‘युद्धमा कति रोएँ कति’

समाजमा देखिएको लिंगीय विभेद पम्फा भुसाललाई पटक्कै मन परेन । किन गरिन्छ छोराछोरीबीच विभेद ? समानतापूर्ण समाज निर्माण सम्भव छैन ? यी र यस्तै प्रश्नले वर्षौंसम्म उनको मस्तिष्क खलबल्याइरहे । यिनै प्रश्नको समाधान खोज्ने मेलो समात्दै कम्युनिस्ट राजनीतिमा लागेकी पम्फा अहिले वामपन्थी मोर्चाका निर्णायक तह सम्हालेर बसेका महिलाको सूचीमा पर्छिन् । नेकपा–माओवादीकी नेत्री पम्फासँग बाह्रवर्षे जनयुद्धका क्रममा सँगालेका तितामीठा अनुभव पनि प्रशस्तै छन् । कसरी सुरु भयो उनको राजनीतिक जीवन ? कस्तो थियो जनयुद्धमा उनको भूमिका ? उनी सम्झँदै छिन् :
धेरै छोरी भएको परिवारमा जन्मेँ । आफ्नो परिवारभित्र मैले कुनै विभेद सहनुपरेन । तर, वरपर यस्ता थुप्रै घटना देखेँ, जहाँ छोरीहरू हरेक दृष्टिले दोस्रो दर्जामा राखिएका हुन्थे । अवसरमा विभेद गरिएको हुन्थ्यो । यी सबै दृष्टान्तले मभित्र विद्रोही भावना उर्लन थाल्यो ।
सानै उमेरदेखि म नडराउने, जे गर्न पनि अघि सर्ने गर्थें । मलाई हेरेर कस्तो छोराको जस्तो स्वभाव भन्थे मानिसहरू । मलाई यो पटक्कै मन पर्दैनथ्यो । मेरो प्रशंसा गरे पनि यहाँ छोरीको क्षमतालाई कम आँकेर पुरुषलाई माथि देखाइएको थियो । मनमा खुल्दुली मच्चियो– कुनै पनि साहसी काम छोरीले गरे त्यसलाई स्वीकार्न किन कन्जुस्याइँ गरिन्छ ? मेरो क्षमतालाई किन छोरासँग तुलना गर्नु ?
यस्तै भावनाहरूले मभित्र उत्सुकता सिर्जना गर्न थाले । विश्वभरिका साहसी महिलाबारे अध्ययन सुरु गरेँ । इजरायलकी गदामेयर, श्रीलंकाकी बन्दरानाइके, भारतकी इन्दिरा गान्धी, बेलायतकी एलिजाबेथ द्वितीया । यी महिलाले सरकारको नेतृत्व गरेर मुलुक चलाउनेसम्मको साहस गरेको पाएँ । नेपालमा पनि त्यति बेला चर्चामा रहेका कोमल राणा, कमल शाह, इन्दिरा श्रेष्ठ, सुशीला थापाको नाम सुनेँे । मन्त्री पदमा रहेर मन्त्रालय सम्हालेका यी नारीले त्यो समाजमा चुलोचौकोबाट बाहिर निस्किने जुन साहस देखाए, त्यो पनि ठूलै कुरा लाग्यो । उनीहरूलगायतकै संलग्नतामा महिला संघ पनि बनेका रहेछन् । यो बेलासम्म मेरा लागि यी सबै उत्सुकतापूर्ण र रोचक विषय मात्रै थिए, कुनै दर्शन वा सिद्धान्तबारे बुझिसकेकी थिइनँ ।
