गोबरले फेरियो गाउँ

बालुवा (काभ्रे), १९ कात्तिक । काभ्रेको बालुवा गाविस–८ बेलाका ८० वर्षीय भोजराज सापकोटाले १० वर्ष अघि गाउँमा मान्छेको दिसा र गाईवस्तुको गोबरले ग्यास उत्पादन हुन्छ भनेर पत्याएकै थिएनन् ।
हेर्दा हेर्दै गोबरग्यास प्लान्ट बनाएर खान पकाउन थालेपछि उनलाई पत्याउन करै लाग्यो । ‘आफू र गाईवस्तुको गोबरबाट पनि ग्यास उत्पादन हुन्छ भनेर मैले नबनुन्जेलसम्म पत्याएकै थिइन, कल्पना नगरेको कुरा देख्नुपर्‍यो,’ वृद्ध सापकोटाले भने, ‘गोबरग्यासले गाउँको त चोला नै फेरियो, त्योभन्दा अघि जथाभाबी फोहोरले नाक थुनेर हिँड्नु पथ्र्याे, दाउरा बोक्दा डँडाल्नाको छाला जान्थ्यो, बोक्नै परेन ।’
आफँैले गरेको दिसाको ग्यास उत्पादन गरेर खाना पकाउने युग आएको भन्दै उनी मात्र होइन, बेला गाउँका धेरै वृद्धवृद्धा आश्चर्यमा परेका छन् । ‘पहिला त दिसा र गोबरबाट ग्यास निकाल्दा गन्हाउँछ, यस्तो पनि हुन्छ र जस्तो लागेको थियो, अहिले त आश्चर्यमा परेकी छु,’ ६७ वर्षीया धनकुमारी सापकोटाले सम्झिइन्, ‘पाखातिर दिसा गर्न जानुपर्ने दिए मात्र गएनन्, दाउरा खोज्न जंगल पुग्नुपर्ने, दाउराले पकाउँदा धुवाले धम्की बढ्ने, भाडाकुँडा, लुगा, दलिन काला हुने, हात फुट्ने दिन पनि गए ।’
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कर्जा सहयोग तथा सबैको लागि स्वास्थ्य र शिक्षा (हेफा) को सहयोगमा आत्मनिर्भर तरकारी उत्पादक सहकारी संस्थाले गाउँमा गोबरग्यास बनाउने अभियान सुरु गरेपछि बेला गाउँ देशकै नमुना गाउँ बनेको छ । वालुवा गाविस–८ बेलाका २५० घरधुरीमै चर्पीजडित गोबरग्यास बनाएर गत ०६६ सालमा त ५० भन्दा बढी राष्ट्रका विदेशी प्रतिनिधि समेतको उपस्थितमा गोबरग्यास नमुना गाउँ घोषणा गरिएको थियो । सबै घरधुरीमा गोबरग्यास बनाएर गोबरग्यास नमुना गाउँ घोषणा गरिएको बेलागाउँ नेपालकै पहिलो भएको प्रवद्र्धन केन्द्रका सहनिर्देशक एवं वायोग्यास शाखाका प्रबन्धक समीर थापा बताउँछन् । ‘देशमा १२ लाखवटा वायोग्यास प्लान्ट बनाउन क्षमता भए पनि देशभर दुई लाख ७० हजार बनेका छन् तर सबै घरधुरीमा बनाएर नमुना गाउँ घोषणा गरिएको चाहि यो पहिलो गाउँ हो,’ उनले भने । सहकारीका अनुसार ५ हजार आफ्नो जनश्रमदासहित एउटा चर्पीजडित गोबरग्यास बनाउन करिब ३८ हजार रुपियाँ लागेको थियो ।
०५९ सालतिर गाउँमा चर्पीजडित गोबरग्यास बनाउनको लागि सम्झाउँदा हिँड्दा यसका अभियान कर्तालाई ‘दिसा’ ले ग्यास उत्पादन गरेर भात पकाउन सकिन्छ भनेर गफ दिन्छ भनेर गाली गर्थे तर अहिले यही कारण गाउँको इज्जत र प्रतिष्ठा बढेको छ । ‘सुरुमा त दिसा गरेको कुराले ग्यास उत्पादन हुन्छ भनेर गाली समेत गरे,’ सहकारीका अध्यक्ष केदार सापकोटाले भने, ‘अहिले त सबै खुसी छन्, गाउँको इज्जत बढेको छ, धेरै विदेशी र देशका विभिन्न ठाउँबाट गोबरग्यास हेर्न यहाँ आउँछन् र नवीकरणीय ऊर्जाबारे हुने ठुल्ठूला कार्यक्रममा पनि यहाँका बासिन्दालाई अनुभव साट्न बोलाउँछन् ।’ उनका अनुसार प्रत्येक वर्ष नमुना गाउँको गोबरग्यास हेर्नका लागि ३० टोलीभन्दा बढी आउँछ भने अहिलेसम्म विश्व बैक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अन्य धेरै सरकारी गैह्रसरकारी संस्थाका प्रतिनिधिका साथै भुटान, जापानलगायत देशबाट टोली समेत आइसकेको छ ।
