पोखरा, १ कात्तिक । पोखरामा जार तेस्रो राष्ट्रिय विचभलिबल प्रतियोगितामा विभागीय टोली मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार सुरु भएको तीनदिने प्रतियोगितामा एपिएफका दुवै टोलीका साथमा नेपाल पुलिस ‘ए’ र नेपाल आर्मी क्लब ‘बी’ सेमिफाइनलमा प्रवेश गरे ।
मंगलबार भएको पहिलो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस ‘ए’को टोलीले सुदूरपश्चिमाञ्चल ‘ए’लाई २१–१२, २१–११ को सोझो सेटमा पराजित गर्यो । दोस्रो क्वार्टरफाइनलमा एपिएफ ‘बी’ले पश्चिमाञ्चल ‘ए’लाई २१–१३, १६–२१, १५–८ ले हरायो । एपिएफ ‘ए’ले नेपाल आर्मी क्लब ‘ए’लाई २५–२३, २१–१९ को सोझो सेटमा पराजित गर्यो । अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल आर्मी ‘बी’ले आयोजक पश्चिमाञ्चल ‘बी’लाई २१–१६, २१–१३ को सोझो सेटमा पन्छाउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
मंगलबार भएको लिग चरणको खेलमा पुलिस ‘ए’ले विश्वविद्यालय खेलकुद संघलाई २१–१२, २१–८ तथा सुदूरपश्चिमाञ्चल ‘ए’ले पूर्वाञ्चल ‘ए’लाई २०–२२, २१–११, १५–८ ले हराएका थिए । तेस्रो खेलमा पश्चिमाञ्चल ‘ए’ले मध्यपश्चिमाञ्चल ‘ए’लाई २१–६, २१–६ को सोझो सेटमा र एपिएफ ‘बी’ले चौथो खेलमा सुदूरपश्चिमाञ्चल ‘बी’लाई २१–१२, २१–१७ को सोझो सेटमा पराजित गर्न सफल भएका थिए । एपिएफ ‘ए’ले पूर्वाञ्चल ‘ए’माथि २१–११, २१–११ को जित दर्ता गर्यो । आर्मी ‘ए’ले मध्यपश्चिमाञ्चल ‘ए’लाई २१–६, २१–६ को सोझो सेटमा पाखा लगायो भने आर्मी ‘बी’ले पुलिसको ‘बी’ टोलीमाथि २१–१६, ९–२१ र १६–१४ को कडा प्रतिस्पर्धामा जित दर्ता गर्यो । पश्चिमाञ्चल ‘बी’ले लिगको अन्तिम खेलमा मध्यमाञ्चललाई २१–१८, २१–१८ को जित हासिल गर्यो ।
बुधबार पुलिसको ‘ए’ टोलीविरुद्ध एपिएफको ‘बी’ तथा दोस्रो सेमिफाइनल खेलमा एपिएफको ‘ए’विरुद्ध नेपाल आर्मीको ‘बी’ टोलीबीच प्रतिस्पर्धा हुनेछ । बुधबार सेमिफाइनल तथा फाइनल खेलसँगै प्रतियोगिता समापन हुने प्रतियोगिताका संयोजक रामनाथ भण्डारीले जानकारी दिएका छन्् ।
प्रतिक्रिया