०३२ सालमा संविधान संशोधन भयो, ३६ वर्षे उमेरसम्म बिहे नगरी बसेकी छोरीले अंश पाउने भनेर । मलाई लाग्यो– सबै प्रकारका भेदभावको सम्बन्ध राज्यसँग हुँदो रहेछ । र, राजनीतिबाट मात्रै यसमा आमूल परिवर्तन गर्न सकिने रहेछ । स्कुलमा वामपन्थी राजनीतिक गतिविधि हुन्थ्यो, त्यसैको प्रभाव ममा पर्‍यो । कम्युनिस्ट पार्टी सबै प्रकारका भेदभावबाट मुक्त हुन्छ भन्ने मलाई लाग्यो । ०३३ सालमा अनेरास्ववियुको सदस्यता लिएँ । अब, मेरो संगठित राजनीतिक यात्रा सुरु भयो । त्यति बेला टंक भुषालको पहलमा पीताम्बर आचार्यले सदस्यता दिलाउनुभएको थियो । ०३७ सालमा आएर नेकपा चौथोको सदस्यता लिएँ, नरबहादुर कर्माचार्यबाट । राजनीतिक संलग्नताहरू बढ्दै गए, थुप्रै वामपन्थीहरूसँग संगत भयो । थप बुझ्दै गएँ । राज्यव्यवस्था फेरिँदै गए, तर विभेदहरू ज्यँुका त्युँ रहे । विभेदमुखी राज्यविरुद्ध हाम्रो संघर्ष चली नै रह्यो ।
२०५२ सालमा हामीले गोर्खामा बैठक बसेर मुलुकको आमूल परिवर्तनका लागि जनयुद्धमा जाने निर्णय गर्‍यौँ । बैठकमा सहभागी १९ जनामध्ये महिला म मात्रै थिएँ । निर्णयसँगै हामी थप उत्साही अनि रोमाञ्चित थियौँ । गौरव महसुस हुँदै थियो । नेपालमा कम्युनिस्ट पार्टीहरूले परिवर्तन अनि क्रान्तिका कुरालाई सिद्धान्तमा मात्रै सीमित राखिरहँदा हामी व्यवहारमै क्रान्ति सुरु गर्दै थियौँ । हामीले उति बेलै सोचेका थियौँ– हामीमध्ये सबै वा केही केन्द्रीय सदस्य सहिद पनि हुन सक्छौँ क्रान्तिमा । सबै जना गिरफ्तार पनि हुन सक्छौँ । हामी सबै सकिएछौँ नै भने पनि पछिल्लो पुस्ताले क्रान्तिको झन्डा बोक्नेछ । हामीले बाटो बनाइदिनुपर्छ । बाँच्यौँ भने त फेरि पनि भेला भएर क्रान्ति गरिहाल्छौँ । बैठकसँगै यही संकल्प गरेका थियौँ । एकमतले युद्धमा जाने निर्णय गरियो । हामी सबै सहीद भए पनि ढिलोचाँडो क्रान्ति सफल हुन्छ भन्नेमा बिश्वस्त थियौँ ।
त्यति बेला अहिलेजस्तो जनजाति, महिलालाई आरक्षण चाहिन्छ भन्ने थिएन । म महिलाका लागि मात्र होइन, सबै जनता र मुलुकको परिवर्तनको लागि भनेर राजनीतिमा लागेको थिएँ । मेरो जिम्मेवारी फौजीतिर थिएन, सांगठनिक संरचना बढाउनु थियो । तैपनि, सुरक्षाका लागि सधैँ माउजर बोक्थे । चलाउन त आउँथ्यो तर चलाउन परेन । हाम्रा लागि पार्टीभित्रबाटै आन्तरिक सुरक्षाव्यवस्था मिलाइएको थियो । युद्ध सुरु भएको पहिलो एक्सनमै म धेरै उत्साही थिएँ । डरत्रास कहिँ कतै थिएन । फैसला आपैँmले गरेका थियौँ, कि मुक्ति कि मृत्यु । यीमध्ये जुनसुकै परिणाम स्वीकार्य थियो ।
सुरुका दिनमा कताबाट सेना–पुलिस आउने हो भनेर होसियारी अपनाइन्थ्यो । पछि त सबै क्षेत्रमा हामी सुरक्षित थियौँ । जिल्ला सदरमुकामबाहिर सेना पुलिस निस्कने अवस्था थिएन । आए पनि हामीलाई पहिल्यै थाहा हुन्थ्यो । सेनाको ब्यारेकनजिक वा सहरतिर हाम्रा सुराकी हुन्थे, उनीहरूले सूचना दिइहाल्थे । त्यसैका आधारमा हामी सुरक्षित स्थानमा जाने वा एक्सन लिने निर्णय गथ्र्यौं ।
सुरुवातमा नमुना कार्यक्रम तय गरिएको थियो । गोर्खामा कृषि बिकास बैंक, काभ्रेमा सामन्त सफायम, सिन्धुली चौकी आक्रमण, रुकुम प्रहरी चौकी आक्रमणलगायत कार्यक्रम सफल भए । रोल्पामा प्रहरीचौकी आक्रमण आंशिक रूपमा सफल भयो । पहिलो कारबाहीमा कतै पनि हतियार हात लागेन । तैपनि, हामी अति नै उत्साही थियौँ ।
युद्ध सुरु भएको तेह्रांै दिनमा गोर्खामा प्रहरीको गोली लागेर दिलबहादुर रम्तेल सहिद भए । उनीसँग भेटघाट थिएन तैपनि मन चसक्क भयो, आँखा रसायो । हाम्रो आन्दोलनका पहिलो सहिद हुन् उनी । भोलिपल्ट रुकुमको एउटै गाउँमा छ जना खत्री बन्धुहरूको हत्या भयो । यसरी योद्धाहरू सहिद हुँदा दु:ख लाग्थ्यो । सँगसँगै बदला लिनुपर्छ भन्ने भावना बलियो बनेर आउँथ्यो । करिब दस महिनापछि रामेछापको बेथानमा प्रहरीचौकी आक्रमण सफल भयो । तर, लामो समय सँगै काम गरेका तीर्थ गौतम र दिलमायालगायत तीन जना होनहार साथी सहिद हुनुभयो । आक्रमण सफल भएकोमा खुसी भए पनि साथी गुमाउनुपरेकोमा रुन मन लाग्थ्यो । युद्ध सुरु भएपछि पहिलो पटक म साह्रै दु:खी भएँ यति बेला । नेपालको इतिहासमा धेरै जना सहिद भए । तर, राज्यको बन्दुक बोकेको प्रहरीसँग आमनेसामने भएर सहिद हुने पहिलो महिलाचाहिँ तिनै दिलमाया हुन् भन्ने लाग्छ मलाई ।
सहिद भएका साथीहरूको अनुहार बिर्सन खोजे पनि सकिँदैनथ्यो । यिनै कारणले जति कठोर बन्ने प्रयास गरे पनि आँसु त आई नै हाल्थ्यो । रुकुम र डोल्पाको सीमानामा भएको कारबाहीमा विजय घले सहीद भए, उनी होनहार योद्धा थिए । चौकी कब्जा गर्ने योजना थियो त्यति बेला तर सफल भएन । उल्टै कमान्डर विजयलाई गुमाउनुपर्‍यो । पछिका दिनमा सहिदको संख्या बढ्दै गयो । माथिल्लो तहका नेता सुरेश वाग्ले पनि सहिद हुनुभयो ।
एक पटक केन्द्रीय कमिटीको बैठकमा सहभागी भएर कार्यक्षेत्र जाँदै गर्दा दुई जना केन्द्रीय नेता एकैपटक सिराहामा सहिद भए । शेरमान कुँवर र मोहन गौतम नामका ती दुवै सिन्धुलीका थिए । यसरी धेरै नेता–कार्यकर्ता गुमाउनुपर्दा दु:ख लाग्थ्यो, रुन मन लाग्थ्यो । आखिर मान्छे हौँ, समाज परिवर्तनको आकांक्षा बोकेर हिँडेको सँगैको साथी गुमाउनुपर्दा मन भक्कानिनु स्वाभाविकै पनि हो ।
