अखमेरिका पुगिसकेपछि मात्र थाहा भयो, अमेरिकालाई त्यसै सपनाहरूको संसार
(वल्र्ड अफ ड्रिम्स) भनिएको होइन रहेछ र त्यसै अवसरहरूको भवसागर (ल्यान्ड अफ दि एक्सट्रिम अपरचुनिटिज) भन्ने गरिएको पनि होइन रहेछ । मैले पढेको अमेरिका ‘ब्रेभ न्यु वल्र्ड’ थियो, र थियो ‘एल डोराडो’, तर देखेको अमेरिका थियो मानव परिश्रम र मस्तिष्कले निर्मित मानव जातिकै अप्रतिम धरोहर । यहाँ देखिन्छ त भौतिक समुन्नतिको पराकाष्ठा र, सँगै हेर्न पाइन्छ गरिबीको दारुण कथा–व्यथा पनि । यहाँ मानव जीवनको एकमात्र अर्थ र मूल्य छ– ‘राम्ररी बाँच्न चाहन्छौ भने काम गर, त्यो काम भलै जेसुकै होस् ।’ कामप्रति उच्च सम्मान देख्न पाइन्छ । मूलचासो कामको प्रकृतिभन्दा पनि सम्बन्धित काम गरेर प्रतिघन्टा कति डलरसम्म आय हुनसक्छ भन्ने हो ।
यो आप्रवासीहरूको देश हो । खासगरी इंग्ल्यान्ड, स्कटल्यान्ड, आयरल्यान्ड, वेल्स आदि स्थानका मानिसहरू नै सर्वप्रथम ‘नयाँ मुलुक’ को खोजीमा भौँतारिँदै झन्डै साढे चार सय वर्षपहिले अमेरिका पुगेका थिए । त्यसपछि अरू मुलुकबाट त्यहाँ आउँदै रहे । यसरी सुरुदेखि नै तुलनात्मक रूपले पढालेखा आप्रवासीको जमघट हुँदै रहयो । पछिल्लो समयमा संसारका लगभग हरेकजसो मुलुकबाट कोही न कोही मानिस अमेरिकामा प्रवासिएर बसेको छ । यस्तै एकजना प्रवासी युवती मैले भेटेको थिएँ अमेरिकी राजधानी वासिङटन डिसीमा ।
मिलेनी । यही नाम बताएकी थिई उसले मलाई पहिलोपटक भेट्दा । डिसी जाने अनेकमध्ये एउटा नाका छ– पेन्टागन सिटी । यो ठाउँबाट डिसी जानका लागि मेट्रो ट्रेन र मेट्रो बस दुवै पाइन्छ । त्यहाँबाट बस वा ट्रेन चढेपछि सहजै गन्तव्यसम्म पुग्न सकिन्छ । डिसीमा साइत नजुर्दा यही पेन्टागन सिटीमा उसित पटकपटक भेट भइरहन्थ्यो ।
सपनाहरू खोज्न र अवसरहरू खोतल्न मिलेनी इथियोपियाबाट अमेरिका छिरेकी थिई । ऊ अमेरिका आउँदा उसको देशमा भयानक गृहयुद्ध मच्चिइरहेको थियो । मिलेनी यता आएको करिब डेढ वर्षपछि उसको देश टुक्रियो र नयाँ देशका रूपमा विश्व मानचित्रमा देखा पर्यो अर्को सानो राष्ट्र– इरिट्रिया । उसले भनेकी थिई, देश टुक्रिँदा उसको पनि मन निकै दु:खेको थियो । कतै घाउहरू बल्झिएजस्तो भएको थियो । तर, उसलाई लागेछ, एउटै देशमा बसेर एकआपसमा काटमार गरेर पुरुष जति सिद्धिने, महिलाहरूले हिंस्रक बलात्कारको निर्मम पीडा सहँदै जिन्दगी घिसारिरहनुपर्ने हो र अबोध बालबालिकाहरू असमय टुहुरा बनेर पश्चिमी देशहरूको दयामायामा शरणार्थी बनेर जीवन बिताउन बाध्य हुनुपर्ने हो भने त बरु देश टक्रिएकै पनि जाती मान्नुपर्ने हुँदो रहेछ † कम्तीमा आपसी हिंसा, काटमार, अशान्ति र छोइछिटोको अवस्थाबाट मुक्ति त पाइन्छ †
