सबै विदेशी टोली बाहिरिए

पोखरा, २२ कात्तिक । मछिन्द्र फुटबल क्लब पोखरामा जारी सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा भारतको कोलकत्ता पोट ट्रस्ट स्पोर्टस् क्लबमाथि ६–० ले विजयी हुँदै मछिन्द्र प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । मछिन्द्रको जितमा दीपक राईले ह्याट्रिक गरे । त्यस्तै, विशाल राई ‘ए’ ले २ गोल गरे भने लक्ष्मीनारायण श्रेष्ठको नाममा थप गोल रह्यो ।
विदेशी क्लबविरुद्ध मछिन्द्र खेलभर हाबी रह्यो । खेलको २८औँ मिनेटमा कर्ण लिम्बूको पासलाई सदुपयोग गर्दै दीपकले व्यक्तिगत गोल मात्र गरेनन्, मछिन्द्रलाई सुरुवाती अग्रता पनि दिलाए । त्यसको चार मिनेट पनि बित्न नपाउँदै उनले प्रवेश कटुवालले गरेको फ्री किकमा हेडमार्फत खेलको दोस्रो गोल गरे । यसपछि दीपक ह्याट्रिकको नजिक देखिए पनि प्रवेशको पासमा मछिन्द्रकै लक्ष्मीले गोल गरे । पहिलो हाफमा
३–० ले अगाडि रहेको स्वदेशी क्लबका लागि ६४औँ मिनेटमा दीपक राईले निकालेको पासमा विशाल राई ‘ए’ ले व्यक्तिगत पहिलो गोल गरेका थिए । दीपकको ह्याट्रिक प्रयास तब सफल भयो जब उनले ८०औँ मिनेटमा पाएको मौकालाई सदुपयोग गरे ।
यससगै, उनी दोस्रो सफल कप फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न पुगे । खेलको अन्तिम समयसम्म दबदबा कायम राखेको मछिन्द्रका लागि छैटौँ गोल विशालले गरे, जब उनले दोस्रो हाफको इन्जुरी समयमा कर्ण लिम्बूले दिएको पासलाई सदुपयोग गरे  । सानदार प्रदर्शन गरेका हिमालयन शेर्पाका पूर्व खेलाडी दीपक म्यान अफ दि म्याच भए ।
जितपछि मछिन्द्रका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यतm गरे । मछिन्द्रले सेमिफाइनलमा हिमालयन शेर्पाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अन्तिम चारमा मछिन्द्रले अझै राम्रो प्रदर्शन गर्ने प्रशिक्षक शाक्यले दाबी गरे ।
मंगलबारको खेलमा पाउना टोलीको प्रदर्शन निकै कमजोर देखिन्थ्यो । खेल अवधिभर पाउना टोलीले गोल गर्ने कुनै अवसरसमेत सिर्जना गर्न सकेन । कलकत्ताका प्रशिक्षक पिडेले बिहान ७ बजे मात्र पोखरा प्रवेश गरेकाले खेल्न निकै अप्ठ्यारो परेको भन्दै खेल हुनु एक दिनअगाडि आउन पाएको भए आफ्नो तर्फबाट खेल सन्तोषजनक हुने धारणा राखे ।
प्रतियोगितामा भुटान, बंगलादेश र भारतबाट गरी तीन विदेशी टोलीको सहभागिता थियो । तर, तीनवटै टोलीको यात्रा सेमिफाइनलसम्म पुग्न सकेन । सफल पोखराकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सुरु हुनेछन् । पहिलो सेमिफाइनल खेल बुधबार एनसेल कप विजेता मनाङमस्र्याङ्दी र एनआरटीबीच हुनेछ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको उपाधि विजेताले नगद तीन लाख पाँच हजार र उपविजेताले नगद एक लाख ५० हजार रुपियाँ हात पार्नेछन् । प्रतियोगिताको फाइनल खेल २५ कात्तिकमा हुनेछ ।

प्रतिक्रिया