इरानी महिलालाई पढाइमा पनि निषेध

केही दिनअघिको एउटा खबरले विश्वभरका महिलाको मन दुखायो । इरानमा महिलालाई विभिन्न विषय पढ्न निषेध गरिएको खबरले इरानका महिला मात्र नभएर विश्वभरका महिलालाई नै आश्चर्यमा पार्‍यो । महिलाप्रति विभिन्न मुस्लिम तथा अति पितृसत्तात्मक राष्ट्रहरू उदार हुँदै गइरहेको अवस्थामा इरानले किन यस्तो खाले निर्णय गर्‍यो ? अचम्मित पारेको छ ।
इरानको सन्दर्भमा महिलाप्रति गर्ने व्यवहार सँधै नकारात्मक भने होइन । महिलालाई प्रोत्साहन गर्ने राष्ट्रका रूपमै लिइन्थ्यो । इरान त्यो राष्ट्र हो, जसले मध्यपूर्वमै सबैभन्दा पहिले महिलालाई विश्वविद्यालयबाट शिक्षा लिनका लागि इजाजत दिएको थियो । इरानमा सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि महिलालाई उच्च शिक्षामा सामेल हुन प्रोत्साहन गर्न थालियो । सन् २००१ सम्म आइपुग्दा पुरुषका तुलनामा शिक्षा क्षेत्रमा महिलाको संख्या बढेको थियो ।
विश्वविद्यालयमा महिलाको संख्यामा दिनानुदिन उल्लेख्य वृद्धि हुन थाल्यो । आफू अनुकुल स्वतन्त्र हुन र आफ्नो जिन्दगी उल्लासमय हिसाबले जिउन महिलालाई शिक्षा खुब फाप्यो । यो सबै आर्थिक स्वतन्त्रताका कारण सम्भव थियो र शिक्षाले त्यसै गर्‍यो पनि । तर, सन् २००९ मा भएको विरोध प्रदर्शनपछि इरानमा रुढिवादी नेताको पकड बलियो हुन पुग्यो । नेता आयातुल्लाह अली खोमेनीले विश्वविद्यालयमा ‘इस्लामीकरण’ को माग अघि सारे । यसपछि पुन: इरानमा महिलालाई ओझेल पार्ने काम भयो । र, त्यसको मूर्तरूप अहिले आएर देखापरेको छ ।
अहिले इरानका ३० ओटा विश्वविद्यालयले अलगअलग ८० ओटा विषय पढ्न महिलालाई निषेध गरेका छन् । ती विषयहरूमा इन्जिनियरिंग, भौतिक शास्त्र, कम्प्युटर विज्ञान, पुरातत्व शास्त्र तथा अंग्रेजी साहित्यलगायत छन् । यो निषेधको विश्वस्तरबाट चर्को विरोध भएको छ । इरानकी नोबेल पुरस्कार विजेता सिरिन इबादीले यसको चर्को विरोध गरेकी छिन् । उनले त्यस कदमलाई प्रशासन क्षेत्रमा महिलाको पहुँच सीमित राख्ने तथा समाजमा पनि कम सक्रिय राख्ने षड्यन्त्र भएको बताएकी छिन् । (एजेन्सी)

प्रतिक्रिया