बाग्लुङ, २१ कात्तिक । सुनका गहना चम्काउने बहानामा ठगी गर्दै हिँडेको आरोपमा भीमापोखराबाट पक्राउ परेका तीन अभियुक्त चौकीबाट फरार भएका छन् ।
आइतबार साँझ स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका पाँचमध्ये भारत मोतिहारीका भानु शाह, विवेक शाह र भारत मोतिपुरका सुनीलकुमार शाह फरार भएको प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिएर अक्षेते प्रहरी चौकीमा राखिएका उनीहरू डयुटीमा रहेका प्रहरीको आँखा छलेर फरार भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकृत शैलेन्द्र खड्काले बताए ।
फरार भएकाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धानका लागि इन्स्पेक्टर बद्री श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।
भीमापोखरा–८ की कोपिला थापाको दुई तोला सुनको सिक्री, सोही स्थानकी रिमकली थापाको एक तोलाको सुनको रिङ र भीमापोखरा–९ की धनमाया छन्त्यालको एक तोलाको रिङ चम्काउने बहानामा ठगी गरेको भन्दै फरार रहेका तीनसहित कैलाली जिसाका गोपाल राहुल र भारत रक्सौलका पप्पु कुमारलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । (सौस)
प्रतिक्रिया