हिमाल सिमेन्टमा माओवादी कब्जा

काठमाडौं, ३  कात्तिक । नेकपा–माओवादीले बन्द अवस्थामा रहेको काठमाडौंको चोभारस्थित हिमाल सिमेन्ट कारखाना कब्जामा लिएको घोषणा गरेको छ । नेकपा–माओवादीको भ्रातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र राष्ट्रिय युवा जनस्वयंसेवकले बिहीबार कारखानाको मूलद्वारमा झन्डा गाडेर कब्जामा लिएको घोषणा गरेको हो ।
सरकारले हिमाल सिमेन्ट उद्योगका मेसिन कवाडीको मूल्यमा बेच्न लागेको भन्दै कारखाना कब्जामा लिइएको क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक रामदीप आचार्यले बताए । ‘बन्द उद्योगलाई तत्काल राष्ट्रियकरण गरी पुन: सञ्चालनमा ल्याइओस्,’ संयोजक आचार्यले भने । राष्ट्रिय उद्योग धराशायी बनाई विदेशी पुँजी प्रोत्साहन गर्नेलाई नछाड्ने चेतावनी उनले दिए । सरकारले कवाडीको मूल्यमा मेसिन बेच्न लागेको उल्लेख गर्दै उनले  भने, ‘ग्रेट ग्लोबल इन्टरनेसनललाई कारखानाका सामान बेच्ने ठेक्का दिइएको छ । तर, हामी त्यसो हुन दिँदैनौँ ।’ अन्यत्रै स्थानान्तरण गरी कारखाना पुन: सञ्चालनमा ल्याउन र त्यहाँका मजदुरलाई पुन: रोजगारी दिन सरकारलाई दबाब दिने उद्देश्यले कब्जा गरिएको उनले उल्लेख  गरे । ‘दबाबस्वरूप मात्रै झन्डा गाडिएको हो । यसले काम नगरे सामान बेच्न नदिन हस्तक्षेप गर्नुपर्ने अवस्था आउनेछ,’ उनले भने ।
स्थानीयवासीको विरोध र वातावरणविद्को पहलमा सरकारले ०५८ सालमा हिमाल सिमेन्ट कारखाना बन्द गरेको थियो । बन्द कारखानाका मेसिन र यसले ओगटेको जग्गामा धेरैले आँखा गाडेका छन् । (सौस)

प्रतिक्रिया