मैले उसलाई एकटक हेरेको थिएँ । उमेरले तीन दशक छुन थालेकी युवती थिई ऊ । आमअफ्रिकीजस्तै श्याम वर्ण, तर अँगारजस्तो होइन । विशेष मेकअप गर्ने स्वभाव थिएन तापनि उसको अनुहार र हातका छालामा विशेष किसिमको चमक थियो– दिनहुँ नौनी दलेर चिल्लो पारेर राखेजस्तो । न पातली न मोटी, बरु स्वस्थ शरीरकी स्वामिनी भन्न मिल्ने ज्यान पाएकी उसको अनुहार अक्सर नि:स्पृह देखिन्थ्यो । उसले भनेकी थिई, ऊ गृहयुद्धको हिंसाबाट जोगिएर अमेरिका भास्सिएकी थिई । उसलाई सरकारी सेनाले पनि र विद्रोही पक्षले पनि निरन्तर निशाना बनाइरहेको थियो । त्यस्तैमा मध्यस्थकर्तालाई ठूलै रकम खुवाएर ऊ अचानक भर्जिनिया आइपुगेकी थिई । उसले डिसीमा सञ्चालित एउटा इथियोपियाली रेस्टुराँमा नै काम पाएकी थिई ।
तिनताका मेरो बसाइँ भर्जिनिया राज्यको आर्लिङटन काउन्टीमा पर्ने कोलम्बिया पाइक भन्ने ठाउँमा रहेको डोरचेस्टर अपार्टमेन्टमा थियो । ठूलो अपार्टमेन्टमा दुई–तीन परिवार नेपालीबाहेक अरू सबै अफ्रिकी, ल्याटिन अमेरिकी, पाकिस्तानी, मंगोलियन, भियतनामी र केही अन्य राज्यहरूबाट आएका अमेरिकीहरू नै थिए । व्यक्तिवादको चरम स्वरूप त्यहाँ व्याप्त थियो । अर्को अपार्टमेन्टमा को छ वा के भइरहेको छ भन्ने न कसैले कसैलाई सोध्ने गथ्र्यो, न कसैमा यसप्रति चासो भएजस्तो देखिन्थ्यो । मलाई लाग्यो, सायद निजी स्वतन्त्रता र निजत्व ‘प्राइभेसी’को सम्मान गर्न यसो गरिएको होला ।
म कहिले भावनामा तरंगिन खोज्थेँ त कहिले कल्पनाका पखेटा फटफटाउन तम्सेको हुन्थे । तर, भर्जिनियाको बसाइमा एउटा पक्ष भने रमाइलो लागिरहयो । त्यो के भने, बिहान अथवा दिउँसो वा साँझमै पनि, बाटाघाटा हिँडिरहेको बेलामा आमुन्नेसामुन्ने भेट भयो भने– खासगरी अमेरिकी गोराहरूले– मुसुक्क हाँस्ने र ‘हाय, हाउ आर यु ?’ अथवा, ‘गुड मर्निङ’ वा ‘गुड इभनिङ’ भन्ने प्रचलन रहेछ । ल्याटिनोहरूले ‘अमिगो’ अथवा धेरै सानाले ठूलालाई सम्बोधन गर्दा ‘सिन्योर’ भन्ने रहेछन् । धेरैजसो अश्वेत अमेरिकीहरू ‘बडी’ भन्न रुचाउने रहेछन् । श्वेत अमेरिकन र अलि पढालेखा अश्वेतहरूले भने अक्सर ‘सर’ वा ‘म्याडम’ भनेर बोलाउने गरेको अनुभव भयो । नेपालमा हुँदो हो त ‘ओई, तैँले मेरो अनुहारमा किन हेरिस् ? बंगारा फुस्काइदिउँm ?’ भन्नेसम्मको स्थिति आइलाग्छ, मुसुक्क हाँस्ने र केही बोल्ने कुरा त परै जावोस् †
त्यो नोभेम्बरको एक चिसो अपरान्ह थियो जुनबेला मिलेनी मसित भेट भएकी थिई । म सडकपेटीमा उभिएर हिउँजस्तो मौसमसित एडजस्ट हुन खोज्दै थिएँ । सफा र फराकिला बाटा तर चिसो कस्तो भने अनुहार, कान र हात त आइसक्रिम नै हुने । अनि आँखाबाट अत्यधिक चिसोले गर्दा हठात् आँसु नै चुहिन थाल्ने † हिँड्न मान्छे निकै कम मात्र, ताँती थियो त केवल कारहरूको मात्र । ती कार तेज गतिमा ओहोरदोहोर