दसैंलाई चार चलचित्र

काठमाडौं : दशैँको अवसर पारेर शुक्रबार रिलिजको परम्परा धान्दै आज चार नयाँ नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदै छन् । ती हुन्, सो सिम्पल, के म तिम्रो साथी बन्न सक्छु, धूवाँ यो नशा र लुट कम्पनी । धुवाँ र के म तिम्रो साथी बन्न सक्छु उपत्यकाबाट र सो सिम्पल मोफसलबाट प्रदर्शनमा आउन लागेका छन् । लुट कम्पनी भने देशभरका हलबाट एकसाथ प्रदर्शन हुँदै छ । सो सिम्पलका निर्देशक शिव रेग्मी हुन् भने धूवाँ यो नशालाई लक्ष्मण रिजाल, के म तिम्रो साथी बन्न सक्छुलाई सबिर श्रेष्ठ र लुट कम्पनीलाई सुरज चन्द ठकुरीले निर्देशन गरेका छन् ।
सो सिम्पल निर्माता केशव भट्टराईले निर्माण गरेका हुन् । कलेज पढ्ने विद्यार्थीले गर्ने मायाप्रेम र त्यसबाट निस्कने परिणामलाई विषयवस्तु बनाइएको यो चलचित्रबाट नयाँ अनुहार प्रमोद भारद्वाज र भावना रेग्मीले नायकनायिकाका रूपमा डेब्यु गरेका छन् । राजवल्लभ कोइराला, अशोक शर्मा, श्वेता भट्टराई, सुशील पोखरेल, निर्मल शर्मा, रश्मीभट्टलगायत मुख्य भूमिकामा छन् । प्रदीप भारद्वाजको कथा, दीपक वज्राचार्यको छायांकन तथा हिमाल केसीको द्वन्द्वनिर्देशन छ ।


धूवाँ यो नशा लागुपदार्थ दुव्र्यसनीमा फसेका युवाहरूको कथा हो  । रामप्रसाद रिजालको निर्माणमा तयार भएको चलचित्रमा आर्यन सिग्देल र निशा अधिकारीको जोडीलाई पर्दामा उतारिएको छ । निर्देशक रिजालकै लेखन रहेको चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका छन् । लोचन घिमिरेको संगीत र अष्ट महर्जनको द्वन्द्वनिर्देशन समेटिएको छ भने नृत्यनिर्देशन शिव विकले गरेका छन् । यो चलचित्र दर्शकले मन पराउने दाबी निर्देशक रिजालले गरेका छन् ।
निर्मात्री कृषा चौलागाईंले निर्माण गरेको के म तिम्रो साथी बन्न सक्छु काठमाडौंको मल्टिप्लेक्सलगायत मोफसलका ३० वटा हलमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । पारिवारिक एवम् मायाप्रेमको विषयमा आधारित चलचित्रमा आर्यन सिग्देल र दिप्ती गिरीको मुख्य भूमिका छ । दिप्तीले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । यसअघि उनले टेलिभिजनमा कार्टुनसम्बन्धी कार्यक्रम चलाएकी थिइन् । शिवम् अधिकारीको कथा रहेको चलचित्रमा दिनेश सुनामको संगीत, समन अधिकारीको नृत्यनिर्देशन छ ।
लुट चलचित्रको सफलता पछि त्यसैको नाम पछ्याउँदै निर्माण गरिएको लुट कम्पनीलाई एक्सन र कमेडी चलचित्रका रूपमा प्रचार गरिएको छ । दिलकृष्ण श्रेष्ठ, प्रज्वल गिरी, सन्जोग राणालगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र रुपेन्द्र खड्गीले निर्माण गरेका हुन् । (सौस)

प्रतिक्रिया