न्युयोर्क : अमेरिकाका विभिन्न राज्यमा आएको समुद्री चक्रवातीय आँधी स्यान्डीले क्षतिग्रस्त भएका हजारौँ घरका बासिन्दाका लागि यथाशीघ्र नयाँ घरको आवश्यकता रहेको स्थानीय नेताहरूले औँल्याएका छन् । अब, चाँडै जाडो मौसम सुरु हुने भएकाले नयाँ वासस्थानको व्यवस्था हुनुपर्ने उनीहरूको जिकिर छ ।
गभर्नर एन्ड्रयु क्युओमोले भन्छन्, ‘जुन–जुन घरमा तातो बनाइराख्न ‘हिटिङ सिस्टम’ को व्यवस्था हुँदैन, त्यहाँ बसोवास हुन सक्दैन किनभने जाडो अत्यधिक हुने गर्छ ।’ न्युयोर्कका मेयर माइकल ब्लुमबर्गले ३० देखि ४० हजार मानिसलाई यस किसिमको सहयोग आवश्यक रहेको बताएका छन् ।
गत २९ अक्टोबरमा अमेरिकाको पूर्वोत्तर क्षेत्रमा ठोक्किन आइपुगेको समुद्री आँधी स्यान्डीले अमेरिकामा कम्तीमा १०६ मानिसको मृत्यु भएको थियो । मर्नेमा ४० जना न्युयोर्क सहरका मात्र थिए ।
क्युओमोले आइतबार राति आयोजित पत्रकार सम्मेलनमा भने, ‘आफू बस्दै आएको घर परित्याग गर्न नमानेका मानिसहरूका लागि अन्य कुनै विकल्प हुने छैन ।’
त्यहाँ सोमबारदेखि लगभग सबै कार्यालय र धेरै दिनदेखि बन्द रहेका विद्यालय पनि खुल्दै छन् । अर्कोतिर, केही समय पहिलेसम्म त्यहाँ देखा परिरहेको पेट्रोलको समस्या क्रमश: कम हुँदै गएको छ । क्युओमोले मानिसलाई पेट्रोल संकलन नगर्न आग्रह गर्दै चाँडै पेट्रोल आपूर्ति सर्वसुलभ भइसक्ने आश्वासन दिएका छन् । न्युयोर्क सहर प्रशासनले बिजुलीबहाल भइनसकेका क्षेत्रमा अस्थायी बसोवास शिविर स्थापित गरेका छन् भने बिजुली नभए पनि आफ्नो घर छाड्न तयार नभएका मानिसलाई पनि कम्बल वितरण गरिएको छ ।
मेयर ब्लुमबर्गले फेरि पनि मानिसलाई घर छाडेर निस्कन आग्रह गर्दै भनेका छन्, ‘जाडोले गर्दा तपाईंको मृत्यु पनि हुनसक्छ । घरलाई तातो पारी राख्न मैनबत्ती वा स्टोभ बाल्दा पनि आगो लागेरसमेत तपाईंको मृत्यु हुन सक्छ ।’ आइतबार न्युयोर्कको तापमान चार डिग्री सेल्सियस थियो भने मौसम विभागले जनाएअनुसार सोमबार तापक्रममा अझ गिरावट आई शून्य–एक डिग्री सेल्सियससम्म पुग्न सक्नेछ ।
न्युयोर्कका मेयरले भने, ‘तपाईंलाई आफू कहाँ जाने भन्ने थाहा छैन भने पनि बाहिर सडकमा निस्कनुहोस् र यति मात्र भन्नुहोस्– म कहाँ जाऊँ । सबैले तपाईंलाई सहयोग गर्नेछन् । हामीलाई के कुरा सुरक्षित गर्नु छ भने केही दिनसम्म तपाईंहरू सुरक्षित रहनुहोस्, तपाईंहरूलाई खाना र पानी उपलब्ध भइरहोस् ।’
न्युयोर्कमा अझैसम्म पनि सात लाख ३० हजार मानिसको घरमा बिजुली छैन । तीमध्ये एक लाख ३० हजार त केवल न्युयोर्क सहरकै मात्र छन् । छिमेकी राज्य न्युजर्सीका पनि दस लाख मानिस विनाबिजुली दिन गुजारिरहेका छन् भने पेट्रोल पनि सीमित परिमाणमा मात्र उपलब्ध भइरहेको छ ।
राष्ट्रपति निर्वाचन तयारी प्रभावित
स्यान्डीले गर्दा मंगलबार हुने राष्ट्रपति निर्वाचनको तयारी पनि प्रभावित भइरहेको छ । न्युजर्सीमा आँधीले गर्दा घरवारविहीन भएका मानिसले आफ्नो मत इमेल वा फ्याक्सबाट पनि पठाउन सक्नेछन् । न्युयोर्कमा भने सबैले मतदान गर्न पाउन् भनी सम्पूर्ण प्रयास गरिने बताइएको छ । राष्ट्रपति निर्वाचनका लागि सबै किसिमका प्रचारप्रसार अभियान सोमबार राति समाप्त हुँदै छन् र यससँगै ५१ वर्षीय राष्ट्रपति ओबामा र उनका रिपब्लिकन प्रतिद्वन्द्वी ६५ वर्षीय मिट रोम्नीबीच महिनौँदेखि चल्दै आएको वादविवाद पनि समाप्त हुनेछ ।
प्रतिक्रिया