दसैँ र दुर्गति

‘तिमीलाई कुन जनावर मन पर्छ ? उसले एक बित्ता मुख च्यातेर हाँस्दै उत्तर दिएको थियो– ‘बाँदर ।’ ‘किन ..?’ मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उसले उत्तर तयार पारिसकेको थियो–‘मानिस सडकमा दौडिए जसरी बाँदर रुखरुख दौडिन सक्छ । मलाई बाँदर रुखमा कुुदेको एकदम मनपर्छ ।’ रुखमा कुद्ने उसको रुचि धेरै सानोदेखिकै हो ।
‘यसको निधार ठूलो छ, आँखा गम्भीर छन् । यो निकै ज्ञानी र भाग्यमानी होला जस्तो छ, यसको नाउँ जनक राखौँ,’ राजा जनकको के प्रभाव थियो कुन्नि, हजुरबाले नि:सर्त उसको नाउँ जनक राखिदिनुभयो । हामी नयाँ पुस्ताको भने यो नाउँप्रति मौन विद्रोह थियो । आधुनिक जमानामा पनि के यस्तो पुरानो नाउँ राख्नुपर्‍या होला । तर, बोल्ने हिम्मत कसको थियो र हजुरबासामु । एक्काइस जनाको संयुक्त परिवार । आखिर मान्छेपिच्छे एउटा एउटा नाउँ राख्दा उसका एक्काइसओटा नाउँ हुने खतरा पनि त थियो ।
म आइए पढ्दा जनक पाँच वर्षको थियो । मेरो सानैदेखि शिक्षक हुने रहर । पढ्दा–पढ्दै शिक्षक हुने प्रस्ताव आयो । इस्ट पोइन्ट स्कुल मूलढोका–४, भक्तपुरमा म शिक्षक नियुक्त भएँ । जनकलाई म आफैँले पढाउँछु भन्ने लाग्यो । कोट, पाइन्ट, र टाईको पासो लगाएर जनकलाई डोर्‍याउँदै म स्कुल पुगेँ । जनक र म दुवैका लागि स्कुल नयाँ थियो । हिजोसम्मको विद्यार्थी म आज शिक्षक भएको थिएँ । म कक्षामा अलिअलि नर्भस भएँ । बोल्दा र बोर्डमा लेख्दा पनि हड्बडाइरहेको थिएँ, साथै लजाएको पनि । एकछिन पछि त झन् लाजले भुइँमै भासिनुपर्ने स्थिति सिर्जना भयो । ढोकामा कसैले टक्टक् गर्‍यो । ढोका खोलेँ । एक परम सुन्दरी मिस मन्द मुस्कानका साथ उभिएकी थिइन् । अनुहारमा सिँगान र आँसु लत्पतिएको जनक पनि त्यति राम्री मिससँगै उभिएर सुँक्क–सँुक्क गर्दै थियो । बाँसुरीको धुनजस्तो सुरिलो आवाज तर तीता शब्दहरू मेरो कानमा परे– ‘सर, तपाइँको छोरो कक्षामा बस्नै मानेन । अघिदेखि रोकोरोइ छ । कति सम्झाएँ, मेरो केही लागेन । यसलाई आफैँ फकाउनुहोस् है †’
कक्षाका केटाकेटीहरू मलाई उल्लाउने पाराले एउटै तालमा गलल्ल हाँस्न थाले । म भन्न चाहन्थेँ ‘मिस, यो मेरो छोरो होइन, भाइ हो । मेरो त बिहे नै भएको छैन ।’ तर, अब कोसित भन्ने ? पुराणका कथामा अप्सराहरू हेर्दाहेर्दै अलप भएझैँ आफ्ना सबै कुरा एकै सासमा भनिसकेर मिस अलप भएकी थिइन् । उसै पनि नयाँ शिक्षकलाई र्‍याग गर्ने चलन हुन्छ विद्यार्थीको । एकछिन अघि मात्र परिचयको क्रममा कुनै उल्लुले मलाई सोधेको थियो– ‘सर, हजुरको बिहे भयो ? मैले सहज उत्तर दिएको थिएँ– ‘छैन ।’ अब भने उनीहरूको नजरमा म छोराको बाउ भइसकेको थिएँ, र ढँटुवा मास्टर पनि । अनि त के चाहियो र ? कुकुरको पुच्छर बांगो देख्दा पनि हाँस्ने उमेरका केटाकेटीलाई । जेहोस् त्यो स्कुलमा केही दिनका लागि म जनकको बाबु नै ठहरिएको थिएँ ।
जनकका हर्कत अनौठा थिए । उमेरसँगै उसका लीला पनि बढ्दै जान थाले । सबैभन्दा अग्लो रुखको टुप्पामा पुग्न सक्ने, सबैभन्दा अग्लो कान्लाबाट हाम फाल्न सक्ने, ढुंगा फालेर सबैभन्दा टाढा पुर्‍याउन सक्ने, दौडमा कसैले जित्न नसक्ने, सबैका चंगालाई चेट पार्न सक्ने इत्यादि सयौँ विशेषता थिए जनकका । साथीबीचमा ऊ चार्ली चाप्लिन सरह थियो । कहिलेकाहिँ पाका कुरा पनि गथ्र्यो । हाम्रो परिवार ठूलो । घरचाहिँ सानो । जनकको सानैदेखि एकसूत्रीय सपना थियो– एउटा ठूलो घर बनाउने । राजदरबार जत्रो । यद्यपि उसले देखेकै थिएन राजदरबार कत्रो थियो । तीन कक्षामा पुगेपछि एकदिन शिक्षकले ठूलो भएपछि के बन्ने भनेर सबैलाई सोधेछन् । प्राथमिक विद्यालयका नब्बे प्रतिशत विद्यार्थीले म ठूलो भएपछि डाक्टर बन्छु भन्छन् । त्यहाँ पनि धेरैले डाक्टर नै बन्छु भनेछन् । कोही इन्जिनियर, पाइलट, व्यापारी र शिक्षक बन्छु भन्ने पनि निस्किएछन् । कसैले चाहिँ जागिर खान्छु भनेछन् । जनकले चाहिँ घर बनाउँछु भनेछ । उसको उत्तर सुनेर सबै हाँसेछन् । ‘घर त डकर्मीले पो बनाउँछ त, तिमी डकर्मी बन्ने हो ?’ जनकले उत्तर दिएछ– ‘म त पहिला घर बनाउँछु अनि डकर्मी बन्छु ।’
समय बित्न कति बेर । पढाउने सिलसिलामा म नेपाल प्रहरी स्कुल साँगा पुगेँ । मैले औँला समातेर ‘क’ ‘ख’ र एबिसिडी लेख्न सिकाएको जनक आठ कक्षामा पुुगिसकेको थियो ।
दसैँ आयो । घटस्थापनाको दुई दिनअघिको समय । जनकको परीक्षा सकिएको दिन थियो त्यो । परीक्षा सकिएको दिनका विद्यार्थी युद्ध जितेको सिपाहीजस्ता देखिन्छन् । त्यसमाथि दसैँ आगमनको अर्को खुसी मिसिएको थियो । गाउँका सारा केटाकेटी मिलेर समयमै पिङ हाल्ने सल्लाह गरेछन् । ‘यसपालि सधैँभन्दा फरक तरिकाले पिङ हाल्नुपर्छ, रुखमा । कति बाँसको लिंगोमा मात्र खेल्ने ?’ जनकको प्रस्तावलाई सबैले स्वीकार गरेछन् ।
हाम्रो घरमाथिको गौँडामा एउटा अजंगको रुख थियो हाडेगेडीको । यसका हाँगा चारैतिर फैलिएका थिए । बीचको भागचाहिँ आकासै छेडुँला जसरी अग्लिएको थियो । केटाकेटीहरूले त्यही रुखको हाँगामा पिङ हाल्ने निधो गरेछन् । जनक रुखमा चढेछ ।