गरिरहेछन्, वरपरदेखि परसम्म त्यही ताँती मात्र देखिन्छ तर टाढा क्षितिजसम्मै देखिए पनि हर्न बजेको वा बजाएको हत्पति सुन्नै नपाइने † धुवाँको कालो–नीलो मुस्लो पनि देख्न नपाइने † नेपालमा बाटोमा यात्रारत हुँदा आमरूपले ठट्यौली पारामा भन्ने गरेको सुनिन्छ, ‘नि:शुल्क नेपाली पाउडर लगाउनुस् है, जति लगाए पनि हुन्छ †’ यहाँ भर्जिनियाबाट डिसीसम्म आउँदाजाँदा सडकमा धुलोको कतै नामनिसान थिएन । न कतै खाल्डाखुल्डी नै । यो सबै देखिसकेपछि मन आफैँसित बोलेथ्यँे– ‘अमेरिका त्यसै संसारको सबैभन्दा विकसित देश बनेको होइन रहेछ †’ मलाई यस्तो पनि लाग्थ्यो– सम्भवत: कुनै पनि देशको प्रगति वा विकासको पहिलो सशक्ततम अभिव्यक्ति भनेकै सफा फराकिला सडकहरू जालो नै हो ।
‘बुझ्यौ गौतम,’ मिलेनीले भनेकी थिई, ‘म पनि अचेल झन्डै अमेरिकनान्ड भइसकेकी छु । मसित पनि अमेरिकन ड्रिम छ । त्यसैले म अहिले पाएसम्म काम गरिरहेकी छु । टन्न पैसा कमाएर मलाई पनि एकदिन यो देशको ठूलो मानिस बन्नुछ । भव्य लिमो र आलिसान म्यासन किन्नु छ ।’
बोल्दाबोल्दै ऊ कतै हराएजस्ती हुन्थी । भविष्यका सपना उसका आँखामा तैरिरहेका भान हुन्थे । मलाई अनौठो लाग्थ्यो उसले यसो भनिरहँदा । उसको सामान्य इथियोपियाली अध्ययनले मात्र उसलाई उसले खोजेको काम र टन्न दाम दिनै सक्दैन्थ्यो । अरू सामान्य काम गरेर उसले त्यो सपना कहिल्यै पूरा गर्न सक्दिन थिई । तर, उसमा आँट भने प्रशस्त थियो, उत्साह र आत्मविश्वास पनि उस्तै थियो । एकपटक पोटोम्याक नदीमाथिको पुल तर्दै गर्दा उसले भनेकी थिई– ‘मलाई पहिले करिअर बनाउनु छ, प्रशस्त पैसा कमाउनु छ, अनि मात्र बिहे र परिवारबारे सोच्न थाल्नेछु ।’
आफूले बुझेको अमेरिकी समाजबारे मिलेनी चर्चित हलिउड अभिनेत्री मर्लिन मुनरोको एउटा भनाइ पटकपटक दोहोर्याउने गर्थी, ‘अमेरिका इज अ प्लेस व्हेयर दे विल पे यु अ थाउजेन्ड डलर्स फर अ किस, एन्ड फिफ्टी सेन्ट्स फर योअर सोल ।’ सायद विश्वविख्यात फिल्म सेलेब्रिटी मुनरोले यो सन्दर्भ हलिउडबारे भनेको हुनुपर्छ, त्यसैलाई मिलेनीले मसित भेट्दा हलिउडको ठाउँमा अमेरिका भन्ने शब्द राखेर सुनाउँथी कि जस्तो लाग्छ मलाई अचेल ।
त्यसपछि समयले लामो फड्को हानेको छ । उता पोटोम्याक खोलामा र यता बागमतीमा हजारौँ लिटर पानी बगिसकेको छ । म अमेरिकाबाट फर्किएको पनि पाँच वर्ष भइसकेको छ । यो अवधिमा त्यो इथियोपियाली युवती केवल एक धुमिल स्मृति मात्र बनेकी छ । तापनि बेलाबखत मनमा एउटा प्रश्न भने उठिरहने गर्छ– ‘के त्यो युवती आफ्नो नामजस्तै मिलेनीबाट मिलियनर बन्न सफल भइहोला ? अनि, के एउटा गाडी, एउटा गतिलो काम र दुई बच्चासहितको परिवार भन्ने आमअमेरिकी ड्रिमलाई उसले यथार्थमा रूपान्तरित गर्न सकी होला ?’
प्रतिक्रिया