दसैंमा सेलिब्रिटीको दक्षिणा

सौगात मल्ल : यसपालि गाउँको घर जान पाइनँ । केही समस्याका कारण टीका पनि हिजो मात्रै लाइयो । ढिलै भए पनि बुबाआमाकै हातबाट लगाइयो । दक्षिणाचाहिँ लिनेभन्दा पनि बढी दिएँ भन्नु पर्‍यो । दिदीबहिनी, भिनाजु आदिलाई गरेर दुई हजार रुपियाँ दक्षिणामा खर्च गरेँ । अन्त कतै गएर टीका लगाउन नमिलेपछि आफूलाई दक्षिणा मिल्ने त कुरै भएन नि, हैन र †

गरिमा पन्त : दसैंका लागि तनहुँमा आइपुगेकी छु । केही दिनपछि फर्कन्छु । अंकलहरूकोमा अनि मामाघरमा गएर टीका थापियो । मैले टीका लगाएर दक्षिणा दिनुपर्ने कोही छैन । दिदीकी एउटी छोरीलाई मात्र हो । त्यसैले मैले त लिने मात्र हो । अहिलेसम्म पनि टीका जारी छ । पूर्णिमाको दिन मात्र दक्षिणा गन्छु । अहिले पनि तीन हजार जति त पक्कै पुग्यो होला । सानोमा भए त दक्षिणाको खुब महत्त्व लाग्थ्यो, हात पर्नासाथ गनिहालिन्थ्यो ।

अनु शाह : हजुरबुबा बित्नु भएकाले यसपालि टीका लगाउन पाइएन । अघिल्लो दसैँमा त पाँच हजार दक्षिणा जम्मा गरेकी थिएँ । मैले दक्षिणा दिनुपर्ने कोही छैन । त्यसैले म त नाफामै हुन्थें ।

निरज बराल : यसपटकको टीका विगतभन्दा स्मरणीय रह्यो । मामाघर, ससुराली सबै ठाउँ भ्याइयो । दक्षिणाभन्दा पनि मलाई यसपटक आशीर्वाद महत्त्वपूर्ण लाग्यो । सानो छँदा पो दक्षिणाको महत्त्व हुन्थ्यो त † तैपनि भन्नैपर्दा यसपालि आउने र जाने बराबर भयो होला । केही ठाउँमा लिइयो, केही ठाउँमा दिइयो ।

सौजन्य सुब्बा : मेरो यसपालिको दसैँ एकदम राम्रो भयो । यसअघिका केही दसँैमा विदेशमा कार्यक्रम गर्न जानुपरेकाले टीका लगाउन पाएकी थिइनँ । यसपालि गाउँ नै जान नपाए पनि आमाबाबा, आन्टीलगायत सबैका हातबाट टीका थाप्न पाएँ । आमाले टीका लगाइदिएर लक्ष्मीको तस्वीर अंकित चाँदीको क्वाइन दिनुभयो । हजुरआमा र मामाहरूले दक्षिणा दिनुभयो । सबैभन्दा बढी दक्षिणा दिने साहिँलो मामा हो, सात सय दिनुभएछ । दक्षिणा सम्झेर सानोमा जस्तो रमाइलो अहिले लाग्दैन । यसपालि पच्चीस सयजति संकलन भयो । टीका लगाएर मैले दक्षिणा दिनुपर्ने पनि केही छन् । यसमा मेरो दुई हजार खर्च भएछ ।

अन्जु निरौला : यसपालि तीन दिनसम्म टीकाका लागि हिँडियो । मामाघर पुगियो । दक्षिणा पनि पाइयो । यति नै भयो भनेर गनिएन तर आफूले दक्षिणा दिनुपर्ने कोही नभएकाले म त फाइदामै छु । सानो बेलामा छँदा दक्षिणा खुब गनिन्थ्यो । साथीभाइमा कसको बढी भनेर सोधखोज गरिन्थ्यो । अहिले त्यस्तो लाग्दैन ।

दिव्येश्वर गौतम : यो दसैँ पूरै परिवारसँग मनाएँ । टीका पनि रमाइलो भयो । ससुराली, मामाघर सबैतिर पुगियो । अब दक्षिणा यति नै भयो भनेर चाहिँ गनिएन । लिनुपर्ने ठाउँमा लिइयो तर दिनुपर्ने ठाउँमा थप्दै, घटाउँदै दिइयो पनि । यसो गर्दा बराबरजस्तो पो भएछु क्यारे म त । त्यसो त अहिले दक्षिणाभन्दा पनि आशीर्वाद ठूलो कुरा लाग्छ ।

ऋचा शर्मा : यसपटकको दसैँ पनि विगतझैँ काठमाडौंमै मनाएँ । बुबाको निधनपछि काठमाडौंमै मनाउन थालियो । आमा, मामामाइजूको हातबाट टीका थापेँ । कसले कति दिनुभयो त थाहा छैन, तर दक्षिणाबाट चार हजार जम्मा भएछ । सानो छँदा दक्षिणातिरै ध्यान हुने भएकाले योभन्दा पनि धेरै जम्मा हुन्थ्यो ।

प्रतिक्रिया