“स्यान्डी” क्यानाडातिर

न्युयोर्क, १६ कात्तिक । संयुक्त राज्य अमेरिकाका पूर्वी तटीय राज्यहरूमा आएको समुद्री आँधी ‘स्यान्डी’ र अविरल वर्षाबाट बुधबार साँझसम्म ४० र क्यानाडामा १० गरी ५० व्यक्तिको मृत्यु भइसकेको छ । पूर्वी तटीय क्षेत्रका न्युयोर्क, न्युजर्सी, पेनसिलभानिया, मेरिल्यान्ड, वेस्ट भर्जिनिया, म्यानहटन र नर्थ क्यारोलाइना राज्यहरू बढी प्रभावित छन् ।

न्युयोर्कमा मात्र १८ व्यक्तिको मृत्यु भएको छ । आँधी प्रभावित बराज्यमा जनजीवन अस्तव्यस्त हुनुका साथै यातायात र विद्युत् सेवा पनि ठप्प भएको छ । न्युयोर्कको भूमिगत यातायात अझै सुचारु हुन सकेको छैन भने लाखौँ घरमा बिजुली अवरुद्ध छ । प्रारम्भिक अनुमानअनुसार यो आँधीबाट २० अर्ब अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्यान्डीले न्युयोर्क तथा न्युजर्सीमा भीषण प्रकोप उत्पन्न गराएको घोषणा गर्दै त्यहाँ र घर तथा व्यवसाय गुमाउने व्यक्तिका लागि संघीय सहयोग उपलब्ध गराउने घोषणा गरिसकेका छन् । राष्ट्रपति ओबामा आँधी–प्रभावित क्षेत्रको भ्रमण गर्दै राहत कार्यको निरीक्षण गरिरहेका छन् । एक अनुमानअनुसार आँधी र वर्षाले थुपारेको वा विनाश गरेका सबै कुरा सफा गर्न मात्र पनि ३० देखि ४० अर्ब डलर खर्च लाग्नेछ ।
पहिले क्यारेबियाई क्षेत्र र त्यसपछि अमेरिका हुँदै स्यान्डी आँधी अब क्यानाडातिर अगाडि बढिरहेको छ । (एजेन्सी)
स्यान्डी आँधी फेसबुककै चर्चित खबर
स्यान्डी आँधी यस वर्ष सामाजिक सञ्जाल फेसबुकमा दोस्रो सबैभन्दा चर्चित विषय बन्न पुगेको छ । एक सर्वेक्षणअनुसार स्यान्डीभन्दा धेरै केवल ‘सुपरबल गेम’ मात्र बढी चर्चित छ । फेसबुकले मंगलबार बिहान वासिंगटनमा स्थानीय समयअनुसार बिहान दस बजे गरेको सर्वेक्षण मत संकलनमा के देखियो भने अमेरिकामा फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुक वालमा सबैभन्दा धेरै पोस्ट गरेको वाक्य हो, ‘हामी सबै ठीकठाक छौँ ।’ सिएनएनले प्रसारित गरेको समाचारमा वर्ष २०१२ मा अहिलेसम्म योभन्दा धेरै चर्चा केवल गत फेब्रुवरीमा न्यु इंग्ल्यान्ड र न्युयोर्क जाइन्ट्सबीच भएको सुपरबल म्याचबारे भएको थियो । फेसबुकको ‘टकमिटर’ मा स्यान्डीलाई ८.३४ अंक प्राप्त भएको थियो । यस मिटरमा कुनै पनि समाचारमाथि हुने चर्चालाई एकदेखि दस अंक दिने गरिन्छ । सुपरबल म्याचलाई ८.६२ अंक दिइएको थियो । एजेन्सी

प्रतिक्रिया