एमालेले सहमति विपरित आउने बजेट नमान्ने

काठमाडौं, २० कात्तिक । राष्ट्रपति डा.रामवरण यादव र एमाले अध्यक्ष झलनाथ खनालबीच भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । डा.यादव र खनालबीच सरकारले ल्याउने तयारी गरेको पूर्ण बजेटका बारेमा समेत परामर्श भएको छ ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष खनालले राजनीतिक सहमति विपरित आउने पूर्ण वजेटलाई आफूहरुले नमान्ने बताए । ‘सहमति विपरित आउने वजेटलाई एमालेले मान्दैन,’ उनले भने, ‘सहमतिका लागि सरकारले ध्यान दिनु पर्छ ।’
राष्ट्रपति डा.यादवले अध्यक्ष खनाललाई मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राख्न आग्रह गरे । डा.यादवले गम्भीरतापूर्वक सहमतिमा निकास निकाल्न पुनः दलहरुलाई आग्रह गरेको खनालले बताए ।
राजनीतिक सहमतिका लागि दवाव दिदै आएका राष्ट्रपति डा.यादवले प्रमुख दलहरुलाई राजनीतिक गतिरोध अन्त्यका छिटो मिलाउन भन्दै आएका छन् । उनले आइतबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटगरेर सहमतिका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया