कहिले स्कुल बिदा होला र, रातमाटेमा माटो र कमेरे पाटोमा कमेरो लिन जान पाइएला भन्ने हुन्थ्यो । करेसो सोर्न र घरको पेटी टाल्न हानथाप पथ्र्याे । तुलसाको मोठ टाल्ने जिम्मा मेरो, पेटी र करेसो बहिनीलाई, भाइ काम गर्न नसक्ने भए पनि जिम्मेवारी नपाए बाँउठिन्थ्यो । उसलाई माटोको डल्लो पार्ने र पानी ओसार्ने जिम्मा । हजुरआमा बेलाबेला आएर झक्झक्याउनु हुन्थ्यो– ‘ल ल राम्रो छ, यहाँ बढी हिलो भो, यहाँ माटो पुगेन, पर्सिसम्ममा सबै काम सक्यौ भने निकोर्सि किनमेल गर्न तिमर्को बाउलाई बजार पठाउँछु ।’ हामीबीच बहस चल्थ्यो अनि ।
‘मलाई त कुर्तासुरुवाल मात्रै भएर हुँदैन, चप्पल र ज्याकेट पनि चाइन्छ ।’ जेठी बहिनीको चाहना ।
‘तेरो त पोहोरकै छ नि ! मलाई चाहिँ चाहिन्छ के, ज्याकेट । म त बुबालाई यसपाली पाइन्ट टि–सर्ट चाइन्छ भन्छु ।’ कान्छीको कुरो ।
‘तिमीहरूलाई मात्रै चाहिन्छ, मलाई चाहिँ के नि ?’ भाइको कुर्लाइ ।
‘भाइलाई जुत्ता, ज्याकेट, सर्ट, पाइन्ट सबै चाहिएको छ ।’ जेठीले भाइलाई माया गरी ।
‘मलाई चाहिँ के नि ?’ मैले बहिनीहरूको चाहना सुन्न खोजेँ ।
‘तँलाई त केही चाहिँदैन, वर्षामा हालेको सर्ट पाइन्ट अझै फाटेको छैन । हामीलाई पोहोर दसैँमा हालेदेखि अहिलेसम्म एकधरो ज्यानमा नयाँ परेको छैन ।’ कान्छी पड्की । मलाई लाटो रिस उठ्यो । लिप्सिन निहुरिएकी उसको ढाडमा डाम बस्ने गरी एक लबटो हानेर भनेँ, ‘तैँले किनिदने हो
र ? जे किने पनि तँलाई के भो त !’
‘यो दाइ पनि के भा’को ? हात नै हाल्नु पर्छ त त्यति भन्ने बित्तिकै ?’ जेठीले गुनासो गरी । कान्छी पनि के कम ? माटोको डल्ला उठाएर मेरो ढाडमा हिर्काई । घम्साघम्सी भो । हजुरआमा भित्रबाट कराउँदै आउनु भो, ‘छौडाहरूले के काम गर्थे ? बाउचैँलाई यसपालि केही पनि नल्याइदे भन्छु ।’
०००
‘आज धान भिजाउने । भोलि चिउरा कुट्न जानुपर्छ । पछि भिड भएर पालै पाइँदैन ।’ भात खानेबेला हजुरआमाले प्रस्ताव राख्नु भो । ममीले भने तोरी पेल्न जान हतार भएको कुरा गर्नु भो । ‘आज तोरी सुकाएर भोलि पेल्न जाऔँ, चिउरा कुट्न पर्सि जाउँला ।’ ‘तोरी पेल्न को जाने ?’ कान्छीले सोधी । ‘तेरी आमा,’ हजुर आमाले भन्नु भो । ‘ममीसँग म पनि जान्छु ।’ कन्छीले रहर गरी । ‘हैन म जान्छु ।’ जेठीले पनि रहर गरी । ‘नाइँ के म जान्छु ।’ भाइले रहर पोख्यो । मैले केही भनिनँ । किनकि मलाई बुबाले सुटुक्क किनमेलको दिन लैजाउँला भन्नुभएको थियो । अरू दिनभन्दा त्यसदिन धेरै फाइदा हुनसक्ने मेरो अनुमान । ममीसँग बजार गए पैसै हुँदैन । बुबासँग गएर एक तुर्कि आँसु झारेपछि जे भन्यो त्यही पाइने मेरो अनुभव थियो । तर, भाइ र बहिनीबीच ममीसँग को जाने भन्ने विवाद टुंगिएको थिएन । त्यत्तिकैमा बुबाले चर्को स्वर गर्नु भो । ‘कोही पनि जाँदैन बजार, ममी बजार जान्छे हामी मिलेर घर छ्याप्ने । नयाँ लुगा चाइने भए भनेको मान, नत्र आफ्नो सुर गरे हुन्छ ।’ चेपुवामा पार्न बुबा खप्पिस ।
०००
किनमेलको दिन बुबाले बिहान भात खाएर बाहिरको खाटमा बसेर लिस्ट बनाउन थाल्नु भो ।
तेल–५ लिटर
जिरा–१ किलो
हजुरबालाई– धोती, जुत्ता र कमिज
ममीलाई– एउटा सारी
बुबालाई– मलाई केही चाहिँदैन ।
मेरो पालो– सर्ट, पाइन्ट, जुत्ता, पेटी, पर्स । वादविवादबीच पारित भो । बहिनीहरूले घोर आपत्ति जनाए । भाइ भने मौन बस्यो । धेरथोर बहिनीहरू शान्त रहनुमा पनि कारण थियो । उनीहरूको पालो आएकै थिएन ।
जेठीको पालो– कुर्ता सुरुवाल ।
‘ज्याकेट पनि चाइन्छ के, जाडो आइसक्यो, चप्पल पनि छैन । अरू, केटीहरूको त कति राम्रो ज्याकेट छ, मलाई त लाजै हुन्छ’, जेठीले माग तेस्र्याई । फेरि, ‘टेलर्समा नै सिलाउनु पर्छ । दर्जीले सिलाएको त लाउँदिन ।’
‘के गर्नु पर्छ भन्ने मलाई थाहा छ,’ बुबाले छिनोफानो गरिदिनु भो ।
कान्छीको पालो– कुर्ता सुरुवाल ।
‘नाइँ म त जिन्स पाइन्ट लगाउँछु ।’ उसले भनी ।
‘लाउँछेस्, पाँएट, आइमाई भएर …†’ हजुआमाले घोर अपत्ति जनाउनु भो । पाइन्टमा सहमति जुट्न सकेन । विवादकै बीच बुुबा निस्कनु भो । नतिजाका लागि साँझ नै कुर्न पर्ने भो । म भने बुबाको पछि लागेँ । झोला बोकेर ।
बेलुका नतिजा फरक आयो । मागअनुसार सामान आएन । म भने मख्खै थिएँ । बहिनीहरूको रुवाबासी चल्यो । भाइले जति पाएको थियो, त्यतिमै सन्तुष्ट भयो । घरमा रडाँको मच्चियो । बहिनीहरू भातै नखाई सुते । हजुरआमाले भोलि ल्याउन लगाउने वचन दिएपछि सुँक्कसुँक्क गर्दै चार गाँस तातो खाएर, चुल्हो पनि नलोटाई कौसी उक्ले ।
०००
ढिलो/चाँडो, दसैँका सबै कामहरू सकिए । अन्तत: सबैको चित्त बुझ्यो । नयाँ लुगा लगाउने धोको सबैको पूरा भो । करेसा र चौतारीमा पिङ थापियो, खसी ढालियो, नयाँ लुगा देखाउन गाउँ नै डुलियो । तर, नवमीकै दिन मेरो नयाँ सर्टको टाँक खुस्केर बुबाले ‘बाँदर’ भन्दै चड्कन हानेको बिर्सेको छैन ।
टीकाको दिनको रमाइलो बेग्लै । मामाघरमा भाइले पाएको दक्षिणा चोरेको, ट्वाइलेट गएर दक्षिणा चेक गरेकोदेखि पिङ खेल्दा कोदो बारीमा बजारिएका घटना पनि रोचक छन् । तर, ती दिन र यी दिनका अन्तर भने समानान्तर भएका छन् । कुनै उत्साह, खुसी वा चाहना छैन । रहर मरेको बेला छ । धान्न मुस्किल परेको पीडा पोखेर पनि के गर्नु ? केही हुने होइन । आज हजुरबा र हजुरआमा हामी माझ हुनुहुन्न । बहिनीहरू पनि बिहे गरेर गैसके । आज घर छ्याप्ने जनशक्तिको अभाव छ, नयाँ लुगा चाहियो भन्ने पनि कोही छैनन् । घरमा बुबा–ममी मेरै बाटो हेर्दै छन्, दसैँ लिएर आउँछ कि भन्दै । अलिकति भए पनि खुसी ल्याउँछ कि भन्दै आँगनमा ढुक्दै होलान् । म भने उही उधारो दुई सयको उधारो समाचार लेख्दै छु ।
प्रतिक्रिया