरात रोई–रोई ढिकीजाँतो गर्थें,’ एकादेशको कहानीझैँ लाग्छ उनको भोगाइ । चारवटा सन्तान पनि ढिकीजाँतो गरेरै हुर्काइन् उनले ।
अहिले उनका तीन छोरा र एक छोरी छन् । दु:ख गरी हुर्काएका यी छोराछोरीको रूपरंग कस्तो छ, पत्तो छैन । ‘मेरा छोराछोरीको अनुहार कस्तो छ ? यिनीहरूको बिहे होला कि नहोला भनेर अरूलाई सोध्थेँ,’ एउटी निरीह आमाको बाध्यता । छोराछोरीले आठ वर्षअगाडि बलिमायालाई चितवन लिएर आएका छन् । चितवनको फराकिलो आँगनमा उनले धेरै कुरा सिकेकी छिन् । तीमध्येको महत्त्वपूर्ण पाठ उनले ‘आफू एक्लै आँखा नदेख्ने होइन रहेछु’ भन्ने बुझेकी छन् । त्यसमाथि हातको सीप पनि सिक्ने अवसर पाइन् । हाल गौरीगन्जमा जेठा छोरासँग बस्दै आएकी छिन् ।
मैनबत्ती बनाउने सीप छ तर आर्थिक अभावका कारण मेसिन घरमै किनेर काम गर्न सकेकी छैनन् । फ्याक्ट्रीबाट उत्पादन भइसकेको मैनबत्ती बोकेर घरघर चहार्दै जीवन गुजार्दै छिन् । मैनबत्ती किनेर बेच्दा आजभोलि फाइदा हुन छाडेको उनी बताउँछिन् । ‘एक प्याकेटमा पाँच रुपियाँभन्दा नाफा बस्दैन । दिनभरमा १५ घरजति मात्रै डुल्न सक्छु । आजभोलि त यो काम पनि गर्न सक्दिनँ जस्तो लाग्न थालेको छ,’ एकैसासमा पिरलो सुनाइन् उनले ।
शरीरमा बुढ्यौलीले छोइसकेकाले पनि होला, घरमै बसेर काम गर्न सक्ने खालको तालिम पाए हुन्थ्यो जस्तो लाग्न थालेको छ उनलाई । सरकारका तर्फबाट अपांगता हुनेका लागि भत्ता तथा सुविधा छुट्याइएको भने पनि आफूले कतैबाट सहयोग नपाएको गुनासो बलिमायाको छ । चिनेजानेजति सबैसँग यसबारे अनुरोध गरिसकिछन् । भनिन्, ‘भत्ता माग्यो भने बसाइँ सराइ गरेको कागज माग्छन् । मसँग यहीँको अपांगता परिचयपत्र छ । यसले हुँदैन रे †’ कतैबाट सहयोग नपाए पनि जीवनलाई सेतो छडीको सहारामा कर्मले उदाहरणीय बनाएकी छिन् बलिमायाले ।
प्रतिक्रिया