शाहुलाई सहयोग गर्न दीपकको आह्वान

काठमाडौ, २० कात्तिक । मिर्गौला रोगबाट पीडित डडेल्धुरा अमरगढीका प्रकाशबहादुर शाहुको उपचारका लागि चर्चित तेक्वान्दो खेलाडी दीपक विष्ट सहयोगमा जुटेका छन् । दुवै मिर्गौला काम नलाग्ने गरी बिग्रिएपछि ३२ वर्षीय शाहुले डायलायसिस वा मिर्गौलाको प्रत्यारोपण गर्नका लागि सहयोगको अपिल गरेका छन् ।
उनको उपचारका लागि करिब दस लाख रुपियाँ लाग्ने जनाइएको छ । शाहुको यो रकमको जोहो गर्ने क्षमता नभएका कारण सहयोगको आह्वान गरिएको हो । सामान्य परिवारका शाह उक्त रकम जुटाउन नसक्ने अवस्थामा रहेको उनका सहयोगी विष्टले बताए ।
विष्टका अनुसार शाहको उपचारका लागि अब करिब थप १० लाख रुपियाँ खर्च लाग्नेछ । दुई छोरी र एक छोराका पिता शाहको पारिवारिक दायित्व पनि भएकोले उनलाई बचाउन जरुरी भएको विष्टले बताए । उनको अहिले महाराजगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
शाहको उपचारमा हालसम्म एक लाखभन्दा बढी रुपियाँ खर्च भइसकेको पनि विष्टले बताए । शाहलाई सहयोग गर्न चाहनेले ग्लोबल आइएमई बंैकको खाता नम्बर : २९०७०१०००२९२५ मा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया