भारत र पाकिस्तानबीच साझा मुद्रा चलाउन प्रस्ताव

लाहोर : पाकिस्तानको सत्तारूढ दलका एक वरिष्ठ नेताले भारत र पाकिस्तानबीच साझा मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गरेका छन् । तीनपटक युद्ध लडिसकेका राष्ट्रबीच साझा मुद्रा प्रचलनमा ल्याउन पाकिस्तानी नेताले गरेको प्रस्तावलाई भारतीय सञ्चारमाध्यमले समेत प्राथमिकता दिएका छन् ।
पाकिस्तानको सत्तारूढ पाकिस्तान पिपल्स पार्टीका नेता जेहनगिर बद्रले लाहोर प्रेस क्लबमा शुक्रबार आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गरेका हुन् । भारत र पाकिस्तानबीच द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि साझा मुद्रा चलाउन आवश्यक रहेको धारणा उनले राखेका थिए ।
‘भारतसँगको व्यापारमा नकारात्मक सूचीमा राखिएका १२ सय ९ सामग्रीलाई डिसेम्बरमा सूचीबाट हटाइनेछ । द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि दुई देशले साझा मुद्रा प्रचलनमा ल्याउनु आवश्यक भएको छ,’ उनले भने । अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र युरोजस्ता अन्तर्राष्ट्रिय व्यापारमा प्रचलित मुद्राबाट सिर्जित दबाब कम गर्नका लागि भारत र पाकिस्तानबीच साझा मुद्रा प्रचलनमा ल्याउनु आवश्यक रहेको जिकिर उनले गरे । भारतसँगको शान्ति वार्ताका लागि पाकिस्तानी संसद्का तर्फबाट गठित समूहका सदस्यसमेत रहेका उनले पाकिस्तान सरकारले भारतसँगको सम्बन्ध सुधारका लागि प्रयास गरिरहेको जिकिर गरे । कार्यक्रममा उपस्थित पाकिस्तानका सूचनामन्त्री कमार जमान काइराले समेत दुई देशबीचको सम्बन्ध सुधारका लागि विभिन्न स्तरमा छलफल भइरहेको जानकारी दिए ।
गत साता पाकिस्तानका पेट्रोलियम मन्त्रीले असिह हुसेन पाकिस्तानले भारतसँग इन्धन किन्न चाहेको बताएका थिए । मूल्य चित्तबुझ्दो पाए भारतबाट डिजेल र हवाई इन्धन किन्न आफूहरू तयार रहेको बताएर उनले सबैलाई चकित पारेका थिए । भारत भ्रमणका क्रममा मन्त्री हुसेनले बुधबार नयाँदिल्लीमाा यस्तो बताएका थिए ।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको चार दशकभन्दा लामो इतिहासमा बहालवाला पाकिस्तानी मन्त्रीले यस्तो बताएको यो पहिलो अवसर हो । उनको भनाइले दुई देशबीचको सम्बन्ध सामान्य बन्ने थप संकेत मिलेको विश्लेषण गरिएको छ । सन् १९४७ मा स्वतन्त्र भएपछि दुई देशले तीनपटक युद्ध लडिसकेका छन् । त्यसैले दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण छ । (एजेन्सी)

प्रतिक्रिया