दुुर्भाग्य † त्यो रुखमा कालो अरिंगालको ठूलो गोलो रहेछ । गोलो सबै खनिएर जनकलाई टोक्न थालेछ । ‘मलाई मार्‍यो तिमीहरू भाग…†’ रुँदै, चिच्याउँदै जनकले सबैलाई भगाएछ । यसबीचमा जनकलाई सयौँको संख्यामा आएका अरिंगालले टोकेछन् । यति हुँदा हुँदै पनि भागेका केटाकेटीलाई अरिंगालले लखेटेर एघार जनालाई मरणाशन्न पारेछ ।
४६ को आन्दोलनसँगै देशमा नेपाल बन्दको क्यान्सर पनि सल्किसकेको थियो । त्यो दिन पनि कुनचाहिँ पार्टीको नेपाल बन्द थियो कुन्नि । गाउँमा समयमा एम्बुलेन्स पुग्न सकेन । जनकलाई भक्तपुर अस्पताल पुर्‍याउँदा उसको शरीरभित्र स्लाइन नै पास गराउन सकेनन् डाक्टरले । उसलाई कान्ति अस्पतालमा रिफर गरियो । अरू एघारजना भने खतरामुक्त थिए । नेपाल बन्दको समयमा बडो मुस्किलले कान्ति पुर्‍याइयो । भोलिसम्म केही सुधार होला भन्ने आशा थियो । भोलिपल्ट नेपाल बन्द खुल्यो । तर, जनकको सास भने अघिल्लो रात नै बन्द भइसकेको थियो † चौध वर्षको उमेरमा ।
०५६ को घटना थियो त्यो । घटस्थापना आउँदा अहिले पनि मन अमिलिएर आउँछ । मुुटु चसक्क हुने गर्छ । कवि हरिभक्त कटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’ कवितालाई बारम्बार सम्झिरहन्छु ।
जनक अरू केटाकेटीभन्दा भात अलि बढी खान्थ्यो । अरू दाइदिदीले ‘हन्तकाली’ भनेर जिस्काउने गर्थे । त्यसैले ऊ भात थप्न लजाउँथ्यो । तर, भात थप्ने उसका अनेक उपाय थिए । धेरै जसो ऊ ‘झोल बढी भो’ भन्ने गथ्र्यो । अचेल कहिलेकाहिँ थालमा तरकारीको रस बढी हँुदा उसले झोल बढी भो भनेको याद आउँछ । आँखा रसाउन थाल्छन् ।
असोजको पहिलो साता घर गएको थिएँ, सुडाल । घर नजिकैको लहरे पीपलको रुख निकै ठूलो भएको रहेछ । लहरे पीपल सानै बतासले पनि ढलेर ठूलो क्षति पुर्‍याउन सक्छ । घर नजिक यस्तो रुख राख्नु ठीक होइन । सोचेँ– दसैँ आउँदै छ अहिले काट्यो भने दाउराका लागि रामै्र मोलमा बिक्री गर्न पाइन्छ । एकचोटि बासित सल्लाह गरौँ भन्ने लागेर सोधेँ– ‘यो रुख काटिदिउँm है बा ?’
बाको मुख एकाएक अँध्यारो भयो । बा त भक्कानिन पो थाल्नुभयो । बाका आँखा टिलपिल भइसकेका थिए । बाले बढो मुस्किलले मुख खोल्नु भयो– ‘जेसुकै होस् यो रुख नकाटौँ बाबुु ।’ मैले केही बुझिनँ र सोधेँ– ‘किन ?’ बा घाँटी थर्थराउँदै बोल्नुु भो– ‘यो रुख जनकले रोपेको हो ।’

प्रतिक्रिया