‘म ढेंडुको हुलमा फुर्के ढेंडु’

म जुन समाजमा हुर्किएँ, त्यो उदार सामन्तवादी प्रकृतिको थियो । झापाको जमिनदारको छोरा, जग्गाजमिन प्रशस्तै थियो । खेतबारी कमाउने थुप्रै किसान थिए । आफू मेहनत गर्दैनथ्यौं तर हाम्रै भकारी सधैं भरि हुन्थ्यो । मरीमरी खेतमा काम गर्ने किसान जम्मा दुई–चार बोरा अन्न बोकेर हिँड््थे । यो कुराले मलाई बिझ्न थालेको थियो । भएभरको मेहनत गरेर पनि छाक टार्न पुग्ने अन्न नपाउने किसान देख्दा पीडा हुन्थ्यो । पिताजीलाई भन्न मन लाग्थ्यो । तर उहाँले मान्नुहुनेवाला थिएन ।
मेची क्याम्पस भर्ना भएसँगै पुस्तकालयतिर पनि जान थालें । दुइटा दराजमा त्यतिबेला प्रतिबन्धित माक्र्सवादी पुस्तक थिए । नेपाल कम्युनिस्ट पार्टीबारे २००६ देखि २०१० सालसम्म लेखिएका अनि पुष्पलालले लेखेका पुस्तक पनि थिए । ती पढ्दै जाँदा कम्युनिस्ट पार्टीतिर मेरो आकर्षण बढ्न थाल्यो ।
काठमाडौंबाट द्रोणाचार्य क्षत्री र खगेन्द्र प्रसाईं चिनियाँ कम्युनिस्ट आन्दोलनबारेका पुस्तकहरू ल्याइरहनु हुन्थ्यो । म पनि पढ्थें । तिनै पुस्तक मेरो प्रेरणास्रोत बने, मलाई माक्र्सवादी बनाए । २०२५ जेठतिर नेकपाको सदस्यता लिएँ, त्यो २०६० सालसम्म निरन्तर रह्यो । सधैंभरि पार्टीको निर्णायक तहमा बसेर काम गरें ।
सामन्त परिवारको मान्छे, आर्थिक अवस्था पनि राम्रो भएकाले पार्टीमा यसले कसैको चाकडी गरिरहन आवश्यकै पर्दैन भनेर कुरा काट्थे मबारे मानिसहरू । हुन पनि हो, मैले कसैको चाकडी गरिनँ । टिक्नकै लागि माधव नेपालको कुरामा होमा हो मिलाएको भए मलाई पार्टी कारबाही हुँदैनथ्यो होला । खासमा मैले एमाले छोडेको होइन, माधव नेपालले बलपूर्वक हटाए । झापा आन्दोलनकै बेला मैले सिकेको थिएँ, कम्युनिस्ट पार्टीमा चाकडी–चाप्लुसी चल्दैन भनेर । यही कुरा धेरैलाई सिकाएँ । जेजे हुन्छ, स्वाभिमानचाहिँ छोड्नु हुँदैन ।
कम्युनिस्ट पार्टीमा लागेको मान्छे राजाको मन्त्रिमण्डलमा गयो भनेर धेरैले आलोचना गरे । बाहिरी रूपमा त्यो ठीकै पनि हो । तर राजाको मन्त्रिमण्डलमा जानुको मेरो आशय कम्युनिस्ट व्यवस्था चाहिँदैन, दलीय व्यवस्था ठीक होइन भन्ने बिल्कुलै थिएन । सांगठनिक रूपमा स्वतन्त्र थिएँ तर वैचारिक हिसाबले कम्युनिस्ट आन्दोलनकै पेरिफेरीमा थिएँ ।
राजनीतिक रूपमा निष्क्रियजस्तै भएर बसेको थिएँ । मुलुकमा राजनीतिक द्वन्द्व चर्किएको थियो । राजाले भने– ‘दलहरूले द्वन्द्व व्यवस्थापन गर्न सकेनन्, मुलुक तहसनहस हुने भयो, कांग्रेस–एमालेले समस्या समाधान गर्न नसकेपछि मैले सत्ता लिएँ, राजनीतिक द्वन्द्वको समाधान राजनीतिबाटै हुनुपर्छ, मसँग त्यस्ता मान्छे छैनन्, तपाईं अहिले स्वतन्त्र हुनुहुन्छ, मुलुकको समस्या समाधान गर्न मलाई सहयोग गर्नुस् न ।’
