कविताको बजार

बनेपाको एउटा कार्यक्रमबाट फर्किरहेका थियाँ– विनोद, विश्व र म । कविताको पाठकका बारेमा बहस चल्यो । कति होलान् कविताका पाठक ? हजार वा लाख । एउटा चुट्किला प्रचलित छ– नेपालको आधा जनसंख्या त कवि नै होलान् । के ती सबैले कविता पढ्छन् ? विडम्बना † कवि स्वयम्ले कविता पढ्दैनन् । कविले समेत नपढ्ने कविता नेपाली साहित्यमा सबैभन्दा बढी लेखिन्छ ।
कस्ता हुन्छन् कविताका पाठक ? बौद्धिक वा साधारण मनुवा ? जो पनि हुन सक्छन् । बस्, कविताले आकर्षण गर्नुपर्‍यो । कविता स्वयंले पाठकको सिर्जना गर्छ । गोपालप्रसाद रिमालको ‘आमाको सपना’ र भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ का लाखौँ पाठक छन् । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लाखौँ प्रति बिकेका छन् । के ती सबै विशिष्ट पाठक हुन् ?
मोहन कोइरालाका कविताको पाठक कति होलान् ? त्यो थाहा भएन । बढ्दै छन् कि घट्दै होलान् ? अनुसन्धान नै गर्नुपर्ने हुन्छ । तर, दुर्बोध्य कविता लेख्ने कविहरूले कवितालाई पाठकबाट अलग गराए र आत्मरतिमा रमाए । यो कलंकको भागीदार को हो ? यस विषयमा बहस भएको छैन तर हुनु जरुरी छ ।
कविताका पाठक आफैँमा नीच र उच्च हुँदैनन् । कविताले मस्तिष्क हल्लाउने क्षमता राख्छ भने त्यसले आफैँ पाठकको सिर्जना गर्छ । सधैँ एउटै किसिमले लेख्ने, समाचार र कवितामा फरक नराख्ने हो भने त्यसले पाठकलाई छुन सक्दैन । त्यस्ता कविताले पाठकको संख्या घटाउँछ । नबुझिने गन्जागोल शब्द थुपारिएका कविताले पनि पाठकको संख्या बढोत्तरी गर्दैन ।
कविताका अनेक धार छन् । अनेक गुट छन् । अनेक प्रोमोटर छन् । कवितामा पनि व्यापारमा जस्तै सिन्डिकेट प्रणाली हावी छ । सिन्डिकेट सिस्टमले हो कवितालाई बदनाम तुल्याएको । राम्रो कविता होइन आºनो मानिसको कविता मागी–मागी छापिन्छ । झुर कविता पाठकसम्म पुग्छ र कविता देखेर पाठकलाई वाक्वाकी लाग्छ, वान्ता हुन्छ । अनि कसरी पढ्नु कविता ? कसरी कविताको मान बढ्नु ? कसरी कविताले पाठकको विस्तार गर्नु ?
अर्कोतर्फ कविताको मानमर्दनमा लागेकाहरूको बीचबाट राम्रा कविता हिलोमा कमल फुलेझैँ प्रकट भइरहेका छन् । तिनै कविताले पाठकको बृद्धि गरेका छन् र कविता–विरोधीलाई गतिलो जवाफ दिएका छन् । आख्यान छापेर अनेक प्रचारबाजी गर्ने निजी प्रकाशनगृह आºनो सान बढाउन भए पनि कविता पुस्तक छाप्न बाध्य छन् । श्यामल, श्रवण मुकारुङ, विनोदविक्रम केसी, स्व. स्वप्निल स्मृति, मनु मञ्जिललगायतका कविता निजी प्रकाशनगृहले छापेर आºनो छाती फुलाएका छन् । आख्यान छापेर पाएको इज्जतभन्दा कविता छापेर उनीहरूले कैयौँ गुणा बढी गौरव कमाएका छन् ।
भर्खर समापन भएको एनसेल लिटेरेरी फेस्टिबलको कुरा गरौँ । के कविताविना उनीहरूले त्यत्रो जात्रा आयोजना गर्न सके ? अफसोच हुनुपर्छ कविता विरोधीलाई कि त्यहाँ कविताको माहोल नै सबैभन्दा प्रभावकारी रह्यो । यद्यपि, फेस्टिबल आफैँमा विवादरहित बन्न सकेन र त्यसले निष्पक्षतालाई अँगाल्न सकेन । फेस्टिबलमा नसमेटिएका कैयौँ साहित्यकार साहित्यिक सिन्डिकेटको अगाडि निरीह भए र बाहिरै बसेर फेस्टिबलको कुरा काट्न बाध्य भए ।
नेपाली साहित्यमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा कविताको बग्लै र विशिष्ट महत्व छ । यस्तो लाग्छ अबको युग कविताको युग हो । पाब्लो नेरुदा, वाल्ट विट्मन, एलेन गिन्सबर्ग, ल्याङ्स्टेन ह्युजेज आदिले अन्तर्राष्ट्रिय कवितालाई नयाँ उचाइमा पुर्‍याएका छन् । गोपालप्रसाद रिमाल र भूपी शेरचनले नेपाली कवितामा कोसे ढुंगो स्थापना गरे । कविताको यत्रो विरासतलाई के सजिलै ढाल्न सकिन्छ ?
नेपाली कवितालाई थप उचाइमा पुर्‍याउन विमल निभा, मीनबहादुर विष्ट, श्यामल, वासु शशि, गोविन्द वर्तमान, पूर्णविरामलगायत अग्रज कविहरू लागिरहेका छन् । नेपाली खस भाषामा मात्र होइन, नेपाल भाषासहितका कविता पनि नेपाली कविताका अमूल्य निधि हुन् । पूर्ण वैद्य, नर्मदेश्वर प्रधान, सुरेश किरणका कविताले नेपाली कवितालाई नयाँ उचाइमा पुर्‍याएका छन् ।
के कविताविनाको साहित्य कल्पना गर्न सकिन्छ ? ठूला पत्रिकाले दसैँमा के कविताविना साहित्यिक अंक प्रकाशन गर्न सक्छन् ? हो, केही कविलाई छायामा पार्न सक्छन्, आफूलाई मन परेको, विचार मिलेको, टेबलमा सँगै बसेको कविलाई छान्न सक्छन् तर कवितालाई बहिष्कार गर्न सक्दैनन् । यसले जनाउँछ कविताको कति पाठक छन् ।
केही भूतपूर्व कविलाई आºनो कविताप्रति विश्वास भएन । उनीहरूलाई लाग्यो– ‘आख्यान भएन भने कविताले मात्र बाँचिन्न । कविताभन्दा आख्यान नै ठूलो हो ।’ यो त उनीहरूभित्र मौलाएको भ्रम हो । कवितामा जम्न नसकेपछि भाग्ने तरिका हो । कविता मात्रै लेखेर पनि कैयौँ कवि लामो समय बाँचेका छन् । अर्को प्रवृत्ति पनि छ नेपालमा । कविता पढ्दै नपढी त्यसप्रति धारणा बनाउने । हो, झुर कविता लेखिएका छन् । तर, सँगसँगै राम्रा कविता पनि लेखिएका छन् । कविता नपढ्ने अनि कवि र कवितालाई झुर भन्दै हिँड्नु उपबुजु्रक बन्नु हो । यसले कविताको पाठक घटाएको छ, कविताको मानमर्दन भएको छ ।
लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र भूपी शेरचनपछि विमल निभा, श्यामल, मीनबहादुर विष्ट, वाशु शशी, गोविन्द वर्तमानलगायतले कवितालाई जुन उचाइमा पुर्‍याए अहिले त्यसको निरन्तरतामा नयाँ कविहरू देखा परेका छन् । पचासको दशकमा लेख्दै साठीको दशकमा सक्रिय रहेका विनोदविक्रम केसी, अमोघ काºले, विश्व सिग्देल, स्व. स्वप्निल स्मृति, संगीतश्रोता, चन्द्रवीर, तारानाथ सापकोटा, विशद, रूपेश सिलवालसहितको जमात कवितामा ज्यान दिएर लागेको छ । अर्कोतर्फ भूपीन व्याकुल, मनु मञ्जिल, सरिता तिवारी, हेमन यात्रीलगायत पनि कवितामा सक्रिय छन् । कविता संसारलाई फराकिलो बनाउँदै केही समय अगाडि स्व.स्वप्निल स्मृतिको ‘बाडुली र सुदूरसम्झना’ र विनोदविक्रम केसीको ‘भोकको क्षेत्रफल’ प्रकाशन भए भने अमोघ काºलेको ‘चेसबोर्डमा चिलको प्रवेश’ र विश्व सिग्देलको नयाँ कवितासंग्रह प्रकाशनका क्रममा छन् । कविताले जति उचाइ लिएको छ पाठकको संख्या पनि त्यति नै बढेको छ ।
कविताले जति फराकिलो आकाश नेपाली साहित्यमा कुनै विधाले समेटेको छैन । हरेक राजनीतिक आन्दोलनलाई कविताले सशक्त रूपमा सम्बोधन गरेको छ । कथा, उपन्यासले त्यसरी सामाजिक परिवर्तनलाई कविताले जसरी आत्मसात् गर्न नसकेको कुरा यथार्थ हो । हरेक आन्दोलनमा कविताले अग्रिम मोर्चा सम्हालेको छ । हरेक जनसभामा कविताले आफूलाई खरो रूपमा उतारेको छ । ०६२/६३ सालको जनआन्दोलनको पृष्ठभूमि र अगाडि पनि कविताकै भूमिका थियो भन्नु अतिशयोक्ति हुँदैन । के यसले देखाउँदैन कविताका पाठक कति छन् र कविताले के भूमिका खेलेको छ ? केही मानिस कविताको पछाडि हात धोएर लागे पनि यसको सशक्ततालाई कसैले दबाउन सक्दैन ।

प्रतिक्रिया