कलाकारका दसैँ योजना

दिलिप रायमाझी : दसैँका लागि भनेर त्यस्तो विशेष प्लान केही गरेको छैन । यसपटक मैले दुई भागमा विभाजन गरेको छु । टीकाको दिनसम्म काठमाडौँमा बिताउँछु । त्यसपछि बेलायत जाँदै छु किनकि मेरा हजुरआमा, हजुरबुबा, श्रीमती, दिदी, अंकल सबै उतै हुनुहुन्छ । दसैँको बहानामा उनीहरूसँग भेटघाट हुने, आशीर्वाद पनि लिन पाइने । जुवा, तासतिर मेरो उस्तो रुचि छैन । तैपनि, म साथीभाइसँग यसो जम्नका लागि तासचाहिँ खेल्छु । म भेजिटेरियन हुँ ।
सुमिना घिमिरे : दसैँ सुरु हुुनुपहिले नै घर जाने योजना थियो । तर, अचानक चलचित्र ‘स्टार’ मा खट्नुपरेकाले पूरा भएन । फुलपातीसम्ममा त सुर्खेतस्थित घर पुगिहाल्छु । हजुरआमा हुनुहुन्छ, उहाँको हातबाट टीका थाप्नेछु । दसैँको बहानामा आफन्तसँग पनि भेट्न पाइन्छ । तर, अचेल बाल्यकालको जस्तो रमाइलो हुँदैन । उति बेला नयाँ कपडा देखाउन गाउँ चाहार्ने, टीका लगाएर पैसा जम्मा गर्ने, साथीहरूबीच कसको बढी भनेर देखाउने हुन्थ्यो । अब त पैसाका लागि भन्दा पनि आशीवार्दका लागि टीका थाप्न गइन्छ । आफन्तसँग भेटघाट हुनु नै अहिले दसैँको रमाइलो हो मेरा लागि ।
आर्यन सिग्देल : दसैँमा आफूलाई एक्लो महसुस गर्छु । सबै साथीभाइ घर जान्छन्, दिक्क लाग्छ । तर, कामबाट विश्राम हुने भएकाले घरपरिवारलाई समय दिन पाइन्छ । मलाई सानैदेखि नै चाड पर्व त्यति रमाइलो लाग्दैनथ्यो । दसैँं भन्नेबित्तिकै माछामासुको कुरा त आइहाल्छ । मलाई खसीभन्दा कुखुराको मासु धेरै खान मन लाग्छ । कलाकार भएकाले सपिङ सधँै गर्नु पर्छ, त्यसैले दसैँमा त्यस्तो विशेष केही हुँदैन । जुवातासमा रुचि नभए पनि समय बिताउन सामान्य किसिमले खेल्छु ।
दयाहाङ राई : मैले अहिलेसम्मका कुनै दसैंँमा कुनै भिन्नता पाएको छैन । सबै नेपालीको महान् चाड भएकाले यसलाई विशेष किसिमले मनाउनुपर्छ भन्नेमा छु । यस पटक विदेशमा कार्यक्रम पनि परेको छैन । बाल्यकालमा दसैँमा म फूटबल खेल्न दौडन्थेँ । सबै जना भेला हुने समय भएकाले पनि होला, खुबै मजा आउँथ्यो । तर, अहिले दसैँको मुख्य कुरा साथीभाइ, आफन्तसँग भेटघाट हुनु हो । तास खेल्दै नखेल्ने होइन तर हारजित भन्दा पनि रमाइलोका लागि खेल्ने हो । ३ हजारसम्म जितेका र हारेका अनुभव मसँग धेरै छन् । माछामासु त मलाइ नभई हुँदैन । खान मन लागे जति, शरीरले थामेजति खाइन्छ ।
नन्दिता केसी : म त घर अर्घाखाँची आइसकेँ । सबै जनासँग भेट हुँदा खुबै रमाइलो भइरहेको छ । हाम्रो परिवारमा त तास पनि राम्रैसँग जम्छ, यसको आनन्द छुट्टै छ । कामबाट फुर्सद हुने र आफन्तसँग भेट हुने भएकाले मेरा लागि दसैँ विशेष अवसर हो । परिवारसँग बसेर रमाइलो गर्ने, माछा मासु खाने, टीका लगाउने गरिन्छ । सानो छँदा नयाँ कपडा ढल्काउँदै टीका लगाउन हिँड्दा खुब रमाइलो हुन्थ्यो । अहिले परिवारसँग बस्न पाउँदा रमाइलो हुन्छ ।
दीपकराज गिरी : सानोमा लुगा किन्दा घरका अरूलाई एक जोर, मलाई चाहिँ दुई जोर नै चाहिन्थ्यो । दक्षिणा पनि मलाई नै डबल नै चाहिन्थ्यो । सानोमा दसैँ मनाउनुको मजा नै बेग्लै थियो । नयाँ कपडा किनेपछि भोलिपल्ट बिहानै उठेर टोलका सबैलाई देखाउन पुग्थेँ । चंगा पनि खुबै उडाइन्थ्यो । आकाशमा उडिरहेको मेरो चंगा कसैले चेट गरिदियो भने त्यसलाई लिन धान खेतमा पुग्नुपथ्र्यो । तर, अहिले सबै कुरा गर्न कहाँ पाइन्छ र ? परिवार र आफन्तजनकहाँ पुग्यो, टीका लगायो, रमाइलो गर्‍यो ।
गरिमा पन्त : दसैँ हाम्रा लागि विशेष हुन्छ । वर्षको एकपल्ट हामी परिवारै पुरानो घर तनहुँ जान्छौँ । यसपालिको दसैँको सपिङ मैले चाहिँ गर्न भ्याइनँ । अरू सबैले गरिसक्नुभयो । त्यसो त म ममीले जे किनिदिनुहुन्छ, त्यसैमा सन्तुष्ट हुने खालको मान्छे हुँ । आफूभन्दा ठूलाबाट टीका थाप्नु, आशीर्वाद लिनु दसैँको महत्त्वपूर्ण पक्ष लाग्छ । परिवारसँग बसेर रमाइलो गर्ने, तास खेल्ने गरे पनि मदिरा सेवन गर्ने बानी छैन ।
सरिता लामीछाने : दसैँमा हाम्रो विशेष संस्कृति हो । तर, यसपटक हाम्रो दसैँ त्यस्तो खास हुँदैन किनकि जुठो परेकाले टीका लगाउन मिल्दैन । फेरि चाडबाड भन्दैमा उस्तो झकिझकाउ गर्ने बानी छैन पनि । मलाई तास खेल्न नआउने भएकोले पिङ रमाइलो लाग्छ । आफ्ना सन्तानलाई संस्कृति हस्तान्तरण गर्न पनि दसैँ मनाउने गर्छु म  ।

प्रस्तुती : कुबेर गिरी

प्रतिक्रिया