भारतसँग इन्धन किन्न चाहन्छौँ : पाकिस्तान

नयाँदिल्ली : पाकिस्तानका पेट्रोलियममन्त्रीले असिह हुसेन पाकिस्तानले भारतसँग इन्धन किन्न चाहेको बताएका छन् । मूल्य चित्तबुझ्दो पाए भारतबाट डिजेल र हवाई इन्धन किन्न आफूहरू तयार रहेको उनले बताएका छन् । भारतको भ्रमणमा रहेका पाकिस्तानी मन्त्री हुसेनले बुधबार नयाँदिल्लीमा संवाददातासँग कुरा गर्दै यस्तो बताएका हुन् । बेलायती उपनिवेशबाट भारत र पाकिस्तान स्वतन्त्र भएको चार दशकभन्दा लामो इतिहासमा बहालवाला पाकिस्तानी मन्त्रीले यस्तो बताएको यो पहिलो अवसर हो । उनको भनाइले दुई देशबीचको सम्बन्ध सामान्य बन्ने थप संकेत मिलेको विश्लेषण गरिएको छ ।
सन् १९४७ मा स्वतन्त्र भएपछि दुई देशले तीनपटक युद्ध लडिसकेका छन् । त्यसैले दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण छ । युद्ध भएबाहेकका बेला पनि दुई देशबीचको सम्बन्ध राम्रो रहेको पाइँदैन । दक्षिण एसियाका यी दुवै राष्ट्रसँग परमाणु हतियार छन् । भारतीय समाचार समिति प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतमा जारी पेट्रोलियम पदार्थसम्बन्धी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री हुसेनले भारतले मूल्य मिलाएर दिने हो भने हवाई इन्धन र डिजेल भारतबाटै किन्न आफूहरूले चाहेको विचार व्यक्त गरेका हुन् । (एएफपी)

प्रतिक्रिया