गोबरग्यासले वन विनाश मात्र रोकेको छैन, तरकारी उत्पादनमा खर्च कम र आम्दानी बढाएको छ । सापकोटाका अनुसार १० वर्ष अघिसम्म नांगो बेला पाखो हराभरा भएको छ भने एक भारी दाउराका लागि ३/४ घन्टा लगाउनुपर्ने र बिपी राजमार्गको मोटरबाटो गएकाले कतिपय ग्यास प्रयोग गर्ने परिवारका लागि ग्यास किन्न सहर धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । उनीहरूलाई ग्यास अभाव र हाहाकारको कुनै झन्झट छैन ।
१० वर्ष अघि दुई सय लिटर दूध उत्पादन हुने गाउँमा अहिले दुई हजार लिटर दूध उत्पादन हुने अध्यक्ष सापकोटा बताउँछन् । स्थानीयबासीका अनुसार गोबरग्यासबाट उत्पादित लेदो मल (सलरी) रासायिनिक मल १० बोरा हाल्नुपर्नेमा ८ बोरा मात्र हाले पुग्ने अवस्था आएको छ । जसको कारणले वर्षको प्रतिपरिवार १५ हजारभन्दा बढी खर्च घटेको छ । लेदो मलले अर्गानिक उत्पादनमा पनि सहयोग गरेको छ । यही कारण तरकारी उत्पादनसँगै पशुपालन गर्ने क्रम पनि बढेको छ । पहिला पाँच हजार कमाउन मुस्किल पर्ने यो गाउँमा ५० हजार आम्दानी गर्नु सामान्य बनेको छ । ‘पशुपालन र तरकारी खेतीको कारणले पहिलाभन्दा ५० प्रतिशत आम्दानी बढेको छ,’ सहकारीका व्यवस्थापक नीलप्रसाद पराजुलीले भने, ‘गोबरग्यासले दाउरा लिन र खाना पकाउनका लागि खर्चनुपर्ने समय बचाउँदा र लेदो मल प्रयोग गर्दा आम्दानीमा ठूलै परिवर्तन भएको छ ।’ सलरी बढी हुने स्थानीयबासीले भने प्रतिबोरा ६० रुपियाँमा बेच्न थालेका छन् ।
गोबरग्यास निर्माणले जताततैको फोहोर हटेको छ भने धुवाँ हट्दा स्वासप्रस्वास, दम लगायतका रोगमा पनि कमी आएको छ । ‘गोबरग्यासले स्वास्थ्य र शिक्षामा ठूलो फाइदा पुर्‍याएको छ, वातावरण संरक्षण पनि भएको छ,’ हेफाका सुपरभाइजर रामबहादुर खड्काले भने । बुबाआमा दाउराका लागि हिड्नुपर्ने र छोराछोरीले आफँै पकाएर खानुपर्ने अवस्था रहँदा धेरै बालबालिकाले बीचमै विद्यालय छोड्नुपर्ने अवस्था रहेकामा अहिले भने त्यो अवस्था अन्त्य भएको उनी बताउँछन् । अहिले उमेर पुगेका बालबालिकाले ग्यासमा आफैँ पकाएर विद्यालय जान थालेका छन् । नमुना गाविस घोषणापछि उनीहरूलाई सहयोग गर्ने पनि बढेका छन् । जर्मन राजदूतावासले गरेको सहयोगबाट बेलामा मात्र १७ वटा आकासे पानी ट्यांकी तथा १२ देखि ५० हजार लिटरसम्मका १२ वटा प्लास्टिक पोखरीसमेत बनेको छ ।
गोबरग्यास निर्माणको क्रममा जन्मिएको आत्मनिर्भर तरकारी सहकारीमा बेला तथा आसपासका गाउँका गरी अहिलेसम्म दुई सय बाल सदस्यसहित १२ सय सदस्य पुगेका छन् । दुई करोड ४१ लाख बचत गरेको सहकारीले दुई करोड ९५ लाख रुपियाँको त कारोबार नै गरिरहेको छ । आफ्नो गाउँमा गोबरग्यास बनेपछि अगुवा बनेको सहकारीले वालुवा गाविसका साथै छिमेकी फूलबारी, पातलेखेत, खरेलथोक, खनालथोक, मेथिनकोट लगायतका गाविसमा गरी एक हजारभन्दा बढी गोबरग्यास प्रवद्र्धन केन्द्र र हेफाको सहयोगमा बनाइसकेको छ । सहकारीले हालसम्म गोबरग्यासका लागि मात्र प्रवद्र्धन केन्द्रबाट ८१ लाख रुपियाँ ऋण लिइसकेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया