सैनिक ट्रक बन्ने भए मतदान केन्द्र

न्युयोर्क : अमेरिकामा गत सोमबार आएको समुद्री आँधी ‘स्यान्डी’का कारण मतदान केन्द्र तयार गर्न कठिनाइ हुन थालेपछि मंगलबार हुने निर्वाचनमा सैनिक ट्रकहरू मतदान केन्द्रका रूपमा परिणत हुने भएका छन् ।
स्यान्डीले गराएको व्यापक क्षतिका कारण निर्वाचनै पछि सर्ने पो हो कि भन्ने अनुमान गर्न थालिएको छ । यसबीच न्युयोर्क तथा न्युजर्सीमा कति मतदान केन्द्र आवश्यक पर्नेछ भन्ने अनुमान गर्न अझै कठिनाइ भइरहेको छ । यस निर्वाचनमा राष्ट्रपति बाराक ओबामा र उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीबीच प्रतिस्पर्धा हुँदै छ ।
न्युयोर्कस्थित फोर्डहयाम विश्वविद्यालयमा सहप्राध्यापक तथा निर्वाचन अभियान विशेषज्ञ कोस्टास पानागोपुलसले स्यान्डीले निर्वाचनमा केही अराजकता छाड्ने बताए । स्यान्डीले न्युजर्सीलाई नराम्रोसँग प्रभावित बनाएको छ भने अमेरिकामा झन्डै एक सय मानिस यो आँधीका सिकार भइसकेका छन् ।
त्यहाँ प्रतिरक्षा मन्त्रालयका ट्रकहरू उपयोग हुने निश्चित भएको छ । त्यहाँ राष्ट्रपति, संसद् तथा स्थानीय निर्वाचनका तीन हजार मतदान केन्द्र रहनेछन् तर हालसम्म त्यहाँ विद्युत् आपूर्ति हुनसकेको छैन । न्युजर्सी राज्यका सचिव किम गुआडाग्नोले मतदाताले मतदान केन्द्रमा प्रतिरक्षा मन्त्रालयको ट्रक फेला पार्ने र त्यसमा ‘यहाँ मतदान गर्नुहोस्’ भन्ने लेखिएको हुने बताए । उनले विद्युत् आपूर्ति नभएको स्थानमा कागजी मत उपयोग गरिने जानकारी दिए ।
न्युजर्सी तथा न्युयोर्कले पनि हुलाकमा मत आउने दिनलाई लम्ब्याएका छन् । न्युजर्सीले निर्वाचनका दिनमा पनि हुलाकमा मत स्वीकार गरिने जनाएको छ । न्युयोर्कले निर्वाचनको औपचारिक दिनमा उपलब्ध हुन नसक्ने व्यक्तिबाट नोभेम्बर १९ सम्म मत प्राप्त गर्न सकिने र त्यसलाई गणना गरिने जानकारी दिएको छ ।
कनेक्टिकटले मतदाता दर्ता समय लम्ब्याएको छ । न्युयोर्कको निर्वाचन बोर्डका प्रवक्ता जोन कोन्किनले आँधीका कारण मतदान केन्द्र परिवर्तन हुनसक्ने बताएका छन् ।
आँधीप्रभावित क्षेत्रका स्थानीय बोर्डले मतदान केन्द्र सही स्थानमा छन् वा छैनन् भनी निरीक्षण गरिरहेका छन् । न्युयोर्कले मतदान गर्न सम्भावना नभएका स्थानमा ‘सुपर पोलिङ’ केन्द्र बनाउने अपेक्षा गरिएको छ । न्युयोर्कको क्विन्स प्रशासकीय क्षेत्रमा यस्तै मतदान केन्द्र पालमा राखिने सम्भावना छ । त्यहाँ आगोले निकै भवन नष्ट गरिदिएको थियो ।
निर्वाचनको अन्तिम नतिजा आउँदासम्म यस आँधीका कारण निकै प्रश्न उठ्ने अनुमान गरिएको छ । न्युजर्सी तथा न्युयोर्क दुबैमा राष्ट्रपति ओबामाको लोकप्रियता बलियो रहेको अनुमान गरिन्छ तर नतिजा नआएसम्म यसै भन्न सकिने अवस्था भने छैन ।
पानागोपुलिसले निर्वाचनमा निकै प्रतिस्पर्धा भएको अवस्थामा निर्वाचनको अन्तिम नतिजा आउन निकै दिन लाग्नसक्ने बताए । न्युयोर्क सिभिल लिबर्टिज युनियनका कार्यकारी निर्देशक डोना लिबरम्यानले केही समुदायका सदस्यले मतदानै गर्न नसक्ने अवस्था हुनेमा चिन्ता व्यक्त गरे । उनले अनुपस्थित मत (एबसेन्टी ब्यालट)का लागि समय विस्तार गरे पनि अधिक मतदान हुन नसक्ने उल्लेख गरे । न्युयोर्कका मेयर माइकल ब्लुमबर्गले जे भए पनि निर्वाचन सम्पन्न गरिने र यो नगरले आयोजना गर्ने कार्यक्रम नभएको बताएका छन् । (एजेन्सी)
स्यान्डीले गर्दा न्युयोर्क म्याराथन रद्द
न्युयोर्कमा स्यान्डीको प्रभावबाट उम्कन स्थानीय बासिन्दा प्रयासरत रहेको अवस्थामा यहाँ आइतबार आयोजना हुने वार्षिक म्याराथन रद्द गरिएको जानकारी मेयर माइकल ब्लुमबर्गले दिएका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी गत ४० वर्षदेखि न्युयोर्क नगरको एक अभिन्न अंगको रूपमा रहेको म्याराथन रद्द गर्ने निर्णय गर्नु पर्दा आफूलाई दु:ख लागेको बताए ।
विज्ञप्तिमा यस कार्यक्रममा न्युयोर्कका दसाँै हजार बासिन्दाले भाग लिने र लाखौँले यसलाई अवलोकन गर्ने गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा उनले यस खेलले साहस तथा दृढताका अनेकौँ कथा दिएर यस नगरलाई अभिप्रेरित गरिरहेको उल्लेख छ ।
सोमबार राति आएको आँधीले न्युयोर्कलाई प्रभावित बनाएको थियो भने हाल यहाँ सफाइको काम चलिरहेको छ । यी बीच पनि आइतबार हुने यस खेललाई यथावत रूपमा अगाडि बढाउन ब्लुमबर्गले चाहनुभएको थियो । उक्त म्याराथनमा यस वर्ष करिब ४५ हजार नागरिकले भाग लिने अनुमान गरिएको थियो ।

प्रतिक्रिया