गीत मात्र राम्रो, अरु …

काठमाडौं, २१ कात्तिक । सायद नेपाली चलचित्र लेखकहरूले पृथक् कथा भेट्टाउनै सक्दैनन् । त्यसैले सधैँभरि मायाप्रेमको एउटै फर्मुलामा अल्झिरहन्छन् । यस्तै पुरानैजस्तो लाग्ने चलचित्र हो, प्रदर्शनरत नबोले नि हाँसिराखन पनि । नेपाली चलचित्रका व्यस्त लेखक शिवम अधिकारीको स्क्रिप्ट र तीनवटा चलचित्रबाट फुल निर्देशनको अनुभव बटुलेका शरद अधिकारीलाई पत्याएर हलसम्म पुग्ने दर्शक अन्तत: निराश बनेर फर्कने सम्भावना देखिन्छ । अढाई घन्टाको चलचित्रमा त्यस्ता कुनै दृश्य छैनन्, जुन नयाँ अनि नौला लागूून् ।

शीर्ष भूमिकामा देखिएका निखिल उप्रेती (सत्यम्), शान्ति गिरी (सरस्वती) र ऋचा सिंह ठकुरी (प्रीति) को वरिपरि घुमेको छ पूरै चलचित्र । क्याटरिङ व्यवसायी सत्यम् टोले दादा पनि हुन्छ तर निमुखालाई माया गर्ने स्वभावको । करियर बनाउने ध्याउन्नमा रहेकी सरस्वती एउटा कार्यक्रमको अडिसनका लागि त्यही टोलमा आएर बस्छे । उसलाई गुन्डाहरूले आक्रमण गर्छन् । बच्नका लागि उसले आफू सत्यम् दादाकी श्रीमती हो भनेर ढाँटिदिन्छे । आफ्नो बदनाम भएको भन्दै सत्यम्ले सरस्वतीको कोठा तोडफोड गरिदिन्छ । तर, यो घटनापछि सत्यम् उसलाई मन पराउन थाल्छ । उता प्रहरी इन्स्पेक्टर प्रीति सत्यम्लाई पहिल्यैदेखि मन पराउँछे । उसका पटकपटकका प्रेमप्रस्ताव सत्यम्ले अस्वीकार गरिरहेको हुन्छ । सत्यम् नेपाल आइडल बन्ने धुनमा रहेकी सरस्वतीलाई सहयोग गरेर उसको प्रेम प्राप्त गर्ने धुनमा हुन्छ । यही विषयवस्तवरिपरि छ पूरै चलचित्र । चलचित्रमा कुनै त्यस्ता दृश्य छैनन्, जहाँ नायकनायिका एकअर्कासँग रिसाएर बसून् वा नबोलून् । यसअर्थमा चलचित्रको नाम कसरी पुष्टि गर्न खोजिएको हो, बुझ्नै गाह्रो छ । कथा पनि कताकता अल्झिएजस्तो छ, एकैखाले गति समात्न सकेको छैन । मध्यान्तरपछि केही विशेष होला कि भनेर कुरेर बस्ने दर्शक फेरि पनि निराशै हुन्छन् । जसोतसो चलचित्र टुंग्याएर झारा टार्न खोजेझैँ लाग्छ ।
निर्मातासमेत रहेकी शान्तिको अभिनय राम्रो छ तर लामो भएकाले पट्यारलाग्दो पनि छ । त्यस्ता कुनै पनि दृश्य छैनन्, जसमा निर्देशकको क्षमतालाई वाहवाही गर्न सकियोस् । हिन्दी तथा नेपाली चलचित्रमा पटकपटक प्रयोग भइसकेजस्ता लाग्ने दृश्य यहाँ पनि छन् । स्क्रिप्टमा कुनै नौलो पन छैन । पात्रले चरित्रअनुसारको डाइलग पाएका छैनन् ।
निखिल उप्रेतीले चाहिँ सुरुदेखि अन्त्यसम्मै समानान्तर खालको अभिनय गरेका छन् । इन्स्पेक्टरको भूमिकामार्फत खल पात्रमा देखिएका कमलकृष्णको अभिनयलाई नै चलचित्रको सबैभन्दा गतिलो पक्ष मान्नुपर्ने अवस्था छ । अर्को सबल पक्ष भनेको, संगीत पनि हो । उत्कृष्ट गीतसंगीत भए पनि कथअनुसार तालमेल मिलेझैँ लाग्दैन । बीचमा एकाएक प्रस्तुत गरिएको ‘सञ्जु’ भूमिका त्यत्तिकै हराउँछ । कता जोड्न खोजिएको हो, थाहा पाइँदैन । त्यसैगरी पार्टी महाधिवेशनका लागि क्याटरिङ अर्डर गर्न आएका नेतालाई पत्रकार जसरी प्रस्तुत गरिएको छ । यो दृश्यले लेखक र निर्देशकमा नेताको हाउभाउ र प्रस्तुतीकरणबारे ज्ञानको अभाव देखिन्छ । निखिलकी आमाको भूमिकामा देखिएकी लक्ष्मी गिरीको अभिनय जमेको छ । पुलिसको भूमिकामा देखिएकी ऋचाको अभिनय सामान्य नै छ । यस्ता थुप्रै सिन छन्, जहाँ त्यसपछि के हुन्छ भन्ने कुरा पहिल्यै अनुमान लगाउन सकिन्छ । स्क्रिप्ट टाकटुक जोडिएजस्तो लाग्छ । नृत्य र द्वन्द्व सामान्य छ । उही पुरानै फर्मुला प्रयोग गरेर अन्त्यमा प्रेमीप्रेमिकाको मिलनसहित चलचित्र टुंग्याइन्छ ।
नबोले नि हाँसीराखन
निर्देशक : सरद केसी
निर्माता : शान्ति गिरी
पटकथा, संवाद : शिवम् अधिकारी
संगीत : वसन्त सापकोटा
कलाकार : निखील उप्रेती ,शान्ति गिरी, ऋचा सिह ठकुरी ,कमल कृष्ण, लक्ष्मी गिरी ।

प्रतिक्रिया