४९ फर्मलाई वाणिज्यको निर्देशन

काठमाडौं, १६ कात्तिक । ४९ फर्मलाई मूल्यसूची राख्न तथा अद्यावधिक गर्न, लेबल नभएका सामान बिक्री नगर्न, व्यवसाय दर्ता तथा नवीकरण गर्न तथा खाद्य अनुज्ञापत्र पेस गर्न वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले निर्देशन दिएको छ ।
दसैँको अवसरमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले व्यापारिक फर्ममा भए गरेको असोज महिनाको अनुगमनसम्बन्धी प्रगति सार्वजनिक गर्दे विभागले सो जानकारी गराएको हो । विभागले बुधबार सार्वजनिक गरेको प्रगति समीक्षामा असोज महिनामा एक सय ७४ व्यापारिक फर्मको अनुगमन गरेको उल्लेख छ ।
यसैगरी, भ्याट वा प्यानको प्रमाणपत्र लिन र बिलविजक लिनदिन, म्याद नाघेका वस्तुको बिक्रीवितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको छ । सो अवधिमा अनियमित गर्ने तीन व्यवसायीको व्यवसाय बन्द गरिएको, चार व्यवसायीको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको, शुभश्री ट्रेडिङले लेबल नलगाई वस्तु बिक्री गरेकाले मुद्दा दायर गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी म्याद नाघेका एकसय ९७ दशमलव दुई लिटर हल्का पेय पदार्थ नष्ट गरिएको, दुई केजी चिल्ली सस, ६० लिटर जारको पानी, तीन सय एमएल जुस, ६० वटा रिसिप औषधि, छ केजी निम्की, नौ प्याकेट अनरसा, दुई सय ग्राम बुस्ट ६ वटा, विभिन्न प्रकारका बिस्कुट ४५ प्याकेट, चाउचाउ १० पिस, दुई केजी उपहार चिया, बिएमसी मसलालगायत सामग्री नष्ट गरिएको समीक्षा प्रतिवेदनमा छ ।
प्रतिवेदनमा सम्बद्ध व्यवसायीसँग परामर्श गरी अधिकतम खुद्रा मूल्य तोकिएको वस्तुको मूल्य पुनरावलोकन गरी प्रकाशन गरिएको जनाइएको छ । बडादसैँका अवसरमा उपभोक्तालाई उपभोग्य वस्तु खरिद गर्दा हुने ठगीबाट बचाउन उपत्यकालगायत पाँचै विकास क्षेत्रका सुनसरी, सिरहा, सप्तरी, सिन्धुली, बर्दिया, गुल्मी, डोटी, तनहुँ, स्याङ्जा, कास्की, बाग्लुङ, कञ्चनपुर, बाँके, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, नवलपरासी, चितवनसमेत जिल्लामा अनुगमन गर्नुका साथै मूल्य संकलन, वस्तुको तौल, उपभोग्य मिति, लेबल, ब्याचसमेतको अनुगमन गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया