वाइन पिएर मस्त हुन्छन् लंगुर

केपटाउन : त्यसो त केपटाउन जनसंख्याको हिसाबले दक्षिण अफ्रिकाको दोस्रो ठूलो सहर हो जहाँ लंगुर बाँदर निकै धेरै संख्यामा पाइन्छन् । यी लंगुर मानिसहरूको बसोबास रहेका क्षेत्रहरूमा भोजन खोज्दै आइपुग्छन् । अनि त्यसपछि सुरु हुन्छ मानिस र यी लंगुरबीचको द्वन्द्व र टकराहट । यसमा लंगुरलाई बढी फाइदा हुन्छ किनभने उनीहरूलाई संरक्षित प्रजातिको विशेष दर्जा प्राप्त छ ।
केपटाउनमा बेलाबखत सुनिरहनुपर्ने गोलीको आवाज सुन्दा जोकोहीलाई लाग्न सक्छ– त्यहाँ कुनै युद्ध लडिँदै छ होला, तर खासमा ती गोली त लंगुरलाई धपाउन पो पड्काइएका हुन्छन् । गोलीको आवाज सुनेर लंगुर मानवबस्तीबाट टाप कस्छन् । वास्तवमा गोलीको प्रयोग केपटाउनमा लंगुर धपाउन प्रयोगमा ल्याइएका केही तरिकामध्येकै एक हो । फिल्ड रेन्जर फिलानी मेयो भन्छन्, ‘हाम्रो काम यी लंगुर बाँदरको निगरानी गर्नु हो । हामीले यी लंगुर कहाँ र कता आइजाई गर्छन् भनेर हेर्ने गर्छौं । हाम्रो मूलकाम यी लंगुरलाई मानवबस्तीबाट टाढा राख्नु हो ।’
फिल्ड रेन्जर फिलानी मेयो दिनभरिजसो ती लंगुरमाथि निगरानी गरिरहेका हुन्छन् । पछिल्लो लामो समयदेखि यही काम गर्दै आइरहेको हुँदा उनी थुप्रै लंगुरलाई चिन्ने पनि भइसकेका छन् भने कतिको त उनले न्वारन नै गरिदिएका छन् । अझ के पनि छ भने यी लंगुरहरूमा खास किसिमको डिभाइस जडान गरिएको छ जसबाट उनीहरू कतिबेला कहाँ हुन्छन् भन्ने थाहा हुन्छ ।
फिलानीका अनुसार लंगुर रहेको ठाउँ पत्ता लागेपछि तत्कालै त्यहाँबाट धपाइन्छ जसले गर्दा लंगुरले रैथाने मानिसलाई कुनै पनि किसिमले दु:ख दिन नसकोस् । उनी भन्छन्, ‘हामी यी लंगुरलाई मानवबस्तीबाट टाढा जंगलतिर धपाउने प्रयास गर्छौं । हामीमाथि दोहोरो जिम्मेवारी छ– एकातिर मानिसलाई लंगुरबाट बचाउनुपर्ने हुन्छ भने अर्कोतिर लंगुरलाई कुनै हानि–नोक्सानी पुग्न नपाओस् भनेर पनि उत्तिकै चनाखो रहनुपर्ने हुन्छ ।
केपटाउनको जनसंख्या बढ्दै गएको दाँजोमा सहरको पनि विस्तार हुँदै गयो तर सहरको विस्तारले लंगुरहरूको प्राकृतिक वासस्थान खुम्चिँदै गयो । परिणाम के भयो भने लंगुर पहिलेपहिले त मानिससित डराउँथे तर अब मानिसकै नजिक आउन थाले । भोजनको खोजीमा यी लंगुर अब मानिसको खाद्यान्नस्थलमै आक्रमण गर्न आउन थालेका छन् । कतिपय अवसरमा त खाना देखेर त्यो भोजन गर्न नपाउँदा यी लंगुर उग्र व्यवहारमा उत्रिने पनि गर्छन् । पर्यटकहरूले यो समस्यालाई अझ बढाइदिएका छन् । अर्का एकजना रेन्जर मार्क डफेल्स भन्छन्, ‘पर्यटक आउँछन् र जान्छन् । उनीहरूलाई के लाग्छ भने लंगुर भोकै छन् । त्यसकारण उनीहरू लंगुरलाई खाने कुरा दिन्छन् । यसले गर्दा लंगुर अझ धेरै मात्रामा मानिससित नजिकिन थालेका छन् । तर, यो प्रवृत्ति सही होइन ।’ लंगुर यसरी खुलेआम सहरमा आउन थाल्नु मानिसका लागि खतरनाक हुन सक्छ भने स्वयं लंगुरकै लागि पनि यसरी सहरमा आइरहनु राम्रो होइन । रेन्जर फिलानी भन्छन्, ‘सहर पसेर यी लंगुर अक्सर यस्ता कुरा पनि खाइरहेका हुन्छन् जसले उनीहरूलाई फाइदा गर्दैन । जस्तो, यी लंगुर वाइनको बाकस नै बोकेर लैजान्छन् र सबै वाइन खाइदिन्छन् । वाइन खाएर लंगुर मात्तिन्छन् र हिँडडुल नै गर्न सक्दैनन् । हामीले यस्ता अनेक प्रसंग देखेका र भोगेका छाँै ।’
फिलिप रिचर्ड्सन एकजना विशेषज्ञ हुन् जसले जनावरको व्यवहारबारे विशेष जानकारी राख्छन् । उनी लंगुरलाई सहरभन्दा टाढा राख्नुपर्ने अभियानको नेतृत्व पनि गरिरहेका छन् । उनलाई लाग्छ, रेन्जरहरूले जुन तरिका प्रयोग गरिरहेका छन्, त्यसबाटै पनि लंगुरहरूलाई उनीहरूको प्राकृतिक आवास कहाँ हो भन्ने थाहा हुँदै जानेछ ।
उनी भन्छन्, ‘लंगुरहरूलाई धपाउन हामी खास किसिमको वातावरण बनाउने प्रयास गरिरहेका छौँ । हामी लंगुरलाई केही खास कुरासित परिचित गराउने प्रयास गरिरहेका छौँ, जसबाट उनीहरू डराएर भाग्नुपर्ने हुन्छ । जस्तो, लंगुरले कुनै पेपर उठायो भने त्यति नै बेला गोली चलाइन्छ । हरेकपटक यही प्रक्रिया दोहोर्‍याएमा लंगुरलाई सायद के थाहा हुन सक्छ भने यसो गरेमा गोली चल्दो रहेछ र यसो गर्नु नहुनेरहेछ । त्यसपछि लंगुरले त्यसो गर्न छाडेर यो ठाउँ पनि हाम्रा लागि ठीक रहेनछ भन्ने विचार गर्नेतर्फ सोच्न सक्छ ।’(एजेन्सी)

प्रतिक्रिया