सिन्धुपाल्चोक,१८ कात्तिक । मासहिस्टेरियाका कारण मांखा–७ स्थित कुपकन्या माध्यमिक विद्यालयका २६ जना छात्रा बिरामी भएका छन् । यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि नै प्रत्येक दिनहँुजसो छात्रा बिरामी हुन थालेका हुन् ।
विद्यालयमा पाँच कक्षाभन्दा माथिका विद्यार्थीमा यो रोग देखा परेको प्रधानाध्यापक कृष्णप्रसाद नेपालले जानकारी दिए । बिरामी हुनेहरूको उमेर १२ वर्षभन्दा बढी भएको उनले बताए । विद्यार्थीहरू सुरुमा छटपटाउने, मुर्छा पर्ने, काम्ने र बेहोस हुने गरेका छन् । यो क्रम हरेक दिन दिउँसो १२ देखि १ बजेसम्म हुने गरेको नेपालले जानकारी दिए ।
विद्यार्थीको अवस्थाबारे अभिभावकलाई जानकारी गराउँदा उनीहरूले कुनै चासो नदेखाएको भन्दै प्रअ नेपालले चिन्ता व्यक्त गरेका छन् । बिरामीको संख्या दिनानुदिन बढे पनि नियमित रूपमा पठनपाठन सञ्चालन भइरहेको विद्यालयले जनाएको छ । ‘बिहान राम्रैसँग विद्यालय आउँछन्, दिउँसो एक्कासि के हुन्छ थाहै हुँदैन,’ उनले भने, ‘हामीलाई पढाउनसमेत समस्या भइसक्यो ।’
बिरामी छात्रा सरिता नेपाली आफूलाई कतिबेला के हुन्छ थाहै नपाउने बताउँछिन् । मांसा–७ की नेपालीले भनिन्, ‘स्कुल जाने बेला केही हुँदैन, पछि साथीहरूले भनेपछि मात्रै म बिरामी भएको थाहा पाउँछु ।’ उनकी आमा पार्वतीले भने घरमा छोरीलाई कहिल्यै यस्तो नभएकाले पत्याउन गाह्रो भएको बताइन् ।
रोगको प्रकोप बढ्दै गए पनि स्वास्थ्य कार्यालयले कुनै चासो नदेखाएको नेपालले बताए । बिहीबार एकैदिन दस छात्रा बिरामी भएका थिए ।
प्रतिक्रिया