“हिसाबमा कमजोर थिएँ”

भाइबहिनीहरू † मेरो जन्म वि.सं. २००७ पुस २ गते काठमाडौंको कोटेश्वरमा भएको हो । एक दिदी पाँच दाजुभाइमध्ये म काहिँलो हुँ । आमा गृहिणी हुनुहुन्थ्यो भने बा खेतीपाती गर्नुहुन्थ्यो । हामी सानो हुँदा कोटेश्वर अनकन्टार गाउँ थियो । फाट्टफुट्ट घर थिए नत्र जताततै खेत र फाँट मात्र । वाग्मती नदीको बाढी र भेलले खेल नै खेल्थ्यो, जताततै जलमग्न । कसैको घर र कसैको बालीनाली नै स्वाहा पाथ्र्यो । टारमा भएका घरसम्म चाहिँ पानी जाने आँट गर्दैनथ्यो । अहिलेको कोटेश्वर त सिमेन्ट र कंक्रिटको जंगल भइसक्यो । चिन्नै गाह्रो, पत्याउनै साह्रो ।
सानोमा म शान्त, कम बोल्ने तर अन्याय सहन नसक्ने, अनुशासनप्रिय थिएँ । पढाइमा राम्रो थिएँ, कक्षाका उत्तम १० जनाभित्रै पर्थें । आफ्नै तरिकाले बिस्तारै प्रश्नको हल गर्थें, त्यसो गर्दा बेलाबेलामा प्रश्नहरू पनि छुट्थे । के हो के हो, हिसाबमा चाहिँ अलि कमजोर नै थिएँ । एसएलसीमा थ्योरम घोकेर बल्लतल्ल पास गरेँ । प्रथम हुने विद्यार्थीभन्दा नेपाली र अंग्रेजीमा जहिले पनि बढी अंक ल्याउँथे । एकदेखि पाँच कक्षासम्म गाउँकै सिनामंगलमा रहेको ‘गुह्येश्वरी आधार स्कुल’ मा पढेँ । त्यहाँ पढ्दा हरेक शुक्रबार ‘बालसभा’ भन्ने कार्यक्रममा भाग लिएर कहिले कविता, कहिले हँस्यौली र कहिले चुट्किला सुनाउँथे । मेरा खुट्टाले जुत्ताको साथ ६ कक्षामा मात्र पायो । स्कुल जाँदा पहिरनको कैरन यस्तो हुन्थ्यो– माथि कमिज, तल सुरुवाल र कालो छालाको जुत्ता ।
कहिले बिहान र कहिले दिउँसो पढाइ हुन्थ्यो । कहिले हातमा र कहिले छातीमा किताबकापी च्यापी आफूले लगाएको जुत्ता र सुरुवाल खोलेर वाग्मती नदी तर्थें । फेरि, लुगा लगाएर करिब एक घण्टा टाढा हिँडी ‘पद्मोदय स्कुल’मा पढ्न जान्थेँ । कखरा बाले पाटीमा अँगारको धुलो छरेर सेतो खरीले लेख्न र चिन्न सिकाउनुभयो । स्कुल जाँदा खाजा खाने वा लाने चलन थिएन । कहिलेकाहीँ खल्तीमा पैसा हुँदा टिफिन टाइममा जिब्रो फड्कार्दै तितौरा, बरफ अनि पिप्लामिन्टका गेडी खान्थेँ । बालवयमा जतिसुकै सोझो र शान्त भए पनि बालसुलभ चञ्चलता त हुन्छ नै । म पनि कहिलेकाहीँ बदमासी, चकचक, उपद्रो गरिटोपल्थेँ । बाटामा भेटिने बगैँचाका आरू, आरुबखडा ढुंगाले हानेर झार्थें । खानलाई हैन, निसाना लगाएर मज्जा लिनका लागि । ढुंगाले आरुबखडा झारेपछि म मनमनै ‘वाह † क्या गजबको निसाना’ भनेर दंग र फुरुंग पर्थें । साथीभाइसँग प्लेन हेर्न एयरपोर्ट पनि पुग्थेँ । प्लेन दुर्घटना हेर्न जान्थ्यौँ, कलिलो मुखले ‘च्वच्व र कठैकठै’ भन्दै । घरमा कसैले साइकल ल्याएमा त्यसलाई प्रेमपूर्वक नजरले हेर्दै बिग्रेला कि भनेर सानो हातले सुमसुमाउने गर्थें । सुमसुम्याएपछि एक छिन पाउदानी चलाउने र घण्टी बजाउन पनि बिर्सदैनथेँ । त्यसो गर्दा आनन्द आउँथ्यो । चलाउन त धेरैपछि मात्र सिकेँ । खेलकुदमा खासै रुचि थिएन तैपनि कहिलेकाहीँ कपर्दी, डन्डिबियो, भोगटेको बल खेल्थेँ । गोठाला जाँदा बाघचाल पनि खेल्थ्यौँ ।