संसद् भंग गरेर शासन हातमा लिएसँगै दल र राजाबीच पानी बाराबारको अवस्था थियो । सोचेँ– मुलुक समस्याहरूको दलदलमा फसिरहेका बेला राजा नि:स्वार्थ भावनाले समाधान निकाल्न चाहन्छन् र त्यसमा मेरो भूमिका आवश्यक पर्छ भने किन चुप लागेर बसौं । आखिर त्यति बेला मेरो अरू काम पनि केही थिएन । पैँतालीस मिनेटको वार्तामा राजाले मलाई पगाले । फेरि त्यतिबेला मुख्य समस्याका रूपमा रहेका माओवादीहरू ‘नोकरसँग होइन, मालिकसँग वार्ता गर्छौं’ भनेर राजातिरै लक्षित थिए । त्यसैका लागि राजाले मेरो भूमिका खोजेजस्तो लाग्यो । फेरि मेरो बुझाइ के पनि थियो भने राजाहरू हुकुममा चल्छन्, अरू लप्पनछप्पन जान्दैनन्, उनीहरूको शासन बोलीको भरमा चल्छ । त्यसैले जे भन्छन्, त्यही गर्छन् । राजा दोहोरो कुरा गर्ने, ढाँट्ने प्रवृत्तिका हुन्छन् भन्ने मलाई एकरत्ति पनि लागेको थिएन । त्यसैले विश्वास गरेँ ।
जब मन्त्रिमण्डलमा गएँ, राजाको स्वभाव र नियत बुझेर छक्कै परें । राजा पनि नेपालका नेताभन्दा कम चाप्लुसी रहेनछन् । नेताजस्तै कुरा एउटा गर्ने, काम अर्कै । बाहिर प्रजातन्त्रको बखान गरे पनि भित्री रूपमा सक्रिय राजा बन्ने उनको आकांक्षा प्रस्टै देखियो । उनको व्यवहार त्यही वातावरण निर्माण गर्न उद्यत थियो । मैले उनको बाहिरी कुरो पत्याएँ, भित्री रूपचाहिँ सरकारमा गएपछि मात्रै देखें । विश्वका धेरै मुलुकमा राजाहरूले राजनीतिक समस्याको सामाधानसहित गरिबी उन्मूलन गरेको देखिएको पनि छ । नेपालका राजाको पनि त्यही आकांक्षा होला भन्ने लागेको थियो तर होइन रहेछ ।
सरकारमा गएदेखि नै मैले तत्कालीन समस्याको निकासबारे राजालाई दर्जनौंपटक सुझाव दिएँ । राजनीतिक समस्या सामाधान र विकासनिर्माणबारे कहिलेकाहीँ घण्टौं कुरा हुन्थे । सुझाव नमाग्ने पनि होइनन् । दिएका सुझावहरू टिपेजसरी कागजमा लेखेझैं पनि गर्थे तर के लेख्थे–लेख्थे ।
छलफलमा बस्दा कहिले उनको अनुहार रातो हुन्थ्यो, कहिले कान राताराता पार्थे । अनि कहिले मुसुमुसु हाँसेर कुरो बुझेझैं मुन्टो हल्लाउँथे । यी सबै देख्दा लाग्थ्यो– उनी मुलुकका समस्याप्रति चिन्तित अनि गम्भीर छन् । तर, ज्ञानेन्द्र शाह त त्यही टाउको मात्रै हल्लाइरहने राजा पो रहेछन् । सायद अनुहारमा मुलुकका समस्याले दिलाएको पीरको प्रभाव दौडिएको होइन, बानी नै त्यस्तै रहेछ । एकदेखि तीन घन्टासम्मका छलफलमा प्राय: त्यसै गरिरहे । छलफलमा माओवादी वा कांग्रेससँग वार्ता गर्दा निस्कन सक्ने सामाधान, भारत र चीनसँग लिन सकिने सहयोग अनि वार्ताका सम्भावनाबारे सुझाव दिइन्थ्यो । तर ती विषय सधैं छलफलमा मात्रै सीमित भए । हरेक पटकको छलफल पछि उनी भन्थे– ‘अहिले हुँदैन, बेला भएको छैन ।’