रोल्पा हाम्रा लागि राम्रो क्षेत्र भएर पनि बाह्रबुँदे सम्झौतापछि केन्द्रीय सदस्य किमबहादुर थापा ‘सुनील’ सहीद हुनुभयो । त्यति बेला म स्याङ्जामा थिएँ । म आफू पनि धेरै पटक मिनेट–मिनेटको फरकले मात्र बाँचेकी हुँ । एकचोटि कैलालीको रामशिखरझालास्थित सेल्टरमा थिएँ । लम्की प्रहरीचौकी कारबाहीको फौजी योजना बनाउँदै बसेका थियौँ । सेना आएछ । एउटा घरलाई सम्पर्क स्थान बनाएको थियौँ । घरको पछाडि हुँदै जंगलतिर पसेर बाँच्यौँ । मैले जनयुद्धभरि नै जंगलमा रात बिताएको चाहिँ त्यही एकपटक मात्रै हो । नत्र सधैँ जनताकै घरमा बसेँ ।
संकटकालताका सेती–महाकाली मेरो जिम्मामा थियो । बसाइ प्राय: कैलाली–कञ्चनपुरतिर हुन्थ्यो । त्यही बेला एउटा घटनामा एघार जना साथीको मृत्यु भयो । एक जना मात्र बाँचे । घटनाको तीन दिनपछि मात्र ती साथीसँग भेट हुन पायो । एघार जना गुमेको पीडाबीच एउटा साथी आउँदा खुसी पनि लाग्थ्यो । यस्ता परिस्थिति अरू पनि थुप्रै भोग्नुपथ्र्यो । केही समयअघि सँगै बसेका साथी केही छिनमै सहिद भएको खबर सुन्नु सामान्य थियो, तर दु:ख निकै लाग्थ्यो । कहिले सयौं सहिद भएको सुन्नुपथ्र्याे । अहिलेजस्तो सञ्चारको सजिलो थिएन । घटना भएको र यति सहिद भए भन्ने थाहा हुन्थ्यो तर को–को सहिद भए भए भन्ने धेरै पछिसम्म पनि पत्तो हुँदैनथ्यो ।
०६२ को अन्तिमतिर पाल्पा सदरमुकाम कब्जा गर्‍यौँ । नवलपरासीमा रोड एम्बुस थियो । आक्रमणपछि सेनाले चार दिनसम्म आफ्नो लास उठाउन सकेको थिएन । सेना नभएको रुट भनेर हामी जाँदै थियौँ तर सेना त्यहीँ रहेछ । उनीहरूले फायर खोले । हाम्रो पनि चारवटा डिभिजन थियो, फायर खोल्दै पछाडि हट्यौँ । यसपालि पनि म अन्तिम पटक सेकेन्डले बाँचेँ । छन पनि सेकेन्ड सेकेन्डमा खतरा थियो, ठाउँ र परिस्थितिअनुसार भेष बदलेर हिँडियो । जुन ठाउँ र समुदायमा पुगेँ त्यहीको रहनसहनअनुसार कपडा लगाएँ । कतै लुँगी, धोती, सारी त कतै कुर्तासुरुवाल, पाइन्ट ।
युद्धमा लागेको आठ वर्षपछि मात्रै बुबाआमासँग भेट भयो । दोस्रो वार्ताकालमा घरमा आएँ । आमाबुबा धेरै रुनुभयो । छोरी जिउँदै छे भन्नेचाहिँ उहाँहरूलाई थाहा थियो । फोनमा सम्पर्क भइरहन्थ्यो । युद्ध अवधिभर हरेक दिन उहाँहरू घण्टाघण्टामा समाचार सुनिरहनुहुन्थ्यो । भ्याए बुबाआमा दुवै सँगै बसेर, नत्र पालैपालो । समाचार सुन्दै मलाई सम्झेर रुनुहुन्थ्यो । त्यसपछि एकैचोटि शान्तिप्रक्रियामा आएपछि मात्रै घर गएँ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया