काठमाडौं, २१ कात्तिक । नेपाल तरुण दलका पूर्व केन्द्रीय नेताहरुले अन्तरिम संविधानको मर्म र भावना विपरित एकीकृत माओवादी नेतृत्वको सरकार अगाडी बढ्न खोजेको भन्दै आपत्ती जनाएका छन् ।
राजधानीमा आज बसेको दलका पूर्व केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको बैठकले सरकारलाई अन्तरिम संविधानको मर्मअनुसार चल्न आग्रह गरेका छन् । उनीहरुले सरकार सहमति अनुसार नचले कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
बैठक पछि जारी विज्ञप्तिमा उनीहरुले एकतर्फि रुपमा बजेट ल्याउने तयारी भएको भन्दै वृहत राष्ट्रिय हित प्रतिकूल निर्णयहरु नलिन चेतावनी दिएका छन् । विभिन्न वहानामा आफ्ना कार्यकर्तालाई राष्ट्रिय ढुकुटीबाट रकम बाँड्नेलगायतका काम गरेकोमा पनि उनीहरुको आपत्ति छ ।
लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्नचिन्ह लाग्ने गरी सरकारका मन्त्री र सत्तारुढ दलका जिम्मेवार नेताहरुद्वारा राष्ट्रपतिलाई लाञ्छित गर्दै आएको आरोप उनीहरुले लगाएका छन् । राष्ट्रपतिलाई लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्नुपर्ने माग उनीहरुको छ ।
यसैबीच, उनीहरुले कांग्रेसले कात्तिक–२४ गते आयोजना गर्न लागेको विरोध सभामा सहभागी हुन सबैलाई आग्रह गर्ने निर्णय गरेको पूर्व प्रचार विभाग प्रमुख सुदर्शन आचार्यले जानकारी दिए ।
बैठकमा पूर्व उपाध्यक्षद्वय कमलबहादुर शाह, प्रताप गुर्धामी, महासचिवद्वय यमबहादुर गुरुङ, पुष्पराज पराजुली, सचिव उत्तमबहादुर चापागाई, कोषाध्यक्ष कृष्णप्रसाद बस्नेत प्रचार विभाग प्रमुख आचार्य, केन्द्रीय सदस्य हरि आचार्य, भक्तध्वज बोहरालगायतको सहभागिता थियो ।
प्रतिक्रिया