कात्तिकभित्रै बजेट ल्याउने तयारी

काठमाडौं, २१ कात्तिक । सर्वसहमतिमा बजेट ल्याउन विपक्षी दलहरूले आग्रह गरिरहेका बेला सत्ता साझेदार दलहरूको गठबन्धन (संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन)को बैठकले तिहारअघि नै पूर्ण बजेट ल्याउन सरकारसँग आग्रह गरेको छ । पूर्ण बजेट नआए देश आर्थिक संकटमा पर्न जाने बताउँदै बैठकका सहभागीले पूर्ण बजेटका लागि सबै तयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बैठकमा वार्ता प्रक्रियाद्वारा विपक्षी दलसँग जारी वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह गरेको थियो । बैठकमा प्रतिपक्षी दलसँग बजेटमा सहमति नभए पनि तिहारअगावै पूर्ण बजेट तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने विषयमा छलफल भएको थियो ।
उद्योगी, व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक शक्तिहरू बीच सहमति गरी नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउन यथाशीघ्र पूर्ण बजेट ल्याउन आह्वान गरेको छ । ‘कुनै पनि मुलुकमा सरकार सबभन्दा ठूलो उत्पादक, उपभोक्ता र लगानीकर्ता हो र बजेट अर्थतन्त्रको रक्तसञ्चार प्रणाली हो भन्ने हाम्रो मान्यता छ । बजेट नै नहुने हो भने राज्य असफल बन्छ र बजेट पूर्ण नहुँदा अर्थतन्त्रको रक्तसञ्चार पनि आंशिक बन्न जान्छ,’ महासंघले जारी गरेको वक्तव्यमा उल्लेख छ । त्यसैगरी नेपाल चेम्बर अफ कमर्सले पनि पूर्ण बजेट नआउँदा विकास निर्माणको कार्य प्रभावित भएको हुँदा तत्काल बजेट ल्याउन आग्रह गरे ।
सरकारले गत असार ३१ गते अघिल्लो वर्षको बजेटको एक तृतीयांश खर्च गर्ने गरी आंशिक बजेट ल्याएको थियो । गत वर्षका लागि सरकारले तीन खर्ब ८४ अर्ब ९५ करोड रुपियाँको बजेट ल्याएको थियो । आंशिक बजेटको रकम कात्तिक मसान्तसम्म सकिसक्ने अर्थ मन्त्रालयले सार्वजनिक रूपमा जानकारी दिइसकेको छ । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले कात्तिकसम्म जेनतेन चले पनि त्यसपछि खर्च व्यवस्थापन गर्न नसकिने सार्वजनिक रूपमा बताइसकेका छन् । औषधि, सामाजिक सुरक्षा भत्ता, शिक्षक एवं सेना–प्रहरीको तलब, कैदीको सिधालगायतका क्षेत्रमा अहिले नै समस्या परिसकेको बताउँदै उनले मंसिरदेखि सबै क्षेत्र प्रभावित हुने बताए ।
विपक्षी दललाई मनाउादै अर्थमन्त्री
कात्तिक मसान्तपछि बजेट खर्च गर्न रकम अभाव हुने निश्चित भएपछि अर्थमन्त्री वर्षमान पुन विपक्षी दलहरूलाई मनाउन लागि परेका छन् । अर्थमन्त्री पुनले आइतबार नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटी पूर्ण बजेट ल्याउन सहयोग गर्न आग्रह गरेका थिए । भेटमा अर्थमन्त्री पुनले राजनीतिक सहमति गरेर बजेट ल्याउने वातावरण मिलाइदिन खनालसँग आग्रह गर्दै बृहत्तर राजनीतिक सहमति हुन नसकेको खण्डमा कम्तीमा बजेटमा सहमति गरिदिन अर्थमन्त्रीले अनुरोध गगरेका थिए । कात्तिक मसान्तभित्र पूर्ण बजेट ल्याउन नसके सेना, सशस्त्र प्रहरी, प्रहरी र शिक्षकलाई कात्तिक महिनाको तलब दिन सक्ने अवस्था नभएको जानकारी अध्यक्ष खनाललाई गराएका थिए । त्यसका लागि कम्तीमा ७ अर्ब लाग्ने अर्थमन्त्रीको भनाइ थियो । पूर्ण बजेट समयमा ल्याउन नसक्दा देशको अर्थतन्त्र विस्तारै खराब बन्दै गएको अर्थमन्त्रीले बताएका थिए । अर्थमन्त्री पुनले कात्तिकभित्रै सहमतिमा पूर्ण बजेट ल्याउने पहल स्वरूपमा एमाले अध्यक्ष खनाललाई भेटेका हुन् । उनले सोमबार नेपाली कांग्रेसका अध्यक्ष सुशील कोइरालालाई भेटेर सोही आग्रह गरेका थिए ।
बजेट ल्याउन सरकार भरमग्दुर प्रयासमा रहे पनि पूर्वअर्थमन्त्रीहरू भने सहमतिमा मात्रै बजेट ल्याउनुपर्ने अडानमा देखिएका छन् । यसअघि गत असार ३१ मा पनि पूर्ण आकारको बजेट ल्याउने अडानमा रहेको सरकार विपक्षी दलको विरोधका कारण एक तृतीयांश बजेटमा खुम्चिएका थिए ।
साढे चार खर्बको बजेट आउादै
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले विपक्षीले अवरोध गरे त्यसलाई तोडेर भए पनि सरकारले पूर्ण बजेट ल्याइछाड्ने बताएका छन् । उनले ४ सय ५० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भएको जानकारी दिँदै बजेट जनताको चाहना पूरा गर्ने गरी ल्याइने बताएका थिए । राजस्वमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई राहत दिने गरी बजेट आउने बताए ।
पूर्वगभर्नर तिलक रावलले सहमतिमा बजेट ल्याउनुपर्ने भन्दै पूर्ण बजेट नआउँदैमा मुलुकको अर्थतन्त्रमा खासै प्रभाव नपर्ने दाबी गरे । पँुजीगत खर्च एकदमै न्यून रहेको अवस्थामा चालु खर्चका लागि मात्र बजेट आउन लागेको भन्दै बजेट आउँदैमा मुलुकको अर्थतन्त्रले सकारात्मक बाटो लिन नसक्ने ठोकुवा गरे । अर्थविद् विश्वम्भर प्याकुरेलले राजनीतिक सहमतिमा बजेट ल्याउनुपर्ने भन्दै बजेटमा राजनीति गर्न नहुने तर्क गरे ।

प्रतिक्रिया