२०६२ चैत १८ गते राजासँग पोखरामा तीन घण्टा लामो छलफल भयो । उनैले बोलाएर गएको थिएँ । अरू बेलाभन्दा अलि गम्भीर देखिन्थे । त्यही बेला मेरो अस्ट्रेलिया जाने कार्यक्रम तय गरिएको थियो । राजनीतिक द्वन्द्व चरम उत्कर्षमा पुगेका बेला ‘म विदेश जान्नँ बरु समस्याको समाधान निस्कने गरी सम्बन्धित पक्षसँग वार्ता गरौं’ भनें । माओवादीसँग वार्ता गर्नु जोखिम हुँदाहुँदै म आफैं त्यसका लागि वातावरण बनाउँछु भनेर आश्वस्त पार्न खोजें । तर मेरो कुरा सुन्दै सुनेनन्, विदेश जा पो भने ।
राजालाई राजनीतिक मान्छेभन्दा बढी विश्वास सेना र नोकरचाकरप्रति थियो । राजनीतिक मान्छेहरूको मध्यस्थतामा दलसँग कुरा गरौं भन्दा पनि मानेनन् । अरूको त कुरै छाडौं, कीर्तिनिधि विष्ट र तुलसी गिरीलाई पनि विश्वास गरेनन् । चीनले वार्ताका लागि बोलाएको थियो, त्यहाँ पनि सेनाकै मान्छे पठाए । जबकि चीनले सेनाको मान्छेलाई गन्दैगन्दैनथ्यो । उनीहरू राजनीतिक प्रतिनिधिसँग वार्ता गर्न चाहन्थे ।
सरकारमा गएको महिना दिन नबित्दै मलाई गल्ती महसुस भयो । राजालाई पत्याउनु ठूलो भूल थियो । त्यति बेला ममा राजनीतिक विचलन आएकै हो । तर त्यहाँबाट फर्किए पनि मैले गर्न सक्ने त के हुन्थ्यो र ? अरू विकल्प नरहेपछि जे त होला भनेर अन्तिमसम्मै मन्त्रिमण्डलमा बसें । छोडेर बीचमै आएको भए पनि दलहरूले मलाई ‘स्याबास, राम्रो गरिस्’ भन्नेवाला थिएनन् । नेपालका राजनीतिक पार्टी र सञ्चारमाध्यम सधैं तात्कालिक वातावरणको पछि लाग्छन् ।
सरकारमा बसे पनि मैले राजालाई दल वा जनतामाथि दमन गर्ने सल्लाह दिइँन । आफ्नो तर्फबाट निरंकुशता झल्कने कुनै काम गरिनँ । हीनताबोध हुने कुनै कदम उठाइनँ । बरु हीनताबोध छ त उही राजाले गरेको प्रजातन्त्रको कुरो पत्याएकोमा मात्र ।
राजालाई तीनवटा विकल्प दिएको थिएँ– कांग्रेस, माओवादी वा भारतसँग वार्ता गर्नुपर्छ भनेर । तर, मानेनन् । बेलैमा बुद्धि पुर्‍याएर यी तीन विकल्पलाई माध्यम बनाएका भए सायद उनले आजको परिस्थिति भोग्नु पर्दैनथ्यो । ज्ञानेन्द्रकै मूर्खताले राजसंस्था पतन हुनुका साथै मुलुक संकटमा परेको हो । उनी अन्तर्मुखी स्वभावका हुन् । आफूभित्र पालेको महत्त्वाकांक्षाअनुसारको बुद्धि र योजना उनीसँग पटक्कै छैन । त्यसैले त बुद्धिहीन महत्त्वाकांक्षीले भोग्नुपरेजस्तै हबिगत उनको पनि हुँदै छ ।
