लेखनाथले गरे तेस्रो विवाह

काठमाडौं, २ कात्तिक  । अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले तेस्रो विवाह गरेका छन् । बुधबार कलंकीस्थित एलआरआई विद्यालयमा स्याङ्जा घर भएकी विभूति भट्टराईसँग उनले जनवादी विवाह गरेका हुन् ।

दोस्रो श्रीमती आस्था घिमिरेसँग लेखनाथको सम्बन्धविच्छेद भएको थियो । विभूति पनि पतिसँग सम्बन्धविच्छेद गरी एक्लै बस्दै आइरहेकी थिइन् । सम्बन्धविच्छेद भएको एक वर्षपछि लेखनाथले पार्टीकै जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी विभूतिसँग तेस्रो विवाह गरेका हुन् । विवाहमा महासंघका केन्द्रीय अध्यक्ष माइला लामाले दुलाहा–दुलहीलाई अबिर र माला लगाइदिएका थिए । जनवादी विवाहमा नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष शरद रसाइली तथा पार्टी कार्यकर्ताको उपस्थिति थियो । उपस्थित सबैले न्यौपाने र भट्टराईलाई अबिर लगाइदिएका थिए ।
एमाओवादी टुक्रिएपछि नेकपा–माओवादीका विद्यार्थी इन्चार्ज रहेका लेखनाथको पहिलो विवाह बाराकी उर्मिला अधिकारीसँग भएको थियो । अधिकारी जनयुद्धताका ०६१ साल वैशाख १७ गते बाराको भालुखोलामा मारिएकी थिइन् । त्यसपछि पार्टीकै कार्यकर्ता आस्था घिमिरेसँग उनले दोस्रो विवाह गरे । अधिकारीको यादमा न्यौपानेले ‘तिमी अमर भयौ : मेरो मुटु चुँडियो’ नामक शोकपुस्तक पनि लेखेका छन् । दोस्रो श्रीमतीसँग ठाकठुक परेपछि उनीहरूबीच सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेदपछि न्यौपाने छोरासँग एक्लै बस्दै आएका थिए ।

प्रतिक्रिया