पोखरा, १९ कात्तिक । लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङदी क्लब पोखरामा जारी दोस्रो सफल पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।
मनाङका लागि यसै सत्रमा क्लबमा आबद्ध भएका नीराजन मल्लले दुई गोल गरे । घरेलु मैदानमा खेलिरहेका अनिल गुरुङले एक गोल गरे । १८औँ मिनेटमा समीर लिम्बूको पासलाई हेडमार्फत गोलमा परिणत गरेका नीराजनले त्यसको दुई मिनेटपछि पोखरेली खेलाडी अनिल गुरुङले दिएको पासलाई गोलमा परिणत गर्दै खेलको अग्रतालाई दोब्बर पारे । त्यस्तै खेलको २७औँ मिनेटमा अनिल गुरुङले गोल गर्दै खेललाई ३–० को अवस्थामा पुर्याएका थिए । खेलमा एपिएफको तर्फबाट गणेश लावतीले एक मात्र सान्त्वना गोल गरेका थिए । लावतीले ४०औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा केही राम्रो मुभ बनाए पनि कमजोर फिनिसिङका कारण एपिएफ पराजय स्विकार्न बाध्य भयो ।
मनाङका अनिलले पनि दोस्रो हाफको सुरुआतमै अनिल गुरुङले पाएको उत्कृष्ट मौका सदुपयोग गर्न सकेनन् । गत महिना एनसेलकपको उपाधि जितेर उत्साहित मनाङ यो प्रतियोगितामा पनि राम्रो लयमा रहेको छ । मनाङले २२ कात्तिकमा एनआरटी र ड्रयुपपोल फुटबल क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । एनआरटी र ड्रयुपपोलबीचको क्वार्टरफाइनल आइतबार हुनेछ ।
मनाङका प्रशिक्षक कृष्ण थापाले खेलाडीहरूले राम्रो प्रदर्शन गरे पनि स्कोरिङमा चित्त नबुझेको प्रतिक्रिया दिए । विभागीय टिम शारीरिक रूपमा सबल भए पनि कमजोर प्राविधिक पक्षको फाइदा उठाएको उनले बताए ।
एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो टोलीको रक्षापंक्ति कमजोर भएका कारण हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । खेलाडीले बललाई नियन्त्रणमा राख्न नसक्दा पाएको अवसर पनि सदुपयोग गर्न नसकेको भनाइ थियो ।
प्रतिक्रिया