राजतन्त्र पतनपछि पनि जब राजाले ‘देश छाडेर विदेश जान्नँ’ भने, तब मलाई उनमा थोरै भए पनि राष्ट्रवाद रहेछ जस्तो चाहिँ लाग्यो । अन्यथा उनीसँगै अर्बौं नेपाली सम्पत्ति विदेश पुग्थ्यो । विस्तारै विदेशीले उनलाई हथकन्डा बनाउँथे । राजाका नाममा अनेकौं हिंसा हुन सक्थे । बुझेर वा नबुझेर जसरी यो निर्णय गरे, मलाई ठीक लागेको थियो । तर, आज फेरि जसरी भारतको चाकडी गर्दै छन्, यसले उनको राष्ट्रवादभित्र पनि अवसरवाद लुकेको प्रस्ट्याइदिएको छ ।
अहिले माओवादीले पैसाका बलमा आफ्ना सेनालाई थामथुम पार्ने काम गरेको छ । जसले जे भने पनि मुलुकलाई सहज रूपमा अगाडि लैजान माओवादीले नै दिँदैनन् । प्रचण्ड र बाबुरामले पार्टी र कार्यकर्तालाई धोका दिएका छन् । कांग्रेस, एमालेसँग मिलेर गणतन्त्रलाई बिच बाटैमा छोडिदिने काम उनीहरूबाट हुँदै छ । आन्दोलन सुरु गर्दाको प्रतिबद्धता र पार्टीमा खाएको कसम यही थियो त उनीहरूको ? तर दलहरूको यो दुर्दशा हुनुमा प्रत्यक्ष भूमिका राजाकै हो, उनले बुद्धि पुर्‍याएको भए मुलुक यो अवस्थामा हुने थिएन । यति बेला सांगठनिक रूपमा स्वतन्त्र छु तर चिन्तन जारी नै छ । मैले राजनीतिक रूपमा दुई पटक बल्ड्याङ खाएँ । लाग्दै छ– राजनीतिमा अरूलाई बल्ड्याङ खुवाउने मात्र होइन, आफू पनि खाइँदो रहेछ । पहिलोचोटि माधव नेपाललाई पत्याएर बल्ड्याङ खाएँ, अर्कोचोटि ज्ञानेन्द्रलाई पत्याएर ।
अहिले माओवादी भएको छु तर भूमिकाविहीन छु । बुझ्दै छु– माओवादीलाई बन्दुक बोक्ने मान्छे मात्र चाहिँदो रहेछ । एमाले वा अन्तबाट माओवादीमा गएकाहरू पनि थन्किएर बसेका छन् । उनीहरूको कुरा सुनेर हाँस्नुबाहेक दोस्रो काम छैन । ढेडुको हुलमा मिसिएको फुर्के ढेडुजस्तै भएको छु माआवादीभित्र म ।

– माधव नेपालको चाकडी गरेको भए कारबाहीमा पर्दैनथें होला
– राजाले ढााट्लान् भन्ने एकरत्ति पनि लागेको थिएन
– राजाको सरकारमा गए पनि वैचारिक हिसाबले कम्युनिस्टै थिएा
– ज्ञानेन्द्र टाउको मात्रै हल्लाइरहने राजा रहेछन्
– राजालाई हाम्रो भन्दा बढी विश्वास सेना र नोकरचाकरप्रति थियो
– महिना दिन नबित्दै मलाई गल्ती महसुस भयो
– नेताहरूले पनि नौ अर्ब सिध्याए तर संविधान लेखेनन्
– प्रचण्ड–बाबुरामले कार्यकर्तालाई धोका दिए, गणतन्त्र बिचैमा छाड्दै छन्
– माओवादीभित्र ढेडुको हुलमा मिसिएको फुर्के ढेडु भएको छु

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया