बढे लागुऔषधका दुव्र्यसनी

राजविराज, १३ कात्तिक । अभिभावकको लापरवाही तथा उचित परामर्श र नियन्त्रणको पहल नहुँदा सप्तरी र उदयपुरका एक दर्जन भन्दा बढी गाविसमा लागुऔषध प्रयोगकर्ता बढेका छन् । कुलतमा फसेका साथीको संगत तथा पैसाको लोभमा औषधि आयात गर्ने व्यक्तिका कारण समस्या बढ्दै गएको हो ।

सप्तरीको फत्तेपुर, उदयपुरको बेल्टार, बसाहा, तपेश्वरी, रामपुर, सुन्दरपुरलगायतका क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको हो । जंगलको आसपास, नदी किनारा, पुराना, रित्ता घर तथा चन्द्र शमसेरले बनाएर छाडेका पुराना भवनलगायतका एकान्त स्थानमा उनीहरूले लागुऔषध प्रयोग गर्ने थलो बनाएका छन् ।
आधिकारिक तथ्यांक नभए पनि गाँजा, नाइट्रोजन ट्याब्लेट, फेन्सिडिल, फेनारगन, लुपिजेसिस र डाइजिपाम्प सेवन गर्ने र सिरिन्ज प्रयोग गर्ने युवाको संख्या बढेर गएको स्थानीय बताउँछन् । फत्तेपुरमा मात्र ५० भन्दा बढी युवा लागुऔषधको कुलतमा फसेको स्थानीय खगेन्द्र कार्कीले बताए । सेवन गर्नेमा सवारी साधनमा काम गर्ने युवा अत्यधिक मात्रामा रहेको उनले बताए । यस्तै, उदयपुरका दर्जनौँ गाविसका युवासमेत लागुऔषधको कुलतमा फसेको उनको दाबी छ ।
भारतको भीमनगर, वीरपुरलगायतका स्थानमा लागुऔषध किन्न जानु पर्ने यस्ता लागुऔषध स्थानीय बजारमै पाउन थालेपछि प्रयोगकर्ताको संख्या बढेर गएको एक प्रयोगकर्ताले बताए । भारतीय बजारमा ७० देखि ९० रुपियाँ पर्ने एक डोज लागुऔषध स्थानीय बजारमा तीनसय देखि पाँचसय रुपियाँसम्ममा पाउने गरेको उनको भनाइ छ । सप्तरीको फत्तेपुरलगायत उदयपुरका बेल्टार, रामपुरलगायत स्थानमा औषधि पसलेले बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
लागुऔषधको प्रयोगकै कारण केही समय अघि फत्तेपुर–२ का ३५ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । पत्नी र एक छोरीका पिता चौधरी लागुऔषध सेवनकर्तासँगै बिक्रीमा पनि संलग्न थिए ।
यस्तै, ०६१ देखि फेन्सिडिलबाट लागुऔषध सेवन सुरु गरेका फत्तेपुर–३ का ३१ वर्षीय मनोज मगर अपांग भएका छन् । लागुऔषधको इन्फेक्सनले उनको दाहिने खुट्टा सुकेको छ । ०६७ देखि खुट्टामा समस्या आएको र काठमाडौंको टिचिङ अस्पताला उपचार गरेर ज्यान बचाए पनि खुट्टाले काम नगरेको उनले बताए । ‘७ लाख रुपियाँ खर्च गर्दा पनि पूर्णरुपमा ठीक भएको छैन,’ मगरले भने, ‘खुट्टामा कृतिम नसा फेर्नु पर्ने डाक्टरले सल्लाह दिएका छन् ।’
दैनिक रूपमा लागुऔषध प्रयोगकर्ता बढ्दै गए पनि नियन्त्रण गर्ने निकायले भने ठोस कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

प्रतिक्रिया