दैलेखका अधिकांस कार्यालय प्रमुख विहिन

दैलेख, १ कात्तिक । दसैं विदा शुरु हुन पूर्व दैलेख जिल्लास्थित सरकारी कार्यालयहरु प्रमुख विहिन भएका छन् । कार्यालय प्रमुख विहिन भए पछि प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उनीहरुसँग स्पष्टिकरण सोध्ने चेतावनी दिएका छन् ।
कार्यालय प्रमुखहरु दसैं बिदा हुनु एक हप्ता अघिनै जिल्ला छाडे पछि सेवाग्राही मर्कामा परेका छन् । कात्तिक–४ गते देखि मात्रै दसैंका लागि विदा शुरु हुन्छ ।
जनसरोकारसँग प्रत्यक्ष सम्वन्ध राख्ने स्थानीय निकायलगायतका महत्वपूर्ण कार्यालयका प्रमुखहरु छैनन् । जिल्ला शिक्षा कार्यालयका प्रमुख हेमराज पुजारा तीन हप्ता अघिनै बिदा लिएर जिल्ला छाडिसकेका छन् ।
जिल्ला वन कार्यालयका प्रमुख दधिलाल कंडेल नेपालगञ्जमा क्षेत्रीय बैठकको बाहानामा दुई हप्ता देखि घर बसेका छन् ।
जिल्ला विकास समिति दैलेखका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल पनि गोष्ठी रहेको भन्दै नेपालगञ्जमा डेरा जमाएर बसेका छन् । अर्याल दसैं पछि मात्रै आउने कार्यक्रम रहेको जिविसका सूचना अधिकृत शम्शेर शाही जानकारी दिए ।
नारायण नगरपालिकाका प्रमुख गगनबहादुर बिकपनि एकहप्ता अघि देखि नै जिल्ला बाहिर छन् । नेपाल टेलिकम, कोष तथा लेखा नियन्त्रक, निर्वाचन, नेपाल विद्युत प्राधिकरणका कार्यालय प्रमुख पनि जिल्लामा छैनन् ।
महिला विकास कार्यालयकी निमित्त प्रमुख सरला रेग्मी पनि दसैं मनाउने भन्दै जिल्ला छाडेकी छन् । कार्यालय छाड्नेमा जिल्ला प्राविधिकका ईन्जिनियर पनि छन् । उनले दुई हप्ता अगाडि नै विदा लिएर गएका हुन् ।
स्वास्थ्यसँग सरोकार राख्ने जिल्ला स्वास्थ्य कार्यालयमा पनि प्रमुख नभएको तीनहप्ता बढि भईसकेको छ । जिल्ला अस्पतालमा निमित्तको भरमा चलेको छ ।
चिकित्सक नहुँदा बिरामीले उपचार पाउन नसकेको विरामीका कुरुवा श्याम बिष्टले बताए । अस्पतालमा विरामीको संख्या ह्वात्तै बढेको भन्दै निमित कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले उपलब्ध जनशक्तिबाट सेवा दिएको बताए ।
जिल्ला आर्युवेदका डाक्टर डिभि परेर अमेरिका गएको २ बर्ष भई सकेको छ । उनको जिम्मेवारी सम्हालेका जयन्तकुमार मण्डलपनि दसैं बिदा हुन अगावै घर प्रस्थान गरेको पियन जगत थापाले जानकारी दिए ।
जिल्ला पशुकार्यालयका प्रमुख नन्दलाल चौधरीसमेत नेपालगञ्जमा काम रहेको भन्दै बसेको खरिदार बिष्णु थापाले जानकारी दिए ।
आइतवारसम्म झण्डै ७५ प्रतिशत कमर्चारीले जिल्ला छाडिसकेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
विदा शुरु हुनु अगावै कार्यालय रित्तो हुनेगरी प्रमुखहरु बाहिरिएकोमा दैलेखका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले असन्तुष्टि जनाए ।
उनले भने, ‘दसैं अगाडि कसैलाई पनि जिल्ला नछाड्न कार्यालय प्रमुखको बैठकमा मैले निर्देशन दिएको छु ।’
प्रमुख जिल्ला अधिकारी ढकालले आफूले आउँदो बैठकमा प्रमुखहरुसँग स्पष्टिकरण माग्ने चेतावनी दिए ।
कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारीले नियमन गर्ने भए पनि अधिकृत भन्दा तलका कमचारीलाई छाड्ने वा नछाड्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखको हुने उनले बताए ।

प्रतिक्रिया