म कम्युनिस्ट घरको प्रगतिशील बगैँचामा छु । यहाँ मैले कम्युनिस्ट घर भनेँ तर यो घरको नाम ‘कम्युनिस्ट निवास’ हो । यो नाम घरको थाप्लामै खोपिएको छ । यस घरको मालिक कम्युनिस्ट नेता शीलकुमार हुन् । उनी कम्युनिस्ट भएकाले नै उनले यो घरको नाम आफ्नी श्रीमतीको नामबाट नीता निवास नराखी कम्युनिस्ट निवास राखे । तर, भित्री रंग–रोगन, आकार–प्रकार र साज–सजावटले भने घर पूर्णत: खान्दानी सामन्तको नै लाग्छ । त्यसकारण, घरको नाम सामन्त निवास भने हुन्छ । तर, नामांकनको हिसाबले यसलाई कम्युनिस्ट निवास भन्नैपर्छ ।
तर, यो सामन्त निवासको, हैन, कम्युनिस्ट निवासको शोभा बढाउन दुई रोपनीको चौडा विस्तार पाएको यो भव्य बगैँचाको नाम प्रगतिशीलचाहिँ भर्खर मैले राखिदिएको हँु । किनभने कम्युनिस्ट घरको बगैँचा प्रगतिशील हुनैपर्छ ।
उहाँ नेपाली कम्युनिस्ट इतिहासको पहिलो पुस्ताको कान्छो कम्युनिस्ट (नेता) हुनुहुन्छ । सहरका थुप्रै कम्युनिस्टमध्ये उहाँचाहिँ क्रान्तिकारी अर्धभूमिगत कम्युनिस्ट हुनुहुन्छ ।
आधा घण्टाअगाडि उहाँ आफ्नो कारमा गुडिरहनुभएको थियो । गुड्दागुड्दै उहाँले मलाई फुटपाथमा लखरलखर.. हिँडिरहेको देख्नुभएछ । मलाई देखेर चिन्नेबित्तिकै उहाँले आफ्नो कार मनेर ल्याएर कराउनुभयो :
‘कता हो ? कता ऽऽऽ…’
मैले भने :
‘यतै ।’
‘फुर्सद छ ?’
‘होला ।’
‘त्यसो भए आउनुस्, यहाँ ।’ भन्दै उहाँले आफ्नो कारको ढोका खोलिदिनुभयो । र, सहजत्तर उहाँको कारभित्र पसँे ।
तत्पश्चात्को एकैछिनमा उहाँको यो कम्युनिस्ट निवास आइहाल्यो र उहाँ मलाई यो प्रगतिशील बगैँचाको यो आराम–कुर्सीमा बसेर एक मिनेट कुर्न अह्राएर कार ग्यारेजमा थन्काउँदै घरभित्र पस्नुभयो ।
राजनीतिमा त उहाँ कम्युनिस्ट हुनुहुन्छ नै । साहित्यमा पनि उहाँको चाख छ । त्यसैले साहित्यमा पनि स्वभावत: उहाँ प्रगतिशील हुनुहुन्छ । यससम्बन्धी साहित्यिक संगठनमा पनि उहाँको हैसियत माथिल्लो पदको छ । विशेषत: उहाँ समालोचना लेख्नुहुन्छ र प्रगतिशील साहित्यको उत्थानको लागि ज्यादै चिन्तन गर्नुहुन्छ ।
यहाँको यो घर, यो बगँैचा मैले पहिलोपटक देखेको हँु । सुनेको चाहिँ थिएँ । अहिले हेर्न पाएपछि मेरो आँखा धर्मभीरुहरू तरेझैँ तरे ।
घरभित्रबाट उहाँ अर्को पोसाकमा निस्कनुभयो । उहाँको पछि–पछि किस्ती बोकेर उहाँको नोकर छाउरो पनि आयो ।
उहाँ म अगाडिको आराम कुर्सीमा बस्नुभयो र किस्ती बोकेर ठडिएको नोकरलाई भन्नुभयो :
‘यो राखेर तँ जा ।’
यसैअनुरूप किस्तीबाट एउटा कप मतिर र अर्को कप उहाँतिर राखेर ऊ गयो ।
‘ल ऽऽ… पिऊँ, मलाई त अरू थोक चल्दैन ।’ उहाँले भन्नुभयो ।
र फेरि भन्नुभयो :
‘कत्तिको पिउनुहुन्छ आजकाल ? यो कम्युनिस्टहरूले रक्सी पिउने कुरो मलाई विलकुल मन पर्दैन, खैर ल भन्नुस् हालचाल के छ ?’
मैले चियाको मीठो सुर्को तान्दै भने :
‘के हुनु ? यस्तै छ ।’
उहाँले भन्नुभयो :
‘तपाईंले मन पराएको पार्टी पनि संसदीय भासमा गैहाल्यो त † अझ संसदवादी भएर पनि त्यसले कम्युनिस्ट पार्टी हुँ भन्नचाहिँ छोडेको छैन † आश्चर्य यसैमा छ ।’
म चुप लागेँ । ‘सयौँ फूल एकसाथ फुल्न देआ’ भन्ने कमरेड माओको उक्तिअनुसार बगैँचाको वरिपरि उहाँले फूलाएको थुप्रै आकर्षक फूलहरू हेरिरहेँ । चियाको गुलियो सुर्कोसँगै फूलहरूको अनन्य सुन्दरता नियाल्नुको कम्युनिस्ट आनन्द बेग्लै हुँदोरहेछ । यस्तै प्रकृतिबारेको मैले माओको कविता सम्भेँm । र, उहाँको बगँैचातिर मुग्ध हुन थालँे । तर, उहाँले भन्नुभयो :
‘ल ऽऽऽ… कविजी फूल–सूल पछि हेरौँला, पहिले गफ गरौँ, कि रक्सी नभै कुरो गर्ने विचार छैन ?’ हेर्नुस्, म रक्सीविरोधी हुँ नि है…।
यसैले मलाई बोल्न कर लाग्यो :
‘हैन… हैन…’
‘ल भैगो राजनीति छोडौँ’ साहित्यतिर लागौँ, तपाईं संशोधनवादीको पक्षपातीलाई मजस्तो कट्टर जनवादी कम्युनिस्टको कुरो पच्दैन पनि । त्यसकारण साहित्यको कुरो थालौँ कसो ?’
मैले यसोउसो केही भनिनँ । फेरि बगैँचाका अग्ला सल्लाका रुख र युक्लिटप्सका लाम्चा हाँगा हेर्न थालेँ । उहाँले फेरि थाल्नुभयो :
‘हैन, आजकाल संशोधनवादी भनाउँदा कम्युनिस्टहरूले साहित्य पनि त्यस्तै लेख्न थाले । कमसेकम कम्युनिस्ट भएपछि साहित्यमा पनि कम्युनिस्ट बान्की आउनै पर्यो होइन त ?’
‘अनि कम्युनिस्ट भएपछि जीवनशैली पनि सर्वहारामय हुनेपर्यो हैन र ?’ मैले सोधेँ ।
तर, उहाँले भन्नुभयो :
‘फेरि तपाईं राजनीतिमा आउनुभयो, राजनीतिमा त तपाईंसँग मेरो निष्ठाको मेल हुँदैन, त्यसकारण साहित्यकै कुरा गरौँ । त्यसमाथि सबैखाले कम्युनिस्टको यो साझा चिन्तनको विषय हो…।’
म फेरि उहाँको बगैँचाको माओवादी सुन्दरता हेर्न थालेँ । मैले चिया सिध्याइसकेको थिएँ । उहाँले भन्नुभयो :
‘चिया थपौँ ?’
‘हैन पुग्यो’
‘आजकाल के लेख्दै हुनुहुन्छ ?’
‘कथा, कविता यस्तै लेख्दै छु ।’
‘हो ऽऽऽ म विशेषत: तपाईंकै कथाबारे कुरा गर्न चाहन्थेँ । त्यसैले पनि तपाईंलाई डाकेको हुँ ।’
‘ए ऽऽ…’
‘वास्तवमा तपाईंको कथा म पढ्छु । तपाईंको कथामा गरिब छन्, शोषित छन्, पूर्णत: पीडितहरूको कथा तपाईं लेख्नुहुन्छ, तर एउटा कम्युनिस्टले लेख्नेजस्तो तपाईंको कथा छैन † किन होला ?’
‘किनभने म कम्युनिस्ट होइन’
‘हैन मैले तपाईं कम्युनिस्ट होइन भनेको होइन । नरिसाउनुस् न, तर तपाईंको कथामा अलि क्रान्तिकारीपन छैन, किन होला भनेको पो त ?’
‘किनभने म कम्युनिस्ट होइन ।’
‘फेरि त्यही कुरा गर्नुहुन्छ… वास्तवमा… कुरो के भने तपाईंको कथामा शोषक, सामन्तको ताडना, क्रूरता त पाइन्छ, तर प्रगतिशीलता पो पाइन्न भनेर जिज्ञासा राखेको ?’
‘त्यसैले त म कम्युनिस्ट होइन भनेको ।’
‘वास्तवमा म साँच्चिकै भन्दै छु, नरिसाउनुस् तपाईंको कथामा प्रगतिशील क्रान्तिकारी धार पाइन्न त्यसकारण…’
‘त्यसकारण म कम्युनिस्ट होइन भनेको ।’
‘फेरि त्यही कुरा ? कुरो त्यसो होइन, वास्तवमा कुरो के भने तपाईंका कथाका पात्रहरू त्यत्ति क्रान्तिकारी धारका छैनन् पो भनेको…।’
‘त्यसैले म कम्युनिस्ट होइन भनेको ।’
यसैबीच उहाँकी कनभेन्ट छोरीले कनभेन्ट इंगलिसमा ‘ड्याडी लन्डनबाट दाइको फोन’ भन्दै उहाँलाई सेलफोन दिन ल्याई । त्यसैले उहाँ त्यसैमा बोल्न थाल्नुभयो :
‘हलो बेटा मैले तैँले पठाएको दस हजार पाउन्ड पाएँ… अस्तिको पन्ध्र पनि पाएँ… आ… ऽऽऽ इनाको पनि… भयो… आ… आ ।’
उहाँ धेरै आ… आ… गर्न लाग्नुभयो ।
म ‘हस् त हजुर, म कम्युनिस्ट होइन…’ भनेर नमस्ते टक्र्याउँदै हिँडे ।
सडकमा आएपछि म पूर्णत: फ्रेस भएँ ।
प्रतिक्रिया