गाउँमा पहिलोचोटि एकजनाकहाँ रेडियो बजेको सुन्दा छक्क र पक्क परेँ म । ‘अरे, त्यसबाट कसरी आवाज आउँछ’ भनेर अचम्म लाग्थ्यो । मेरो कलिलो दिमागले सोच्थ्यो, त्यस्तो कुरा घरमा ल्याउन पाए कति मज्जा आउँथ्यो होला । मलाई सर्प र विरोधी भावनाले आफूसँग कुरा गर्ने मानिसदेखि साह्रै डर लाग्थ्यो । म ठिकै खालको र जिउडालको बच्चा थिएँ । कोही–कोही गाउँले दाजुहरू मलाई देखेर भन्थे, ‘ए सानु † घरमा खाने बेलामा तँलाई बाहिर धपाउँछन् कि क्या हो †’ एकपटक स्कुलमा उपत्यकाव्यापी ‘नेपालीपन’ शीर्षकमा निबन्ध प्रतियोगिताको आयोजना हुँदा दोस्रो भएर पदकका साथै रमाइलो र गहकिलो पुस्तक पाएको थिएँ । मभित्र सानैदेखि फुच्चे साहित्यकार थियो । म विश्वज्योति हल र अन्य ठाउँमा हुने साहित्यिक जमघट तथा गोष्ठीहरू रमाएर हेर्न, सुन्न पुग्थेँ । सानोमा आफ्नो काम आपँैm गर्दा बडो आनन्द आउँथ्यो । गर्मी, जाडो नभनी आफूलाई पवित्र र सफा राख्न दौडिँदै टाढाको ढुंगेधारोमा बाँसको टोड्का थापेर दिनहुँ नुहाउँथे, जसबाट तन र मन दुवै खुस हुन्थे ।
स्कुलका मास्टरहरू पनि बडा कडा थिए । गृहकार्य नगर्नेलाई छडीले पिटेर सोतर नै पार्थे । पिसाब फेर्नसमेत जान दिँदैनथे । दिए पनि एउटाका पछि अर्को विद्यार्थी लगाई साँच्चैको पिसाब फेर्छ कि ढाँटेको हो भनेर चियो गर्न पठाउँथे । कोही खै कस्तो खालको कडाइ हो, बुझ्नै गाह्रो हुन्थ्यो । कुनै–कुनै मास्टरले त विद्यार्थीलाई पुरै बिजोग र संकटमा पारिदिन्थे । कक्षामा प्रश्न सोध्थे, जवाफ नदिनेलाई बेन्चमाथि उभ्याउँथे । सही जवाफ दिने विद्यार्थीचाहिँ ढुक्कले बेन्चमा बसी मख्ख भइरहन्थे । जवाफ नदिने साथीलाई चड्कन च्युरा दिन लगाउँथे, बिस्तारै पिटेमा उल्टै उसैलाई थङथिलो पार्थे । जे गर्दा पनि सुख थिएन, बडो चित्र विचित्रका मास्टर हुन्थे ।
त्यतिखेर म ७ कक्षामा पढ्थेँ । भक्तपुरको विरुवा र लामीडाँडा छुने ठाउँमा मामाघर थियो । दसैँमा कोटेश्वरबाट करिब डेढ घण्टा पैदल हिँडेर टीका थाप्न गएको थिएँ । मामा–माइजूले ‘झोलीको देवता’ भान्जा बाबु भन्दै निकै खातिरदारी गर्नुभयो । म दंग परेँ । मामाले टीका लगाइसकेपछि एकमुठी जति तामाको दुईपैसे ढ्याक दिनुभयो । उहाँको मुठी मेरो अँजुली भएछ, त्यत्रो पैसा दिएको देखेर म अतालिएँ । मेरो मुख रातो भयो तैपनि दंग परेर गोजीमा राखेँ । खाना खाइवरि बेलैमा घरको बाटो तताएँ । म ओह्रालोबाट ठ्याक्क मैदानमा पुगेँ । एकजना बूढीआमै उकालो लाग्ने तरखरमा हुनुहुन्थ्यो । मेरो पैसाको छिर्लिङ आवाज सुनेर हो कि के हो, पैसा माग्नुभयो । उहाँको अनुहार देखेर भित्रैबाट दिउँदिउँ लागेर आयो । मैले ३–४ वटा सिक्का झिकेर दिएँ । उहाँले आशिष दिनुभयो– ‘ईश्वर दाहिना हुन् †’ मैले खल्तीबाट फेरि ३–४ वटा सिक्का झिकेर दिएँ । आमैले फेरि आशिष दिनुभयो– ‘आँटो–पिठो जुरोस्, आँटेको पुगोस् ।’ पुन: ३–४ वटा सिक्का थपिदिएँ । आमैले भन्नुभयो– ‘नुहाउँदा केस नझरोस् ।’ मैले फेरि पनि ३–४ वटा सिक्का झिकेर दिएँ । आमैले आशिष पनि थप्नुभयो– ‘हिँड्दा ठेस नलागोस् ।’ अनि मैले गोजीमा हात हालेँ, त्यहाँ त पैसा नै थिएन । आमैको आशिषको भुलभुलैयामा परेर सबै पैसा सकिएछ । भित्रि मनबाटै दिएको हुनाले मलाई कहिले पछुतो भने लागेन । बरु, त्यो पैसा कसैको काम आयो भनेर अन्तरबाटै रमाएँ र गद्गद् भएँ ।
वि.सं. ०२१ सालमा पद्मोदय स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि मेरो स्कुले जीवनमा विश्राम लाग्यो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया