मध्यपूर्वभरि हिंसाको जोखिम

दमास्कस : सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लिगका विशेष दूत लख्दर ब्राहिमीले सिरियाका कारण सम्पूर्ण मध्यपूर्व क्षेत्रमा हिंसा मच्चिने जोखिम बढेको बताएका छन् । सिरियाली संकट गहिरिँदै जाँदा सिरियासँग सीमा जोडिएको लेबनानमा हिंसा आरम्भ भएपछि उनले  यस्तो बताएका हुन् ।
लेबनान भ्रमणका क्रममा सिरियाकै कारण त्यहाँ हिंसा मच्चिएको आफूले देखेको उनले बताए । ती क्षेत्रमा पनि चरमपन्थी क्रियाकलाप बढेको उनले जानकारी गराए । सिरियामा जारी अवस्थाले सम्पूर्ण मध्यपूर्व क्षेत्रमा संकट निम्तिने त्रास बढेको भन्दै उनले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । ‘सिरियामा जारी हिंसा सिरियाभित्रै सिमित रहन्छ भन्ने छैन । यसले आतंकको रूप लिइसकेकाले यसको  निराकरणका लागि जतिसक्यो चाँडो शान्ति स्थापना गर्नु अपरिहार्य भएको छ,’ उनले भने । सिरियामा करिब २० महिनादेखि जारी हिंसाले क्षेत्रीय आतंकवाद प्रवद्र्धन गर्ने सम्भावना बढेको भन्दै उनले हिंसा अन्त्यका लागि सिरियाली सरकारसँग आग्रह गरे । केही दिनयता सिरियाली फौजले छिमेकी टर्की र लेबनानमा आक्रमण गर्ने र त्यसको प्रतिकारमा अर्काे पक्षबाट पनि प्रत्याक्रमण हुने क्रम बढेको सञ्चारमाध्यमले  उल्लेख गरेका छन् । यसबाट हिंसा फैलिने जोखिम बढेको  विश्लेषण गर्न थालिएको छ ।
यसैबीच सिरियाको राजधानी दमास्कसमा सरकारी सेनाले बिद्रोहीविरुद्धको आक्रमणलाई जारी राखेको छ । राजधानीसहित अन्य थुप्रै सहरमा सेनाले बम वर्षा र गोली प्रहार जारिराखेको समाचारमा जनाइएको छ । सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसर अल असदको राजिनामा माग गर्दै सुरु भएको प्रदर्शन तथा शशस्त्र विद्रोहमा हालसम्म ३१ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको मानव अधिकारवादीहरूले जनाएका छन् । सिरियाली सरकारका कारण मानव हत्या बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायले राजिनामा गरी संकट समाधानका लागि असदलाई दबाब दिइरहेका छन् । (एएफपी)

प्रतिक्रिया