“निलम” थामिए पनि सातको मृत्यु

चेन्नाई : बंगालको खाडीमा आएको समुद्री आँधी ‘निलम’ बाट भारतका तटीय राज्यहरू तमिलनाडु र आन्ध्रप्रदेशमा जनधनको त्यति क्षति भएन जति आँधी आउनुपूर्व अनुमान गरिएको थियो । यद्यपि, यसबाट तमिलनाडु र पुडुचेरीमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता छन् । आन्ध्रप्रदेशमा दुईजनाको मृत्यु भइसकेको छ ।
आँधीका कारण दुवै राज्यका तटीय क्षेत्रमा अझै पनि वर्षा भइरहेको छ । सम्बन्धित अधिकारीका अनुसार आँधी अब लगभग थामिइसकेको छ र यसबाट थप क्षति हुने आशंका पनि छैन । मौसम विभागका अधिकारीहरूले जनाएअनुसार निलमबाट धेरै क्षति नहुनुको कारण के हो भने तटसित ठोकिँदा त्यसको अधिकतम गति ७५ किलोमिटर प्रतिघन्टा मात्र थियो । विभागले पहिले ८० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिले उक्त आँधी आउने अनुमान गरेको थियो । तर, आँधीका कारण आन्ध्रप्रदेश र तमिलनाडु दुबै राज्यका तटीय क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।
आँधी र निरन्तर वर्षाले गर्दा माटो र बाँसले बनाइएका घर तथा झुपडीहरूमा क्षति पुगेको छ । आन्ध्र प्रदेशको नेल्लोरदेखि विशाखापट्टनमको सम्पूर्ण तटीय क्षेत्रका साथै रोयलसीमा क्षेत्रमा पनि बाली नष्ट भएको छ । अनेक ठाउँमा सडक चिरिएको वा भत्किएको छ, जसले गर्दा आवतजावत प्रभावित भएको छ ।
राजस्व सचिव जितेन्द्रनाथ स्वेनले भने, ‘निलमबाट के कति हानि–नोक्सानी वा क्षति भयो भन्ने सही आँकलन सार्वजनिक हुन केही दिन कुर्नुपर्ने हुन्छ ।’ उनले महाबलीपुरममा सुरक्षित स्थानमा लगिएका चार हजार मानिसलाई बिहीबार रातिसम्ममा उनीहरूका घर पुर्‍याइने कार्यक्रम रहेको पनि बताए ।  तमिलनाडुमा सबैभन्दा ठूलो घटना के देखियो भने एउटा जहाज तेज हावाले गर्दा तटसम्म आइपुग्यो । ‘प्रतिभा काबेरी’ नामक यो जहाज चेन्नाई बन्दरगाहमा ढुवानी झारेर मुम्बईतर्फ गइरहेका बेला आँधीको चपेटामा परेको थियो । जहाजमा ३७ कर्मचारी थिए । आँधी आएको देखेर आत्तिएका २२ जना कर्मचारी जहाजबाट हाम फालेका थिए । उनीहरूलाई उद्धार गर्न पठाइएको डुंगा पनि बीच बाटोमै पल्टिएको थियो ।
उनीहरूमध्ये दुईजनाको मृत्यु भयो भने अन्य ६ जना अझै फेला परेका छैनन् । खराब मौसमले गर्दा बुधबार ती बेपत्ताहरूको खोजी कार्य अगाडि बढ्न सकेको थिएन । खोजी कार्य भने जारी नै छ । यसका साथै तटमै आइपुगेको जहाजलाई पुन: समुद्रमा लैजाने कार्य पनि सुरु भएको छ ।
विस्थापित पाँच हजार व्यक्तिका लागि  खानेकुरा र पानीको बन्दोबस्त  गरिएको छ । चेन्नाईदेखि ५० किलोमिटर दक्षिणमा पर्ने ऐतिहासिक बन्दरगाह महाबालीपुरममा उक्त आँधीले सबैभन्दा बढी प्रभाव पारेको छ । गत जनवरीमा पनि यसै क्षेत्रमा आएको आँधीबाट ४२ व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया