आरसिटी र हिमालयन शेर्पा क्वार्टरमा

पोखरा,१८ कात्तिक । यति हिमालयन शेर्पा क्लब दोस्रो सफल पोखरा कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल प्रवेशका क्रममा हिमालनय शेर्पाले शुक्रबार भएको खेलमा म्याक्डोवेल आरसिटीलाई टाइब्रेकरमा ५–४ बले पराजित गर्‍यो । टाइब्रेकरमा गणेश खड्काले हिमालयन शेर्पाका लागि विजयी गोल गरे । एक महिनाअघि एनसेल कपमा आरसिटीसँग नै पराजित हुँदै हिमालयन शेर्पा प्रतियोगिताबट बाहिरिएको थियो । नियमित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो ।
टाइब्रेकरमा हिमालयन शेर्पाका लागि पुकार गहतराज, रूपेश केसी, दिनेश कार्की, विश्व श्रेष्ठ र गणेश खड्काले गोल गरे । आरसिटीका युगल किशोर राई, ओलावाले, कृष्ण कुँवर र दिलीप क्षेत्रीले गोल गरे । आरसिटीका नरेश केसीको पेनाल्टी हिमालयनका गोलरक्षक नरेश केसीले बचाए । क्वार्टरफाइनलमा हिमालयनले बंगलादेश यु–२३ सँग खेल्नेछ । खेलमा आरसिटीले पहिलो आक्रमण गरे पनि चौथो मिनेटमै युगल किशोरको प्रहार साइडबारमा लागेर फर्केको थियो । आठौँ मिनेटमा ओलावालेको प्रहार हिमालयन गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए । २३ मिनेटपछि भने हिमालयन शेर्पाले खेलमा सुधार गरेको थियो । केही समयअघि मात्र थ्रीस्टार क्लब छाडेर हिमालयन शेर्पामा आबद्ध भएपछिको प्रशिक्षक मेघराज केसीको यो पहिलो खेल हो । खेलमा हिमालयनका विंगर गणेश खड्काले प्रभावकारी खेल खेलेका थिए ।
प्रतियोगितामा शनिबारदेखि क्वार्टरफाईनल चरणका खेलहरू सुरु हुनेछन् । शनिबार एनसेल कपको विजेता मनाङमस्र्याङदी र सशस्त्र प्रहरीको एपिएफबीच पहिलो क्वार्टरफाइनल खेल हुनेछ ।
यसअघि एपिएफ, एनआरटी र मछिन्द्र क्लब अन्तिम आठमा प्रवेश गरिसकेका छन् भने आयोजक पोखरा –११, फ्रेन्ड्स क्लब र पुलिस ंप्रतियोगिताबाट बाहिरिएका छन् ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा विदेशी तीनसहित १२ टिमको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ५ हजार र उपविजेताले नगद एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता २५ कात्तिकसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया