एचआइभी र यौनजीवन

एचआइभीको संक्रमण हुनेबित्तिकै मानिस जीवनै सकिएको सोच्न थाल्छन् । यौनका मामिलामा उदास हुन थाल्छन् । तर, वास्तविकता यो होइन । शरीरमा एचआईभी भए पनि यौनजीवन रमाइलोसँग बिताउन सकिन्छ । यसका लागि अनेक पक्षमा विचार पुर्‍याउनुपर्ने हुन्छ । जोडी नै संक्रमित भएको वा एक जना मात्र भएको अवस्थामा त्यसैअनुसार जीवनशैलीमा सावधानी अपनाउनुपर्ने हुन्छ । पहिलाजसरी नै यौनजीवनलाई रमाइलोसाथ बिताउन सकिन्छ ।
जोडीमध्ये कुनै एकलाई मात्र एचआइभी भएको छ भने अर्को जोडीलाई जोडीलाई मात्र होइन, उपचार गर्ने स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तलाई पनि समस्या पर्छ । सम्बन्ध पनि तनाबयुक्त हुन्छ । सकारात्मक तथा स्वस्थ जीवनशैली अपनाउने हो भने त्यो तनाब घटाई जीवनलाई सुखमय बनाउन सकिन्छ ।
यौनजीवन भन्नेबित्तिकै विवाहसँग जोडेर हर्ने गरिन्छ । एचआईभी शरीरमा भयो भन्दैमा विवाह गर्न नमिल्ने कुरा होइन तर वैवाहिक तथा यौनजीवनमा गहिरो प्रभाव पार्ने यस्ता कुरामा पहिले नै सचेत हुन जरुरी हुन्छ । यसबारेमा पहिले नै हुनेवाला जीवनसाथीसँग खुला रूपमा चर्चा गरिनुपर्छ । गोप्यता राखेर विवाह गरिनु हँुदैन । शरीरमा एचआईभी छ भन्दैमा यौनजीवन समाप्त हुन्छ भन्ने सोच गलत हो । यति मात्रै होइन, सन्तान जन्माउने कुरामा पनि योजना बनाउन सकिन्छ । अहिले उपचार विधिहरूको विकास भइसकेको छ, जसले सम्भावित जोखिमलाई न्यूनीकरण गर्छ ।
कुनै व्यक्तिमा एचआइभी छ वा छैन भनेर विचार गरेर मात्रै आफ्नो यौनसाथीको चयन गर्ने गरेको पनि पाइन्छ । यसलाई स्वास्थ्यमा ‘सेरोसोटिर्ङ’ भनिन्छ ।

प्रतिक्रिया