अनाथ बालबालिकालाई दसैँ सामग्री

 

चितवन, ५  कात्तिक । पश्चिम चितवनको जगतपुरमा रहेको प्रभात किरण अनाथालयका बालबालिकालाई दसैँ मनाउन आयरल्यान्डकी समाजसेवी एमोर डोयलले सहयोग गरेकी छन् । उनले बालबालिकालाई दसैँ मनाउन खसी, लत्ताकपडा तथा चामल, तेल, दाल, चिउरालगायत खाद्यसामग्री दिएकी हुन् । डोयल स्वयंसेवकका रूपमा नेपाल
आएकी हुन् ।
जगतपुर–७, धम्पुसस्थित अनाथालय भ्रमणका क्रममा बालबालिकासँग दसैँ मनाउन खर्च नभएको जानकारी पाएपछि सहयोग गरेको उनले बताइन् । उनीहरूका लागि दसैँ सामग्री जुटाउन आयरल्यान्डमा रहेका साथीसँग सहयोग लिएको उनले उल्लेख गरिन् । गाउँ विकास युवा क्लब मंगलपुरमार्फत सहयोग हस्तान्तरण गरिएको हो । अनाथालय सञ्चालक छविलाल न्यौपानेलाई क्लबका अध्यक्ष राजेन्द्र पौडेलले सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रभात किरण सेवा समाजले सञ्चालन गरेको प्रभात किरण अनाथालयमा १० बालबालिका छन् । उनीहरूमध्ये चारजना चितवन राष्ट्रिय निकुञ्जका सैनिक बाबुबाट जन्मिएर बाबुआमा दुवैले छाडेका, चारजना वन्यजन्तु तस्करीको आरोपमा बाबुआमा कारागार सजाय भोगिरहेका र दुईजना मध्यवर्ती क्षेत्रका घरेलु हिंसापीडित बालबालिका छन् ।

प्रतिक्रिया