पर्यटन विकास ओझेलमा

मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सिमित विषयमध्ये पर्यटन पनि एक हो । अहिले नेपालमा पर्यटन व्यवसाय खासै फस्टाएको अवस्था छैन । तर, भविष्य भने पर्यटन व्यवसायकै उज्वल देखिन्छ । नेपालको बेरोजगारी समस्या समाधान गर्न, युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न र अर्थ व्यवस्थालाई समृद्ध बनाउन पनि पर्यटन व्यवस्थालाई भरपर्दो, विश्वासिलो र व्यवस्थित बनाउन अनिवार्य भएको छ । हाम्रो अर्थतन्त्रका भविष्यका बलिया खम्बा मानिएका कृषि, जलस्रोत र पर्यटनलाई सुव्यवस्थित बनाउन नसक्ने हो भने आर्थिक रूपले नेपाल उँभो लाग्ने छैन । तसर्थ, यी क्षेत्रलाई आर्थिक उपार्जनको मुख्य स्रोतको रूपमा घोषणा गरेर सबैलाई आकर्षित गर्न सक्ने सरल र सहज बनाउन जरुरी छ । सधैँभरी विदेशीदाता र रेमिट्यान्सको भर परेर आर्थिक रूपले हामी दह्रो हुन सक्दैनौँ । आर्थिक स्रोतलाई दीर्घजीवी र टिकाउ बनाउने हो भने पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेर सोही अनुरूपको नीति निर्धारण सरकारले गर्नुपर्छ । स्वदेशी स्रोत साधनलाई भरपुर उपयोग गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न सकेमात्र राष्ट्रले राम्रो प्रतिफल प्राप्त गर्न सक्नेछ । अन्यथा, हामी नेपालीले सधँैभरी दाता र रेमिट्यान्सकै भर पर्नुपर्ने हुन्छ । त्यो स्रोत दिगो र टिकाउ छैन । तसर्थ, कृषि, जलस्रोत र पर्यटनलाई आय आर्जनको प्रमुख माध्यम बनाउन जरुरी छ ।
राज्यको थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सक्ने क्षेत्र अहिले पर्यटन व्यवसाय देखिएको छ तर त्यसतर्फ राज्यले उचित ध्यान दिन सकेको छैन । ‘पर्यटन वर्ष–२०११’ र ‘लुम्बिनी वर्ष–२०१२’ पनि उपलब्धीमूलक भएन । सरकारले पर्यटन वर्ष घोषणा गरेर झारा टार्ने काम मात्र गरेको देखियो । पर्यटकलाई आकर्षित गर्न सक्ने कुनै काम गरिएको पाइएन । जसले गर्दा नियमित पर्यटकभन्दा बढी पर्यटक भित्र्याउने सरकारको योजना असफल भयो । सफल हुनका लागि के गर्नु पथ्र्यो त्यसको खोजी सम्बन्धित क्षेत्रबाट भएन । पर्यटक पैसा खर्च गरेर मनोरञ्जन गर्न आउने हुन् । पर्यटकहरू जहाँ निर्वाधरूपले घुम्ने, मनोरञ्जन प्राप्त गर्ने र सुन्दर दृश्यावलोकन गर्ने वातावरण मिल्छ त्यहाँ जान्छन् । नेपालमा ती चीज उपलब्ध भए उनीहरू आउँछन् । उपलब्ध नभए अन्यत्रै जान्छन् । यसले के स्पष्ट गर्छ भने प्राकृतिक र पुरातात्विक रूपले पर्यटकलाई आकर्षित गर्न सक्ने क्षेत्र हामीसँग हुँदाहुँदै पनि भौतिक रूपले पर्यटक आकर्षण गर्न सक्ने क्षमता हामीसँग नभएको प्रष्ट भएको छ । यसतर्फ सरकारले ध्यान पुर्‍याउन जरुरी देखिन्छ । पर्यटक भित्र्याउन सम्पूर्ण रूपले सक्षम हुनका लागि भौतिक पूर्वाधारहरू तयार हुन जरुरी छ । हामीसँग हवाइजहाज छैन, सस्ता, आकर्षक र सहज उपलब्ध हुने केही स्थानमा बाहेक होटल छैनन् । साथै मुख्यरूपमा राजनीतिक कारणले घुमफिर गर्ने सहज अवस्था छैन । माओवादीले सशस्त्र विद्रोह सुरु गरेपछि तर्सिएका पर्यटक अहिले पनि तर्सिएकै अवस्थामा छन् । ‘अब तर्सिनु पर्दैन, हाम्रो मुलुकमा सहज वातावरण बनिसकेको छ’ भनेर प्रचार–प्रसार गर्न समेत हामीले सकेनौँ । जसले गर्दा पर्यटक आकर्षण अहिले पनि घटेकै अवस्थामा छ । यसलाई तुरुन्त सच्याउनुपर्छ ।
हामीसँग मनमोहक र घुम्नयोग्य हिमाल, पहाड तराईका प्रसस्त क्षेत्रहरू छन् । पैदल यात्रा गर्दा पनि एक दिनमा तराईदेखि लेकसम्म पुग्ने स्थानहरू छन् । सुन्दर हिमाल, नदीनाला र अनुपम प्राकृतिक बनावटले विछट्टै राम्रा स्थान प्रसस्त छन् । तर, हामीसँग पर्यटन विकासका लागि उपयुक्त सोच छैन । हवाइजहाज र पर्याप्त प्रचार प्रसार छैन । जसले गर्दा यो सुन्दर मुलुक नेपालका बारेमा धेरैलाई जानकारी छैन । यो खालको अवस्थालाई अन्त्य गर्दै पर्यटन विकासका सबै माध्यमहरू चुस्त दुरुस्त बनाउन जरुरी छ । अहिले पर्यटक आउने मौसम हो । अक्टोबरदेखि डिसेम्बरसम्मको सिजनलाई पर्यटकले घुमफिरको लागि उपयुक्त मान्छन् । यही समयमा हामीले भौतिक पूर्वाधारको विकास र प्रचार–प्रसार गर्न सक्नुपर्छ । यसले मात्र पर्यटन विकासको ढोका खुल्छ । अन्यथा, हामीले पर्यटनबाट प्राप्त हुने ठूलो आयस्रोत गुमाई रहेका हुनेछौँ ।

प्रतिक्रिया